संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ: संयोजक दाहाल

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवाद, सहमति र राजनीतिक समझदारीमार्फत सुनसरीको देवानगन्जमा उत्पन्न परिस्थितिलाई सहज बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।
Advertisement 1
सुनसरी घटनालगायत विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज आह्वान गरेको सर्वदलीय बैठकमा उहाँले सबै राजनीतिक दल, सरकार र सरोकारवाला पक्षले सामाजिक सद्भाव, शान्ति र आपसी विश्वासलाई केन्द्रमा राखेर एकजुट भई अघि बढ्नुपर्ने बताए।
“यो राजनीतिक तिक्तता बढाउने समय होइन, राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय हो। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्छ”, उनले भने। बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन नसक्ने उल्लेख गर्दै संयोजक दाहालले विषम परिस्थितिमा सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्नेमा जोड दिए।
Advertisement 2
पूर्वप्रधानमन्त्री दाहालले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्न प्रधानमन्त्रीलाई सुझाव दिए।
विगतमा भूकम्प, बाढीपहिरोजस्ता विपद् तथा संविधान निर्माणजस्तो जटिल प्रक्रियामा दलहरूले साझा सहमति र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेको स्मरण गर्दै संयोजक दाहालले अहिले पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारीको आवश्यकता औँल्याए।
Advertisement 3
उनले सुनसरी घटनाका सम्बन्धमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गरिसकेको र स्थानीय तहमा संयमता तथा सामाजिक सद्भाव कायम राख्न पार्टीपङ्क्तिलाई आवश्यक निर्देशनसमेत दिएको बताए।
संयोजक दाहालले घटनास्थलमा स्थानीय व्यक्तिमात्र होइन, बाहिरी रूपमा वातावरण भड्काउने तत्वसमेत सक्रिय हुनसक्ने भएकाले सबै पक्ष उच्च सतर्क रहन आवश्यक रहेको बताए।








