सबैका प्रिय हाकिम सुमनको बिदाईमा गहभरी आँसु

अञ्जनकुमार।
निकै कम पात्रहरूलाई मात्र मिल्छ यो सयोग। सम्मान सद्भाव स्नेह अनि त्यो भन्दा कयौ गुणा माथिको विश्वास। ती पात्रको आगमनमा होस वा बहिर्निर्गमनमा लोकले जनाउने सद्भाव अतुलनीय र अमुल्य हुन्छ। केही वर्ष अघि पुर्वाधार विकास कार्यालय लमजुङका कार्यालय प्रमुख थिए सुमन गिरी। उनी केवल एउटा कार्यालय प्रमुख मात्र थिएनन्। उनी जिल्ला स्थित सम्पुर्ण कार्यालयहरुकै मोटिफ (motif) थिए।
Advertisement 1
प्रदेश सरकार उनीदेखि फिदा थियो। लमजुङवासी त्यस्तै। कारण एउटै उनी आफ्नो जिम्मेवारी, नागरिकको सहजीकरणका लागि हरदम प्रयासरत देखिन्थे। विकासे अड्डाका हाकिमहरुलाई लाग्ने आक्षेप भनेको भ्रष्ट, कामचोर, उपभोक्ता र ठेकेदारको गिदीको नि मासी निकाल्ने प्राणी। हो, उनी पुर्वका कति हाकिमले त्यो ब्यहोरा नदेखाएका हैनन। कतिलाई नागरिकले मात्रै हैन प्रमुख जिल्ला अधिकारीले समेत नदच्काएका कहाँ हुन र। तर सुमन एक्ला त्यस्ता पात्र बने जो सबैको हाइहाई भए। जसको बिदाईले केही समय सन्नटाको तुवाँलोनै मडारियो। उपसचिवमा पदोन्नति भएका उनै सुमन खुला प्रतिस्पर्धाबाटै पुर्ण छात्रवृत्तिमा विद्यावारिधीको लागि जानामपान गए।
हो, अर्को त्यस्तै संयोग। नाम पनि सुमन, पद पनि उपसचिव र अध्ययनका लागि पुर्ण छात्रवृत्तिमै जापानको यात्रामा निस्केका एक कुशल पात्र। झट्ट हेर्दा निकै इनोसेन्ट लाग्ने युवा पुस्ताको चतुर ठिटो। योजनाको बर्गेती चाङ। दस महिना अघि हाजिर भएदेखि उनको खटाइ, अनि लगनशीलताले नगरप्रमुखले खासै दन्त बझान गर्नै परेन। प्रधान पन्च, गाबिस अध्यक्ष वडाध्यक्ष, हुँदै दुईदुई कार्यकालमा हजारौ मान्छे चराएर खाक भएका मेयर अर्यालको सामु लन्जुपन्जु हाकिम टिक्न सजिलो थिएन। तर सुमन जति बसे जनप्रतिनिधि कसैले औला उठाउने मौका पाएनन्। बुझ्नेलाई इसारा काफी भनेझैं सुमनलाई कसैले लेक्चर दिनै परेन। स्थानीय निकायलाई राम्रो बुझेका सुमनले आफ्नो योजनाको सिलिङलाई निकै व्यवस्थित बनाए। कर्मचारी परिचालनलाई काबुमा राखे। कार्यविभाजन, शाखा प्रमुखलाई जिम्मेवारीको नथ्थीले बाधे। दुईचार महिनामै परिवर्तनको अनुभुति गराए। सेवाग्राहीले ल्याएको कुनै पनि समस्यामा झर्को फर्को गरेनन। जति तात्तिएर आएका सेवाग्राहीलाई पनि ठन्डा पारे। आव २०८२/०८३ को कार्यसम्पादन मुल्यांकनमा बेसीशहर नपा लमजुङको पहिलो र गण्डकी प्रदेशमै दोश्रो स्थान हासिल गर्न सफल भयो।
Advertisement 2
र त बिदाईको त्यो क्षण मेयर उपमेयरले खुलेर प्रशंसा गरे। सायद आजसम्म उनको बाहेक बिदाइमा मेयर अर्यालले नामै किटेर यसरी प्रशंसाको पुष्प गुच्छा बिछ्याएको चाल नपाएको मातहतका कर्मचारी नै बताउँछन्। त्यो प्रशंसा कुनै व्यक्तिको गुणगानमा नभई उसको कर्मको मुल्यांकन भएको योजना शाखाका प्रमुख शम्भु घिमिरे बताउँछन्। सुमनको पालामा कुनै कर्मचारी रुष्ट देखिएनन। कसैलाई काखा र कसैलाई पाखा उनले गरेनन्।
नगरपालिकाको वृद्धिविकासमा एउटा प्रमुख प्रशासकीयले खेल्नुपर्ने भुमिकामा उनले कुनै कन्जुस्याइँ गरेनन्। भलै गर्नैपर्ने र उनको भित्री मनमा खड्किएको फोहोर व्यवस्थापनलाई व्यवस्थापन गर्न खोज्दा खोज्दै आफ्नो अबधि छोट्याउनु पर्दा सुमनलाई अलि खल्लो अनुभूति गरायो होला।
Advertisement 3

International Relations विषयमा स्नाकोत्तर तह अध्ययन गर्न दुईवर्षको लागि जापान जान लाग्नु भएका हाकिम सुमनको सदरमुकाम बेसीशहरको बराण्डा रेस्टोमा पालिका परिवारद्वारा आयोजित फेरि भेटौला कार्यक्रममा मेयर अर्याल उपमेयर पद्मा गुरुङले मुख्यसचिव बनेर मुलुकको समुन्नतिमा अब्बल भुमिका निर्वाह गर्न अपेक्षा सहित शुभकामना व्यक्त गरेका थिए। भने नगरपालिका परिवारप्रति निकै अनुग्रहित भएको बताउदै हाकिम अधिकारीले बेसीशहर नगरपालिकाको माया सद्भाव अनि प्रेरणा प्रति निकै ऋणि भएको बताउदै जहाँ भएपनि पालिकालाई सहयोग गर्न सदा तत्पर रहने प्रतिबद्धता प्रकट गरे। थप अध्ययनका लागि जापान जाँदै सुमनको बिदाई गर्दै गर्दा अधिकांश कर्मचारीको आँखामा आँसु छछल्किएको सहजै देख्न सकिन्थ्यो। आफुले थुप्रै हाकिमहरुसग काम गरेको तर सुमनसग जस्तो सहज कसैसँग नभएको बताउँछिन् लेखा अधिकृत सिर्जना पौडेल।








