सादा पोसाकमा प्रहरी खटाइयो, ग्यास डिपोमा आकस्मिक निगरानी

काठमाडौं। खाना पकाउने एलपी ग्यासको वितरणमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना भइरहेको सूचना प्राप्त भएपछि सरकारले काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा निगरानी कडा बनाएको छ।
Advertisement 1
आइतबार बिहानैदेखि गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरी अनुगमन सुरु गरिएको स्रोतले जनाएको छ।
बजारमा ग्यासको आपूर्ति, बिक्री वितरण, मूल्य तथा भण्डारण अवस्थाबारे वास्तविक जानकारी संकलन गर्न सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ। अनुगमनका क्रममा कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने वा ग्यास लुकाउने कार्य भेटिए कानुनबमोजिम कारबाही गरिने जनाइएको छ।
Advertisement 2
सरकारले उपभोक्तालाई ग्यास अभावको हल्लाको पछि नलाग्न तथा कुनै अनियमितता देखिए सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ।
हाल बजारमा ग्यासको आपूर्ति अवस्था, मौज्दात र वितरण प्रणालीबारे थप विवरण संकलन भइरहेको गृह मन्त्रालय स्रोतले जनाएको छ।








