वैदेशिक रोजगार व्यवसायीको आन्दोलन स्थगित, मन्त्रालयसँग १५ बुँदे मागमा सहमति

काठमाडौं। वैदेशिक रोजगार व्यवसायीले अघि सारेको आन्दोलन तत्कालका लागि रोकिएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच व्यवसायीका माग सम्बोधन गर्ने विषयमा सहमति भएपछि संघले घोषणा गरेका आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको हो।

Advertisement 1

संघले गत साउन २२ गतेदेखि १५ बुँदे माग अघि सार्दै सरकारलाई दबाब दिन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको थियो। व्यवसायीका मागप्रति सरकारले चासो नदिएको भन्दै संघले आन्दोलनलाई थप कडा बनाउने तयारीसमेत गरेको थियो।

संघले भदौ १ गतेदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउने कार्यसमेत रोक्ने घोषणा गरेको थियो। तर मन्त्रालयसँग भएको छलफलमा माग सम्बोधन गर्ने विषयमा समझदारी बनेपछि उक्त कार्यक्रम कार्यान्वयनमा नआउने भएको छ।

Advertisement 2

मन्त्रीको उपस्थितिमा भयो सहमति

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको उपस्थितिमा मन्त्रालय र संघका अध्यक्ष तथा पदाधिकारीबीच भएको छलफलमा व्यवसायीले उठाएका विषयमा सहमति जुटेको मन्त्रालयले जनाएको छ।

Advertisement 3

छलफलमा संघले प्रस्तुत गरेका १५ बुँदे मागमध्ये अधिकांश नीतिगत सुधारसँग सम्बन्धित रहेको पाइएको मन्त्रालयको भनाइ छ।

व्यवसायीले उठाएका अधिकांश विषयलाई सरकारले वैदेशिक रोजगार ऐन तथा नियमावली परिमार्जनको प्रक्रियामै समेट्ने जनाएको छ। वैदेशिक रोजगारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी, सुरक्षित र मर्यादित बनाउन प्रस्तावित कानुनी संशोधनलाई शीघ्र टुंगोमा पु¥याउन मन्त्रालय र व्यवसायी संघले आवश्यक पहल गर्ने समझदारी भएको छ।

विभागबाट समाधान हुने विषय तत्काल अघि बढाइने

छलफलमा कानुनी संशोधन आवश्यक नपर्ने व्यवसायीका अन्य मागलाई भने प्रशासनिक प्रक्रियाबाट सम्बोधन गर्ने विषयमा समेत सहमति भएको छ।

मन्त्रालयका अनुसार व्यवसायीका मागसँग सम्बन्धित विषयमा आवश्यक प्रमाण तथा कागजातसहित वैदेशिक रोजगार विभागमा निवेदन दिन सकिने र विभागले आफ्नो अधिकार क्षेत्रभित्र रहेका विषयमा प्रशासनिक प्रक्रियाबाट समस्या समाधान गर्नेछ।

विभागको तहबाट समाधान हुन नसक्ने विषयमा भने प्रचलित कानुनी प्रक्रियाअनुसार मन्त्रालयमा पुनरावेदन गर्न सकिने व्यवस्था रहेको विषयमा समेत छलफलका क्रममा स्पष्ट पारिएको मन्त्रालयले जनाएको छ।

श्रमिक पठाउने कार्य प्रभावित हुनबाट जोगियो

व्यवसायी संघले भदौ १ गतेदेखि श्रमिक पठाउने कार्यसमेत रोक्ने घोषणा गरेपछि वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका श्रमिक प्रभावित हुने सम्भावना बढेको थियो।

मन्त्रालय र व्यवसायीबीच सहमति भएपछि तत्कालका लागि उक्त जोखिम टरेको छ। आन्दोलन स्थगित भएसँगै वैदेशिक रोजगार व्यवसायीले नियमित रूपमा सेवा सञ्चालन गर्ने बाटो खुलेको छ।

मन्त्रालयले कानुनी तथा नीतिगत सुधारसँग सम्बन्धित विषयलाई प्रक्रियागत रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ भने व्यवसायी संघले पनि सरकारसँग भएको सहमतिअनुसार आन्दोलनका कार्यक्रम रोक्ने निर्णय गरेको हो।

यससँगै वैदेशिक रोजगार क्षेत्रमा देखिएका नीतिगत तथा प्रशासनिक समस्या समाधानका लागि मन्त्रालय र व्यवसायीबीच संवादमार्फत अघि बढ्ने वातावरण बनेको छ।

प्रकाशित :२०८३ भाद्र १, सोमबार १३:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry