नरभक्षी बाघ खोरमा

चितवन। भरतपुर महानगरपालिका–२८ जितपुरका ६५ वर्षीय मङ्गले बोटे मार्ने बाघलाई नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्जको सौराहास्थित खोरमा लगिएको छ।
Advertisement 1
प्रहरीका अनुसार आज बिहान मङ्गले सोही स्थानका ५५ वर्षीय जीवन बोटेसँगै ‘मर्निङवाक’मा निस्किनुभएको थियो। केही समयपछि मङ्गले सम्पर्कविहीन भएपछि प्रहरीलाई खबर गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार खबरप्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर खोजी सुरु गरेको थियो। बाघले आक्रमण गरेको हुनसक्ने देखिएपछि नेपाली सेना, चितवन राष्ट्रिय निकुञ्ज प्रशासन, स्थानीय जनप्रतिनिधि तथा स्थानीयको सहयोगमा हात्ती परिचालन गरी खोजी तीव्र पारिएको थियो।
Advertisement 2
खोजीका क्रममा मङ्गलबार घटनास्थलबाट करिब ४–५ किलोमिटर पूर्वतर्फ राप्ती हरियाली तथा बेथरी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बाघले आक्रमण गरेको अवस्थामा एक जनाको शव फेला परेको थियो। उक्त शव मङ्गले बोटेको भएको र उनका छोराले सनाखत गरेको प्रहरी नायब उपरीक्षक यादवले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।
शव फेला परेपछि नरभक्षी बाघको खोजीलाई थप तीव्र पारिएको थियो। खोजीका क्रममा सोही क्षेत्रमा बाघ देखिएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषमा कार्यरत वन्यजन्तु प्राविधिकले डार्ट गरी नियन्त्रणमा लिएका थिए।
Advertisement 3
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार मानिसमाथि बाघले आक्रमण गरेको जानकारी प्राप्त भएलगत्तै मानिस र बाघको खोजी सुरु गरिएको थियो। खोजीका क्रममा मानिस मृत अवस्थामा फेला परेपछि बाघको खोजीलाई थप सक्रिय बनाइएको थियो। सबैको प्रयासमा बाघलाई डार्ट गरी नियन्त्रणमा लिन सफल भएको उनले बताए।
“बाघ हेर्दा भाले अन्दाजी सात–आठ वर्षको जस्तो देखिन्छ। हेर्दा स्वस्थ नै छ। दाह्रा पनि राम्रो छ,” उनले भने। उनका अनुसार नियन्त्रणमा लिइएको बाघलाई सौराहास्थित खोरमा लगिएको छ। बाघको बाहिरी स्वास्थ्य अवस्था सामान्य देखिए पनि भित्री स्वास्थ्यको अवस्था परीक्षण तथा निगरानीपछि मात्र थाहा हुने उनले बताए।
यससँगै चितवन राष्ट्रिय निकुञ्जका खोरमा विभिन्न कारणले नियन्त्रणमा लिइएका बाघको सङ्ख्या सात पुगेको छ। तीमध्ये ५ भाले र २ पोथी छन्। अधिकांश नरभक्षी बनेपछि निकुञ्जले नियन्त्रणमा लिएको हो। एउटा बाँकेबाट ल्याइएको हो भने अन्य चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट नियन्त्रणमा लिएर राखिएको हो।








