माझी महिलालाई आत्मनिर्भर बनाउन गलैँचा बुनाइ तालिम

चौतारा। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित रातोमाटे माझी बस्तीका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले ४५ दिने गलैँचा बुनाइ तालिम सुरु गरिएको छ।
Advertisement 1
दलित सशक्तीकरण समाज चौतारा साँगाचोकगढी–१३ को आयोजनामा ‘उद्यम गरौँ, आत्मनिर्भर बनौँ’ भन्ने नारासहित सञ्चालन गरिएको तालिम असार १४ गतेसम्म सञ्चालन हुने नगरपालिकाका उद्यम शाखा प्रमुख अर्जुन गहतराजले जानकारी दिए। विपन्न तथा पिछडिएको समुदायका महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले तालिमलाई नगरपालिकाको महिला विकास शाखाले आर्थिक सहयोग गरेको छ।
नगरपालिकाको उपप्रमुख सीता थापाले सीपमूलक तालिमले माझी समुदायका महिलाको आर्थिक अवस्था सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरीन्। नगरपालिकाका शाखा अधिकृत पेशलकुमार पोखरेलले आर्थिक रूपमा कमजोर र अवसरबाट टाढा रहेका समुदायलाई प्राथमिकतामा राखेर रातोमाटे माझी बस्ती छनोट गरिएको बताए। उनले तालिमसँगै उत्पादन र आम्दानी जोड्ने लक्ष्य राखिएको राखिएको समेत बताए।
Advertisement 2
तालिममा सहभागी महिलाले सीप सिकेर घरमै बसेर आम्दानी गर्ने अवसर मिल्ने अपेक्षा गरेका छन्। बस्तीमा रोजगारी तथा आयआर्जनका अवसर न्यून भएकाले यस्ता कार्यक्रम प्रभावकारी हुने सीता माझीको विश्वास छ।
स्थानीय आइते माझीका अनुसार नगरपालिका क्षेत्रमा परे पनि रातोमाटे माझी बस्ती अझै आधारभूत सेवा सुविधाबाट टाढा छ। तेह्र घरधुरी रहेको बस्तीमा हालसम्म एसइई उत्तीर्ण गर्ने विद्यार्थीसमेत नभएको उनको भनाइ छ। कक्षा ५ भन्दा माथिको अध्ययनका लागि विद्यार्थीले ३ घण्टा पैदल हिँडेर इन्द्रावतीको बडहरे पुग्नुपर्ने बाध्यता रहेको उनी बताउनुहुन्छ।
Advertisement 3
स्वास्थ्य सेवाको पहुँच पनि कमजोर रहेको बस्तीवासीको गुनासो छ। बालबालिकालाई नियमित खोप लगाउनसमेत तीन घण्टा पैदल हिँडेर कोडडाँडा पुग्नुपर्ने अवस्था अझै कायम रहेको उनीहरूले बताएका छन्।












