विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

गण्डकी। पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत फागुनमा रोपिएका तरबुजाका लहरामा अहिले फल लागेको छ। लामो समयदेखि बाँझो रहेको यहाँको २५ रोपनी बलौटे जमिनमा पोखरा–२२ पुम्दीभुम्दीका ३२ वर्षीय सुन्दर बरालले व्यावसायिक तरबुजाखेती सुरु गरेका थिए।
उनले फागुनमा सरस्वती जातका ३ हजार ५०० बिरुवा लगाएका थिए। अहिले औसतमा दैनिक २०० केजी तरबुजा बिक्री गरिरहेका छन्। उनका अनुसार प्रतिकेजी रु ६० का दरले दैनिक रु १२ हजारको कारोबार भइरहेको छ। बरालका अनुसार यस वर्ष रु १५ लाख बराबरको कारोबार गर्ने लक्ष्य छ। “तरबुजाको बजारका लागि चिन्ता लिनुपर्दैन, व्यवसायीहरु बारीमै लिन आइपुग्नुहुन्छ”, उनले भने।
उनका अनुसार पहिलो वर्ष परीक्षणका रुपमा दुई रोपनीमा लगाएको राम्रो उत्पादन भएपछि खेती विस्तार गरिएको हो। वर्षमा १ बाली धानखेती मात्र हुने र बाँकी समयमा बाँझै रहने खेतमा छोटो समयमा राम्रो आम्दानी लिन सकिने नगदे बाली तरबुजाखेती गरेको उनले बताए।
किसान भरतबहादुर पराजुलीले पनि सोही स्थानमा ११ रोपनी जग्गामा तरबुजाखेती गरेका छन्। उनका अनुसार फागुन अन्तिम साता सारेका बेर्नाले अहिले उत्पादन दिन थालेका छन्। उनले भने, “यस वर्ष रु तीन लाखभन्दा बढी आम्दानी हुने विश्वास छ। बारीमा काक्रो, सिमीलगायतका तरकारी पनि उत्पादन भइरहेको छ।”
उनका अनुसार पोखरा महानगरपालिका कृषि महाशाखाले बीउ र ‘मल्चिङ’ प्लाष्टिक ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको छ। बिरुवा फष्टाउँदै गर्दा चैत १७ गते र फूल खेल्दै गर्दा गत वैशाख १० गते परेको असिनासहितको पानीले केही क्षति गरेको उल्लेख गर्दै किसान पराजुलीले भने, “अहिले बाँदरले खाने र मानिसले चोरी गरेर लैजाने समस्या पनि थपिएको छ।”
तरबुजाखेतीका लागि बलौटे माटो र बढी तापक्रमको आवश्यकता पर्ने उनको भनाइ छ। पोखरा महानगरपालिका–१३ का अध्यक्ष किरण बरालका अनुसार २ वर्षअघि माटो परीक्षण गरी सुरु गरिएको तरबुजाखेतीमा यतिबेला युवा पनि आकर्षित भएका छन्।
यस क्षेत्रमा अघिल्लो वर्ष रु १ करोड ५० लाखको तरबुजा उत्पादन भएको थियो भने यस वर्ष भने असिना र पानीको कारण क्षति पुगेकाले केही कमी आउने उनको भनाइ छ। यस क्षेत्रमा २५ जना किसान व्यावसायिकरुपमा तरबुजाखेतीमा सक्रिय छन्।
पोखरा महानगर, कृषि महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार महाशाखाले कृषकलाई कृषिप्रति प्रेरित गर्नका लागि विभिन्न सहुलियत प्रदान गर्दै आएको छ। तरबुजाखेतीका लागि पनि बीउ, मल्चिङ प्लाष्टिक, असिना छेक्ने जाली र प्राङ्गारिक मलमा ५० प्रतिशत अनुदान प्रदान गर्दै आएको छ।
दोस्रो तरबुजा मेला
तरबुजा र खरबुजाखेती गर्ने किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले यही जेठ ५ गते पोखरा महानगरपालिका–१३ को वडा कार्यालय परिसरमा तरबुजा मेला आयोजना गर्न लागिएको छ। मेलामा किसानलाई सम्मान गरिने कृषि सञ्जाल पोखरा–१३ अध्यक्ष नरेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
मेलाको सम्पूर्ण तयारी पूरा भएको बताउँदै मेलामा विभिन्न प्रतियोगिता गरिने बताए। गर्मी बढेसँगै पोखरा बजारमा पर्यटकीय चाप बढेको र तरबुजाको माग बढेको छ।
प्रकाशित :२०८३ जेष्ठ ४, सोमबार ११:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry