वैदेशिक रोजगारीबाट फर्किएर पेडाबाट आत्मनिर्भर

सुनसरी। वैदेशिक रोजगारीमा ११ वर्ष बिताएका बराहक्षेत्र नगरपालिका–१ चतराघाटका महेश साहले हाल पेडा व्यवसायबाट मासिक रु.८० हजारभन्दा बढी आम्दानी गर्दै आएका छन्।

Advertisement 1

मलेसियाबाट स्वदेश फर्किएपछि केही वर्ष धरान–चतरा–रामपुर सडकखण्डमा ट्याम्पो चलाएका उनी चतराघाटमा सञ्चालनमा रहेका पेडा पसलबाट प्रभावित भएर तीन वर्षअघि त्यसमा होमिएका हन्। “सुरुमा विभिन्न मिठाइ बनाएर बिक्री गर्थें। पछि पेडा बनाउन थालेँ। अहिले यही व्यवसाय राम्रोसँग चलिरहेको छ,” उनले भने।

केही दशकअघि कोशी नदी किनारको चतराघाट ढिके नुनको व्यापारका लागि परिचित थियो। साहका पितापुर्खाले पनि त्यही स्थानमा ढिके नुनको व्यापार र्गथे। समयसँगै व्यापारको स्वरूप फेरिँदै अहिले चतराघाट पेडा पसलका लागि परिचित बन्दै गएको छ।

Advertisement 2

विक्रम संवत् २०७२ मा चतरास्थित कोशी पुल सञ्चालनमा आएपछि धरान, इटहरी, विराटनगरलगायत पूर्वी क्षेत्रबाट चतरा–गाईघाट–सिन्धुली हुँदै काठमाडौं जाने वैकल्पिक सडकमार्ग प्रयोगमा आयो। त्यसयता यस क्षेत्रमा सवारीसाधनको आवागमन उल्लेख्य रूपमा बढेसँगै व्यापारिक गतिविधि पनि विस्तार भएको साह बताउँछन्।

यात्रुको चहलपहल बढेसँगै पेडाको माग पनि निरन्तर बढिरहेको छ। अहिले उनको पसलमा देशका विभिन्न जिल्लाबाट आउने यात्रुले पेडा किन्ने गरेका छन्। अनलाइनमार्फत पनि पर्याप्त अर्डर आउने गरेको र डेलिभरीको व्यवस्था समेत मिलाइएको उनले जानकारी दिए। दैनिक १२० लिटरभन्दा बढी दूधबाट पेडा उत्पादन गर्छन्। उनले उदयपुरको रामपुर र श्रीलङ्का टप्पु क्षेत्रबाट दूध खरिद गरी पेडा बनाउने गरेको बताए।

Advertisement 3

“विदेशमा १२ घण्टा काम गर्दा मुस्किलले रु.४० देखि ४५ हजार कमाइ हुन्थ्यो,” उनले भने, “अहिले आफ्नै ठाउँमा परिवारसँग बसेर काम गर्दा मासिक रु.७० देखि ८० हजारसम्म आम्दानी हुन्छ। आफ्नै गाउँमा बसेर काम गर्न पाउनु नै सबैभन्दा ठूलो सन्तुष्टि हो।”

हाल चतराघाट क्षेत्रमा १ दर्जनभन्दा बढी पेडा पसल सञ्चालनमा छन्। कोशी पुल निर्माणपछि बढेको सर्वसाधारणको आवागमनसँगै चतराघाट पूर्वी नेपालको पेडा उत्पादन र बिक्रीका लागि परिचित केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।

प्रकाशित :२०८३ असार २१, आईतवार ११:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry