बोट एउटाः आँपका जात २ वटा

महोत्तरी। तराई–मधेसमा अहिले आँप उत्पादनका हिसाबले मध्य मौसम छ। हरेकजसो किसानका खेतबारी र बगैँचामा विभिन्न जातका आँप लटरम्म फलेका छन्।
Advertisement 1
यहाँ उत्पादन हुनेमध्ये मालदह र दशहरी जातका आँप अन्यको तुलनामा स्वादिष्ट हुने भएकाले सबैको रोजाइमा पर्दै आएको पाइन्छ।
यसैबीच, महोत्तरीको भङ्गाहा–४ रामनगरका किसान रामभगत महतोको आँगनमा भने एउटै बोटमा २ स्वादिष्ट जातका आँप फलेका छन्। उनको घरआँगनको एउटै बोटमा ती दुवै जातका आँप फलेका छन्।
Advertisement 2
महतोले मालदहको बिरुवा भनी २ वर्षअघि रोप्नुभएको बोटमा पहिलोपल्ट यसपालि फल लागेको हो। त्यस आँपको बोटका मुख्य २ हाँगामा फरक–फरक जातका आँप फलेका हुन्।
किसान महतोले भने, “हेर्नुस त एकापट्टि मालदह र यो अर्काे हाँगामा दशहरी फल्यो, दुवै स्वादिष्ट जातका आँप गनिन्छन् म खुसी छु।” त्यो बोटमा मालदहका दाना ठूला रहेका र दशहरीका फल औसत रूपमा साना छन्।
Advertisement 3
आँपको बिरुवामा कलमी लगाउँदा फेदतिर दशहरी र माथिल्लो भाग मलदहको हाँगो फाटेर गएको हुनसक्ने बागवानी विज्ञका रूपमा लामो सरकारी सेवाबाट अवकाश लिएका स्थानीय ताराबहादुर भुजेल बताउँछन्। तथापि, एउटै बोटमा २ जातका आँप फल्नु दुर्लभ घटना र अपवादमा भेटिने गरेको उनको भनाइ छ।








