राई समुदायको मौलिक ज्ञान पुस्तान्तरण गर्न माङसेबुङमा ‘मुन्दुम पाठशाला’

इलाम। इलामको माङसेबुङ गाउँपालिकामा ‘मुन्दुम पाठशाला’ सञ्चालन हुने भएको छ।
Advertisement 1
किरात राई समुदायको सभ्यता, संस्कृति, भाषा र मुन्दुमको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले पाठशाला सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष हेमन्त राईले जानकारी दिए। पाठशाला सञ्चालनका लागि चालु आर्थिक वर्ष २०८३/८४ मा रु १५ लाख विनियोजन गरिएको उनले बताए।
पाठशाला सञ्चालनपछि किरात राई समुदायको मौलिक ज्ञान, दर्शन, संस्कार र परम्परालाई व्यवस्थित रूपमा नयाँ पुस्तासम्म हस्तान्तरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। यसअघि किरात लिम्बू समुदायको सभ्यता, संस्कृति, भाषा र मुन्धुमको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले ‘किरात साम्जिक मुन्धुम युक्सिङ निसामहिम (पाठशाला)’ सञ्चालन हुँदै आएको छ।
Advertisement 2
मुन्धुमलाई किरात समुदायको मौखिक धार्मिक–सांस्कृतिक ज्ञान, दर्शन र परम्पराको मूल आधार मानिन्छ। लिम्बू समुदायले यसलाई ‘मुन्धुम’ र राई समुदायले ‘मुन्दुम’ भन्ने गर्छन्। राष्ट्रिय जनगणना २०७८ अनुसार १६ हजार ८१० जनसङ्ख्या रहेको माङसेबुङमा ४२.८३ प्रतिशत लिम्बू र ३३.६ प्रतिशत राई समुदायको बसोबास छ। भाषागत आधारमा ४१.६७ प्रतिशत लिम्बू र २३.५९ प्रतिशत वान्तवा मातृभाषा बोल्ने समुदाय छ।








