लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद

भैरहवा। लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रदेशभर शान्तिसुरक्षा सुदृढ गर्दै चोरी, तस्करी तथा राजस्व छली नियन्त्रणलाई प्राथमिकतामा राखेर विशेष अभियान सञ्चालन गरेको जनाएको छ।

Advertisement 1

खुला सीमा नाकाबाट हुने अवैध आयात, तस्करी र आपराधिक गतिविधि नियन्त्रणका लागि रुपन्देही, कपिलवस्तु, नवलपरासी (पश्चिम), बाँके, बर्दिया, दाङलगायत सीमावर्ती जिल्लामा निगरानी तथा प्रहरी परिचालनलाई थप प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ।

सीमा क्षेत्रबाट हुने भन्सार छली, अवैध सामान ओसारपसार तथा राजस्व चुहावट नियन्त्रणका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सञ्चालन गरेको अभियानअन्तर्गत आज बर्दियामा अवैध रुपमा भित्र्याइएका रु ४३ लाख ६१ हजार ८४० बराबरका सामान तथा सवारी साधन बरामद गरेको छ।

Advertisement 2

प्रहरीका अनुसार ती सामग्री बर्दियाको मधुवन नगरपालिका–८ सानोश्री क्षेत्रमा भारतबाट भन्सार छली नेपाल ल्याउँदै गरेको अवस्थामा दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको थियो। भारतको बहराइच जिल्लाका २२ वर्षीय रिजवान अन्सारी र २० वर्षीय कलिम खानलाई नियन्त्रणमा लिँदा उनीहरुका साथबाट दुईवटा बोलेरो गाडी, एउटा पल्सर मोटरसाइकल तथा तीन हजार ७९० दर्जन केरा बरामद गरिएको थियो।

उक्त सामान तथा सवारीसाधनको अनुमानित मूल्य रु २५ लाख ५९ हजार रहेको प्रहरीले जनाएको छ। मधुवन नगरपालिका–६ मा आजै भारतबाट अवैध रूपमा भित्र्याई गोदाममा लुकाई राखिएको मटर, सुपारी, सुर्ती, चुरोट, बिँडी, माउथ फ्रेसनर, प्लास्टिकलगायत सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

Advertisement 3

स्थानीय पदमराज चौधरी र कोपिला खत्रीको घरमा भण्डारण गरिएको अवस्थामा बरामद गरिएका ती सामानको मूल्य रु १८ लाख २ हजार ८४० रहेको छ। बरामद गरिएका सबै सामान तथा सवारीसाधनको आवश्यक अनुसन्धान र कानुनी कारबाही अघि बढाइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका लुम्बिनीले जनाएको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले कानुन कार्यान्वयन गरी प्रदेशभर सुशासन, शान्तिसुरक्षालाई प्राथमिकतामा राखेर प्रहरीले काम गरिरहेको बताए।

उनले सीमा क्षेत्रबाट हुने चोरी–तस्करी नियन्त्रण, अपराध न्यूनीकरण तथा नागरिकमैत्री प्रहरी सेवामा उल्लेखनीय सुधार ल्याउन प्रहरी प्रतिबद्ध रहेको जानकारी दिए।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले सीमा क्षेत्रमा हुने तस्करी, राजस्व छली तथा अवैध कारोबार नियन्त्रणका लागि विशेष निगरानी र संयुक्त अभियानलाई निरन्तरता दिइएको बताए। उनले अपराध नियन्त्रणसँगै आर्थिक अपराध रोकथाममा समेत प्रहरी केन्द्रित रहेको जानकारी दिए।

यसैबीच, प्रहरीको सक्रिय अभियानप्रति स्थानीय समुदायले समेत सकारात्मक प्रतिक्रिया दिएका छन्। सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देहीका अध्यक्ष नेतृत्व आचार्यले प्रदेशमा शान्तिसुरक्षा कायम गर्न, चोरी–तस्करी नियन्त्रण गर्न तथा व्यवसायमैत्री वातावरण निर्माण गर्न प्रहरीले प्रभावकारी भूमिका खेलेको बताए।

प्रकाशित :२०८३ जेष्ठ २५, सोमबार १६:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry