सिंहदरबारमा मन्त्रालयहरूको व्यवस्थापनः संसद भवनमा २ मन्त्रालयको स्थान

काठमाडौँ। संघीय संसद्को नयाँ भवन निर्माण सम्पन्न भएपछि हाल संसद सचिवालयले प्रयोग गरिरहेका भवनहरूलाई पुनः व्यवस्थापन गर्ने निर्णय गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयलाई २ छुट्टाछुट्टै संसद भवनमा स्थानान्तरण गर्ने व्यवस्था मिलाइने भएको छ । साथै, राष्ट्रिय सतर्कता केन्द्रले पनि लामो समयपछि आफ्नै प्रयोजनका लागि बनेको भवन उपभोग गर्न पाउने भएको छ ।

Advertisement 1

मन्त्रिपरिषद्को वैशाख ३० गतेको निर्णयअनुसार संसद भवन–१ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रयोग गर्नेछ भने संसद भवन–२ युवा, श्रम तथा रोजगार मन्त्रालयलाई उपलब्ध गराइनेछ। नयाँ संघीय संसद भवन निर्माण सम्पन्न भई संसद सचिवालय हाल प्रयोगमा रहेका भवनबाट सरेपछि उक्त व्यवस्था कार्यान्वयनमा आउनेछ।

राष्ट्रिय सतर्कता केन्द्र हाल प्रयोग गरिरहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भवनको बेसमेन्ट र भुइँतलामा आगलागीबाट क्षति पुगेकाले पुनर्निर्माण आवश्यक भएसँगै हाल काम कारवाहीले गति लिन सकिरहेको छैन ।

Advertisement 2

साथै राष्ट्रिय सतर्कता केन्द्रका लागि विगतमा निर्माण गरिएको भवनमा हाल युवा, श्रम तथा रोजगार मन्त्रालय रहेको छ। उक्त भवनको बेसमेन्टमा केन्द्रको परीक्षण प्रयोगशाला पनि सञ्चालनमा रहेकाले सेवा प्रवाह तथा स्थान अभावको समस्या समाधान गर्न केन्द्रलाई सो भवन उपलब्ध गराउने व्यवस्था गरिएको छ।

स्वास्थ्य मन्त्रालयको हकमा भने पछिल्ला वर्षहरूमा कार्यालय व्यवस्थापन चुनौतीपूर्ण बनेको थियो। भवन अभावकै कारण सिंहदरवार बाहिर रहन पुगेको तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रहेको भवनमा २४ गतेको आन्दोलनमा भएको आगलागीबाट क्षति पुगेपछि मन्त्रालयले विभिन्न अस्थायी संरचना तथा वैकल्पिक स्थानबाट सेवा सञ्चालन गर्दै आएको थियो। त्यसपछि मन्त्रालयलाई सिंहदरबारभित्र अस्थायी बट्टाभित्र व्यवस्थापन गरिएको भए पनि दीर्घकालीन कार्यालय पूर्वाधारको आवश्यकता कायम थियो।

Advertisement 3

मन्त्रिपरिषद्को पछिल्लो निर्णयसँगै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई संसद भवन–१ उपलब्ध गराउने बाटो खुलेको छ। यसबाट मन्त्रालयका विभिन्न महाशाखा, शाखा तथा प्रशासनिक इकाइलाई एउटै परिसरमा व्यवस्थित गर्न सहज हुने छ।

 

प्रकाशित :२०८३ जेष्ठ २०, बुधबार ११:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry