नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा साल्ट ट्रेडिङका सहायक प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिरमा प्रवेश र बढुवा लिएको आरोपमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक प्रबन्धक मनोज कुमार झाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
Advertisement 1
आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार झाले झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा २०६४ सालमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको प्रमुख सहायक (सहायक केमिस्ट) पदमा नियुक्ति लिएको र सोही प्रमाणपत्रका आधारमा पछि सहायक प्रबन्धक (सातौँ तह) पदमा बढुवा भई सेवा–सुविधा तथा लाभसमेत लिएको अनुसन्धानबाट पुष्टि भएको जनाएको छ।
आयोगका अनुसार झाले भारतस्थित Magadh University, Bodh Gaya बाट सन् १९९८ मा प्राप्त गरेको भनी प्रस्तुत गरिएको बीएससीको मार्कसिट, माइग्रेसन सर्टिफिकेट, ट्रान्सफर सर्टिफिकेट, प्रोभिजनल सर्टिफिकेटलगायतका शैक्षिक प्रमाणपत्र झुट्टा तथा नक्कली रहेको भेटिएको हो।
Advertisement 2
उक्त कार्यबाट झाले सार्वजनिक संस्थामा नियुक्ति, बढुवा तथा विभिन्न सेवा–सुविधा लिएको ठहर गर्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही दफाअनुसार कैद र जरिवानाको मागदाबी सहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।
आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीद्वारा जारी विज्ञप्तिमा यस सम्बन्धमा थप कानुनी प्रक्रिया विशेष अदालतबाट अघि बढ्ने उल्लेख गरिएको छ।








