निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न ४ हजार बाँसका बिरुवा रोपियो

झापा। मेचीनगर नगरपालिकाले वडा नं ७ भएर बग्ने निन्दा नदीको किनारमा बाढी नियन्त्रण तथा कटान रोकथामका लागि प्राकृतिक तटबन्धको रूपमा ४ हजार बाँसका बिरुवा रोपेको छ।
Advertisement 1
परम्परागत रूपमा गरिने ढुङ्गा र जालीको महँगो तटबन्धको विकल्पका रूपमा बाँसका बिरुवा रोपेको मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए।
मेचीनगर नगरपालिका–७ स्थित पूर्वी निन्दा करिडोरबाट करिब ५ किलोमिटर दक्षिणसम्म नदी किनारमा बाँसका बिरुवा रोपिएका हुन्।
Advertisement 2
“बाँसका बिरुवा बाढी नियन्त्रणका निम्ति उपयोगी हुन्छन्”, उनले भने, “बाँसलाई सही तरिकाले हुर्काउन सकियो भने यसले बाढी र भूक्षय नियन्त्रण हुन्छ।”
नगरपालिकाले चालु आर्थिक वर्षभित्रै मेचीनगर वडा नं. ७ र १५ का नदी तटीय क्षेत्रमा ८ हजार बाँसका बिरुवा रोप्ने योजना तर्जुमा गरेको छ।
Advertisement 3
नदी कटान तथा भूक्षय रोक्न र वातावरण सन्तुलनका निम्ति राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिको सहयोगमा ‘बङ्गलादेशी काँडे बाँस’ प्रजातिका बिरुवा रोपिएका हुन्।
झापामा नदी नियन्त्रणका लागि बाँसमा आधारित जैविक तटबन्धको प्रयोग यसअघि कनकाई नगरपालिकामा गरिएको थियो। जिल्लाका अन्य नदी किनारमा पनि बाँस तथा भेटिभर (एक प्रकारको जरा फैलिने घाँस) प्रयोग गरेर कटान रोक्ने प्रयास हुँदै आएको छ।
कनकाई नदीको तटीय क्षेत्रअन्तर्गत शिवसताक्षी र झापा गाउँपालिका क्षेत्रमा विगतमा बाँस र भेटिभर रोपेर जैविक तटबन्ध निर्माण गरिएको थियो। यसले नदीको धार परिवर्तन हुनबाट जोगाएको छ।
यसैगरी, मेचीनगरको हँडिया र भद्रपुर नगरपालिका क्षेत्रमा पर्ने नदी किनारमा पनि स्थानीय उपभोक्ता समिति र विभिन्न गैरसरकारी संस्थाको सहयोगमा बाँसका बिरुवा रोपिएका थिए। यसले पनि भूक्षय नियन्त्रण गरेको छ।
मावा र रतुवा नदी आसपासका क्षेत्रमा दमक नगरपालिका र कमल गाउँपालिकाले पनि चुरे क्षेत्रबाट आउने भेल नियन्त्रणका लागि बाँस र अम्रिसो रोपणलाई प्राथमिकता दिएका छन्।
बाँसका जराले माटोलाई मजबुत रूपमा समात्ने भएकाले तीव्र बहावले समेत कटान गर्न नसक्ने विशेषज्ञहरूको भनाइ छ। ढुङ्गा–जालीको तटबन्धको तुलनामा बाँसको तटबन्ध सस्तो, दिगो र वातावरणमैत्री हुने मानिन्छ।








