चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन

चितवन। पवित्र धार्मिक तीर्थस्थल देवघाटमा निर्माण गरिएको शवदाह गृह परीक्षणका क्रममा प्राविधिक समस्या आएपछि नियमित सञ्चालनमा ल्याउन सकिएको छैन। गत असोज २४ गते सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले निर्माण सम्पन्न गरीे शवगृह भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरेको थियो।

Advertisement 1

महानगरपालिकाका विपद् शाखा प्रमुख बालकृष्ण थपलियाका अनुसार परीक्षणका क्रममा सहज रूपमा शव दहन नभएपछि समस्या उत्पन्न भएको हो। “कतिपय शव एक घण्टामा दहन भएका थिए भने कतिपय आठ–नौ घण्टामा पनि दहन हुनसकेको थिएन। लामो समयसम्म शवगृहमा राख्दासमेत नपोलिएपछि यहाँ आएका मलामीले आक्रोश व्यक्त गर्दै तोडफोडसमेत गरेका थिए। यससँगै बन्द भएर मर्मतसम्भार थालिएको शवगृह सञ्चालनमा आएको छैन”, उनले भने।

महानगरपालिकाले १६ जना ‘स्वीपर’लाई शव दहनसम्बन्धी तालिम दिएको थियो। उनीहरूले तालिम लिए पनि प्रभावकारी हुन नसकेको थपलियाले बताए। शव दहन गर्ने उपकरण चलाउन प्राविधिक जनशक्ति आवश्यक पर्ने जनाउँदै उनले त्यस्तो जनशक्ति पाउन कठिन भएपछि नियमित सञ्चालनमा समस्या भएको उल्लेख गरे।

Advertisement 2

शवदाह गृह जडान गरेका निर्माण कम्पनीले मर्मत गरिएको पत्र महानगरलाई प्राप्त भएको भन्दै जनाउँदै विपद् शाखा प्रमुख थपलियाले अब कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए। उनका अनुसार जनशक्तिको अभाव हुने, चौबिसै घण्टा जनशक्ति राखेर उपकरण तताउँदा खर्चिलो हुने, धुवाँ स्थानीय बस्तीमा जाँदा गुनासो बढेकोलगायत समस्या देखिएपछि बृहत् छलफल गरेरमात्र निर्णय लिने पक्षमा महानगरपालिका छ।

महानगरका कार्यवहाक प्रमुख चित्रसेन अधिकारीले बोलपत्र आहवान गरेर शवदाहको जिम्मेवारी दिन लागिएको बताए। महानगरले जारी गरेको बोलपत्रपछि एउटा निजी फार्मले प्रस्ताव पेस गरेको जनाउँदै उनले कुनै संस्थाले जिम्मेवारी स्वीकारेमा सहज हुने भएकाले सोहीअनुसार त्यस्तो संस्थाको खोजी भइरहेको बताए।

Advertisement 3

निर्माण थालिएको सात वर्षपछि विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याइएको थियो। विसं २०७५ माघ ३ गते निर्माण थालिएको शवदाह भवन पटकपटक मिति थप हुँदै निर्माण गरिएको थियो। गृहमा २ वटा शवदाह गर्ने उपकरण जडान गरिएको छ भने ४ वटा शव राख्न मिल्नेगरी ‘फ्रिज’ जडान गरिएको छ।

सहरी विकास कार्यालयले रु ११ करोड २१ लाख ८ हजार ६४१ मा शवदाह गृह निर्माण गरिएको जनाएको छ। देवघाटमा चितवन, नवलपरासी, तनहुँसहित देशका विभिन्न जिल्लाबाट यहाँ शवदाहका लागि ल्याउने गरिन्छ। दाउराको अभावका कारण व्यवस्थापनमा चुनौती हुँदै आएको छ। सहज रूपमा शवदाहस्थल सञ्चालन हुनसकेमा दाउराको समस्या र वर्षात्मा शवदाह गर्दा हुने समस्या समाधान हुनेछ। यसले बेवारिसे शवको अन्त्येष्टिका लागि पनि सहयोग पुग्ने स्थानीय बताउँछन्।

प्रकाशित :२०८३ जेष्ठ १, शुक्रबार १५:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry