मङ्गलेखानीमा खेलमैदान निर्माण

म्याग्दी। रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीमा स्थानीय खेलप्रेमीले सहयोग जुटाएर खेलमैदान निर्माण गरेका छन्।
Advertisement 1
मैदान निर्माणका निम्ति रघुगङ्गा गाउँपालिकाले चालु आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेकामा स्थानीयले रु ३४ लाखभन्दा बढी जुटाएका हुन्। श्रीकृष्ण युवा क्लबको अगुवाइमा खेलमैदान निर्माण भएको हो।
उपभोक्ता समितिका अध्यक्ष फमान छन्त्यालका अनुसार रु ४४ लाख ३० हजारको लागतमा निर्माण भएको खेलमैदान बनाउन दाताहरुले रु २६ लाख ९० हजार, रघुगङ्गा गाउँपालिकामा निर्माण भएको अपर राहुघाट र चिमखोला–मङ्गले–राहुघाटको प्रवद्र्धक तुँदी पावरले रु ५ लाख र ठूलोखोला जलविद्युत् आयोजनाको प्रवद्र्धक संयुक्त ऊर्जा कम्पनीले रु २ लाख ५० हजार प्रदान गरेका हुन्।
Advertisement 2
स्व डेनिस भलन्जा छन्त्यालको स्मृतिमा उहाँका परिवारले रु २ लाख सहयोग गरेका छन्। अन्य सहयोग प्रवास र पूर्वखेलाडी तथा स्थानीयवासीबाट जुटाएको अध्यक्ष छन्त्यालले बताए। सोह्र मिटर चौडा र ३० मिटर लामो खेलमैदानमा प्यारापिटलगायत दर्शकका निम्ति आवश्यक संरचना पनि निर्माण भएका छन्।








