बहुमुखी प्रतिभाका धनी बिनोद :-जस्का कारण फेरियो मनाङको मुहार

जस्का कारण फेरियो आज मनाङ जिल्लाको मुहार । हो जिल्लामा सुनिएका त्यही चर्चालाई पछ्याउँदै हामी पुग्यौ उनै विनोद गुरुङको सम्पर्कमा ।
बहुमुखी प्रतिभाका यी धनीलाई भेटेर कोट्यायौं उनका विगत । खोतल्यौ उनका उद्यम,व्यवसाय र समाजसेवाको पाटो ।
जन्मिए हिमाल पारीको जिल्लाको नामले चिनिने मनाङमा । आजभन्दा ४८ बर्ष अघि पिता कर्म गुरुङ र माता दिकी गुरुङको कोखबाट । कान्छो सन्तान । लाडप्यारमा हुर्किए ।

फ्ल्यासब्याक
उनका बाल्यकालका शुरुवातका दिन मनाङ र टंकी वरपरका पाखा /पखेरामा त्यहाँको प्राकृतिक सौंन्दर्यमा रमाउँदै वित्यो । गाउँकै विद्यालयमा कक्षा दुईसम्म अध्ययन गरे । पिताले काठमाण्डौंको आर्दश नि.मा.वि.मा भर्ना गराए । ६ कक्षासम्म आर्दश नि.मा.वि.,कक्षा सात र आठ बालकुमारी मा.वि.बाट पूरा गरे । ०४५ सालमा फलामे ढोका मानिने एसएलसी पार गरे प्रथम श्रेणीमा ।
पिपल्स क्याम्पसमा अध्ययनरत थिए । आखिर पिताजीको वीडो त थाम्नु नै थियो । पिता ब्यापारी र उनी पनि होमिए व्यापारी साम्राज्यमा । १६ बर्षकै उमेरमा उनी हानिए हङकङ ।
भनिन्छ नि,सरस्वतीको पछि लाग्दा लक्ष्मी टाढिन्छिन् अनि लक्ष्मी खोज्न थाल्दा सरस्वती । उनीबाट पनि टाढिइन सरस्वती । अध्ययनमा ब्रेक लाग्यो । उनी जब जब फर्कन्छन् विगत । जीवनमा एउटै कुरासँग पछुतो छ,अध्ययनको गति अघि बढाउन नसकेकोमा ।

विनोद गुरुङ प्रवन्ध निर्देशक यती होटल

विदेशमा जे बटुले
०४४ सालमा उनी पिताजीको साथ लागेर पुगेका थिए हङकङ ब्यापारको क्रममा । उनी जमेर बसेनन् । निरन्तर बगिरह्यो उनको यात्रा गंगाझैं । मकाउ,चीन,दक्षिण कोरिया,थाइल्याण्ड हुँदै भारतसम्म पुगे व्यापारकै सिलसिलामा । र त्यहाँ सिकेको ज्ञान र सिप बोकेर उनी फर्किए स्वदेश । खोले हस्तकलासम्बन्धि पसल र चलाए
आठबर्षसम्म पसल ।
आफ्नै गृह जिल्लामा पर्यटकको चाप वढ्दैथ्यो । जिल्लामै पर्यटन क्षेत्रमा केही गर्ने सोच थियो उनको । मोडिए आफ्नै गृहजिल्ला । आफैं जन्मे हुर्किएको ठाउँ । आफ्नै प्यारो गाउँ ।
०५७ सालमा मनाङ जिल्लाकै नमुना र स्तरीय होटल निर्माणमा जुटे । होटलको नाम जुराइयो यति । आज यति यस्तो व्राण्ड बनेको छ कि देशमा मात्र नभएर विदेशसम्म उनको होटल चर्चित छ ।


यूटर्न

यसरी राजधानीको सुख शयल छाडेर आफ्नै गृहजिल्ल फर्किएर मनाङमा बस्न थालेको आज १६ बर्ष भयो ।
यो दौरानमा उनले पर्यटन ब्यवसायको माध्यमले जिल्लाको बिकास, प्रचार/ प्रसारमा अतुलनीय भुमिका खेलेको छन् । उनको यो भूमिकालाई आज जिल्लाबासी मुक्तकण्ठले प्रंशशा गर्दछन् ।

मनाङ जिल्ला भित्रने बिदेशी पर्यटकहरुको संख्यात्मक बृद्धि भएको छ । अझैं कसरी गुणात्मक पर्यटक भित्राउन सकिन्छ ? भन्ने चिन्तनमा लागिरहन्छन विनोद ।
विनोदका अनुसार यही बीचमा उनी दुई पटक अमेरिका पुगेका छन् । सन् ००४ र ००६ मा पर्यटन मेलामा भाग लिन । त्यहाँ सहभागि भएर स्वदेश फिर्ता भएसँगै नीजि ब्यवसायलाई मात्र नहेरी गाउँ र जिल्लाको बिकासमा खटिन थाले उनी । ०६० सालमा पर्यटन ब्यवसायी समिति मनाङको अध्यक्ष भएर काम गरे । यही समयमा मनाङ कल्चर म्युजियमको स्थापना गरी जिल्लाकै नमूना संग्रहालय सञ्चालनमा ल्यायो । जस्लाई पर्यटनकै क्षेत्रमा अतुलनीय योगदान मानिन्छ । सन् ०१० मा गन्तब्य मनाङको आयोजना गरियो । विनोदकै सक्रियतामा । उनी संयोजक थियो सो कार्यक्रमको । यसले जिल्लाको आन्तरिक र बाह्य पर्यटन विस्तारमा थप टेवा पुग्यो ।


सामाजिक कर्ममा
एक्याप अन्तर्गतको संरक्षण क्षेत्र ब्यवस्थापन समिति टंकी मनाङको सचिव पदमा रही ५ बर्ष कार्यकाल सम्हाले । ०७० सालमा सं.क्षे.व्य.स. मनाङको अध्यक्ष भई हालसम्म मनाङ र टंकी मनाङ गा.वि.स.को वन पैदावर,जडिबुटी,लोपोन्मूख जंगली जनावरजस्तै हिँउ चितुवा,कस्तुरी ,मृग,नावरको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । यस्का अलवा ००२ देखि सन् ००५सम्म सि.एम.सि.को सचिव पदमा रही संरक्षणको क्षेत्रमा उल्लेख्य योगदान दिएका छन् ।

.०६४ सालदेखि ०६९ सालसम्म उनी टंकी मनाङ र मनाङ गा.वि.स.को मिथेवा (जनप्रतिनिधी) भई गाउँको विकासमा दतचित्त भएर खटिए । त्यहाँको रितिथिति जोगाउन लागिपरे । ५ बर्षे कार्यकाल सफलतापूर्वक निर्वाह गरे ।
यस्तै जनप्रेमी र विकासप्रेमी विनोद मनाङ उद्योग वाणिज्य संघको ३ बर्षसम्म उपाध्यक्ष भएर काम गरे । पुन सोही पदमा दोहोरिएका छन् ।
उनको पहिचान यतिमै मात्र सीमित छैन् । देशकै प्रतिष्ठित क्लब मनाङ मरस्र्याङदी कल्ब (एम.एम.सी.) को सल्लाहाकारको रुपमा काम गरेका उनी अहिले मनाङ जिल्ला फुटबल संघको अध्यक्ष समेत हुन् ।
सामाजिक कर्ममा समेत उत्तिकै क्रियाशिल विनोद नेपाल रेडक्रस सोसाइटी जिल्ला मनाङको २ कार्यकाल उप–सभापति भएर योगदान दिएका छन् ।
यस्तै शिक्षा क्षेत्रमा समेत उनको ठूलो देन छ । अन्नपूर्ण मा.वि.मनाङको विद्यालय ब्यवस्थापन समितिको सदस्य भई २ कार्यकाल व्यतित गरे । जहाँ बिनोदको इन्ट्री हुन्छ त्यहाँ केही न केही सुधार पनि भइछाड्छ ।
यो दौरानमा विद्यालयमा सोलार सिस्टम जडान,स्ट्रेसनरी सामान खरिद,विद्यार्थीहरुलाई स्कूल ड्रेस वितरण,स्कोलरसिप ल्याउनदेखि स्कूलको गुणस्तरीय शिक्षामा जोड दिदै उनले खेलेको भूमिकालाई अहिले पनि विद्यालय परिवार मुक्तकण्ठले उनको प्रंशशा गर्दछन् । यही बीचमा उनी जिल्ला शिक्षा समितिको सदस्य समेत रहि जिल्लाको शिक्षाका क्षेत्रमा उल्लेख्य काम गरे ।


बहुमुखी प्रतिभा
सबैलाई कहाँ प्रिय हुन्छ र आफ्ना भाषा,कला,संस्कृति । तिनको संरक्षणमा दतचित्तपूर्वक लाग्ने उनी मनाङे भाषा र मनाङे भाषाका पूराना गीत र संगीतको संरक्षणमा जुटेका छन् । मनाङे भाषाको पहिलो गीति एल्वम “ओ नानी ” बजारमा ल्याएर उनले लोप हुन लागिसकेका मनाङे भाषाका गीतहरु संरक्षण गरेका हुन् । एल्वम “ओ नानी”मा समावेश केही गीतहरुको म्यूजिक भिडियो समेत बनाएर टेलिभिजन मार्फत प्रसारण गरी मनाङ जिल्लाको प्रचार÷ प्रसारमा उनका गीतहरुले पनि महत्वपूर्ण योगदान दिएका छन् । मनाङ जिल्लाको प्रचारात्मक गीत रेकर्ड गरी म्यूजिक भिडियो निर्माण गर्ने र आन्तरिक पर्यटक भित्रायउनमा उनका गीतहरुको टेवा पुराएको छ । “हाम्रो प्यारो मनाङ” गीत जिल्लाकै राष्ट्रिय गीतको रुपमा प्रख्यात छ । उनकै पहलमा जिल्लाका सम्पूर्ण कलाकारहरु समेटी मनाङे भाषाको एल्वम “मनाङ भ्वाइस” नामक एल्बम बजारमा आएको थियो ।
बिनोद संचारकर्मी पनि हुन । उनी हाल मनाङ संचार विकास समाजका अध्यक्ष समेत हुन । “रेडियो मनाङ”जिल्लाकै पहिलो रेडियो । संचालनमा आउनुमा उनकै देन मानिन्छ । उनले “नेस्याङ मिस्टीरियस कल्चर” र गन्तब्य मनाङ नामक २ वटा डकूमेन्ट्री फिल्म निर्माण गरिसकेका छन् । जसले मनाङ जिल्लालाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा चिनाउन मद्दत पुर्याएको छ । छिट्टै उनी चलचित्र निर्माणमा समेत जुट्दै छन् मनाङकै आगनीमा नेपाली चलचित्र छायांकन गर्ने उनको योजना छ ।
बहुमुखी प्रतिभाका धनी हुन बिनोद । उनको परिचय यतिमै सिमित छैन । उनको परिचय यसरी खुम्च्याउन खोजियो भने अन्याय हुनेछ उनीमाथि । हिजोको मनाङ र आजको मनाङबीच तुलना गर्ने हो भने हरेक क्षेत्रमा फड्को मारेको छ यो जिल्लाले जहाँ बिनोदको केही न केही देन छ । उनी जोडिन्छन् यी सबै प्रगतिमा कहिँ न कहिँ ।
आज मनाङसँग १ सय ६० किलोवाट उत्पादन क्षमता भएको सामूदायिक लद्यु –जलविद्युत आयोजनाले मनाङ झिलिमिली बनेको छ । यो आयोजनाको सचिव उनै हुन् । उनकै उनकै कार्यकालमा यसले मूर्तरुप लिएको हो ।
यस्तै धर्म संष्कृति जगेर्नामा उतिकै देन छ उनको टंकी मनाङ गा.वि.स. वार्ड नं. ९ मा निर्माणधिन वूझोक गुम्वाको सचिव समेत हुन उनी । अन्तिम चरणमा काम भइरहेको गुम्बाले धर्म र संष्कृति जगेर्नामा टेवा त पुग्छ नै ।
पर्यटन व्यवस्थापन उप– समिति मनाङको अध्यक्ष रहि थोरङ्ला पास सरसफाई अभियान चलाए । जसका कारण विश्वकै सबैभन्दा अग्लो पास थोरङ्ला (५ हजार ४ सय१६मिटर) मा शान्तिको स्तुपा छोरतेन निर्माण हुनुमा पनि उनको विशेष योगदान छ ।
जिल्लाको शान्ति समितिमा रही जिल्लामा शान्ति कायम राख्न महत्वपूर्ण भूमिका खेल्दै आएका बिनोद विभिन्न संघसंस्थाबाट सम्मानित ब्यक्ति हुन् ।


सम्मान
मनाङ समाज सेवा समिति,मनाङ,मरस्र्याङदी क्ल्व,अन्नपूर्ण मा.वि.मनाङ,जिल्ला बिकास समिति मनाङ,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जस्ता विभिन्न संघसंस्थाले उनले सामाजिक कार्यमा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै कदर एंव सम्मान गरेको छ ।
आज मनाङको मुहार फेरिनमा उनै विनोदको धेरै ठूलो त्याग र योगदान छ ।
हरेक जिल्लामा विनोदजस्तै छोराहरु हुने हो भने देश बन्न धेरै समय लाग्दैन । नेताहरुले देश विगारे भनेर गाली गरिरहनु पनि पर्दैन ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आईतवार ०८:१५

प्रतिक्रिया दिनुहोस्