दुई वर्षमै मुख्यसचिव बने गोविन्दबहादुर कार्की, प्रशासनिक नेतृत्वमा नयाँ अध्याय

काठमाडौं। नेपाल सरकारको प्रशासनिक नेतृत्व अब गोविन्दबहादुर कार्कीको हातमा पुगेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल सरकारको मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेसँगै निजामती प्रशासनको सबैभन्दा उच्च पदमा उनको यात्रा औपचारिक रूपमा सुरु भएको हो ।

Advertisement 1

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्ले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो । उनी यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवका रूपमा कार्यरत थिए । विशेषगरी सुशासन महाशाखाको नेतृत्व गर्दै प्रशासनिक सुधार, सेवा प्रवाह र सरकारी संयन्त्रको प्रभावकारिता अभिवृद्धिसम्बन्धी विषयमा उनले काम गर्दै आएका थिए ।

सचिवमा बढुवा भएको करिब दुई वर्षको अवधिमै मुख्यसचिव बन्न सफल भएका कार्कीलाई प्रशासनिक क्षेत्रमा अध्ययनशील, शान्त स्वभावका र नतिजामुखी कर्मचारीका रूपमा चिनिन्छ । निजामती प्रशासनमा लामो अनुभव बटुलेका उनी विभिन्न मन्त्रालय, प्रदेश सरकार तथा कूटनीतिक जिम्मेवारी सम्हालिसकेका अधिकारी हुन् ।

Advertisement 2

भोजपुरमा जन्मिएका कार्कीले आफ्नो प्रशासनिक यात्राको क्रममा वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वसमेत गरेका थिए । आपूर्ति व्यवस्थापन, बजार अनुगमन तथा उपभोक्ता हित संरक्षणका विषयमा उनले मन्त्रालयको नेतृत्व गर्दै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सरकारी संयन्त्रभित्र समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने क्षमताका कारण उनी नेतृत्व तहमा विश्वासिला प्रशासकका रूपमा परिचित छन् ।

कार्कीको अनुभव केन्द्रीय प्रशासनमा मात्र सीमित छैन । उनले कोशी प्रदेश सरकारअन्तर्गत मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका थिए भने बागमती प्रदेशमा कायममुकायम प्रमुख सचिवका रूपमा समेत काम गरेका थिए । संघीय शासन प्रणाली कार्यान्वयनको सुरुवाती चरणमा प्रदेश प्रशासनलाई व्यवस्थित बनाउन उनले खेलेको भूमिका उल्लेखनीय मानिन्छ ।

Advertisement 3

त्यसैगरी, उनले चीनको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासमा महावाणिज्यदूतको जिम्मेवारीसमेत निर्वाह गरेका थिए । कूटनीतिक क्षेत्रमा काम गरेको अनुभवले उनलाई अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीति र प्रशासनिक समन्वयका विषयमा थप परिपक्व बनाएको प्रशासनिक वृत्तमा चर्चा हुने गरेको छ ।

२०२७ साल पुसमा जन्मिएका कार्की २०७० सालमा सहसचिव बनेका थिए । त्यसयता उनले विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै प्रशासनिक नेतृत्वको अनुभव विस्तार गरेका थिए । सचिव पदमा पुगेलगत्तै उनले आफ्नो कार्यसम्पादन क्षमता र नेतृत्व कौशलका आधारमा उच्च तहको विश्वास जित्न सफल भएका थिए ।

मुख्यसचिवका रूपमा उनको प्रमुख चुनौती भनेको सुशासन प्रवर्द्धन, सेवा प्रवाहलाई प्रभावकारी बनाउने, प्रशासनिक संयन्त्रमा उत्तरदायित्व बढाउने तथा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई थप मजबुत बनाउनु हुनेछ । पछिल्लो समय निजामती प्रशासनमाथि बढ्दो जनअपेक्षा र सुधारको दबाबका बीच कार्कीको नेतृत्वलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

सरकारको प्रशासनिक संयन्त्रलाई परिणाममुखी, पारदर्शी र नागरिकमैत्री बनाउने अपेक्षासहित मुख्यसचिवको जिम्मेवारी सम्हालेका कार्कीको कार्यकालले आगामी दिनमा नेपालको निजामती प्रशासनको दिशा तय गर्ने विश्वास गरिएको छ।

प्रकाशित :२०८३ असार २४, बुधबार १७:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry