सकारात्मक संवादका लागि कार्यदलका संयोजक शाहको आह्वान

काठमाडौं। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेनजी प्रतिनिधिलाई सकारात्मक संवादका लागि आह्वान गरेको छ। जेनजीका प्रतिनिधिसँग आज हुने लागेको छलफलका विषयमा देखिएका केही अन्योल चिर्दै सकारात्मक संवादका लागि आह्वान गरिएको हो।
कार्यदलका संयोजक असिम शाहले सबै सरोकारवालाको सुझाव समेटेर बहसपत्रलाई पूर्णता दिनु नै कार्यदलको मुख्य ध्येय रहेको र सोहीअनुरूप जेनजीका प्रतिनिधिलाई पनि छलफलका लागि आमन्त्रण गरिएको उल्लेख गरे।
आज साँझ ५ः०० बजे तय गरिएको छलफलका सन्दर्भमा केही जेनजी प्रतिनिधिले अघिल्लो सरकारसँग भएका सहमतिका विषयलाई लिएर असन्तुष्टि जनाएपछि संयोजक शाहले वास्तविकता प्रष्ट पारेका ह। अघिल्लो सरकारसँग भएका सहमति कार्यान्वयनकै चरणमा रहेको उल्लेख गर्दै उनले जेनजी परिषद् निर्माण अन्तिम चरणमा पुगेको बताए।
कार्यदलले आयोजना गरेको छलफल संविधान संशोधनका लागि सुझाव सङ्कलन गर्ने विशेष र फरक उद्देश्यका लागि भएकाले यसलाई अन्य विषयसँग नमिसाउन उनले आग्रह गरेका छन्। कार्यदलले जेनजीबाट मौखिक र लिखित दुवै माध्यमबाट सुझाव लिने गरी समय व्यवस्थापन गरेको छ।
शाहले कुनै पनि राजनीतिक विवाद वा भ्रमको पछि नलागी आफ्नो अधिकार र दायित्व सम्झेर छलफलमा सहभागी हुन निमन्त्रित सबै जेनजीलाई अनुरोध गरेका छन्।
कार्यदलले गत चैत २५ गतेदेखि सरोकारवालासँग छलफल सुरु गरेको थियो। यस क्रममा हालसम्म संविधानविद्, पूर्वप्रशासक र सञ्चार क्षेत्रका विज्ञहरूसँग परामर्श गरिसकिएको छ भने आगामी दिनमा अन्य सरोकारवालासँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ।
शासकीयस्वरूप, निर्वाचन प्रणाली र सङ्घीयताजस्ता महत्त्वपूर्ण विषयमा सबैको साझा धारणा बनाउन सरकारको १०० बुँदे कार्यसूचीअनुसार यो प्रक्रिया अघि बढाइएको हो। विभिन्न राजनीतिक दलका प्रतिनिधि सम्मिलित यस कार्यदलले संविधानमा सबै वर्ग र समुदायको अपनत्व सुनिश्चित गर्न जेनजीको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिएको छ।
प्रकाशित :२०८३ जेष्ठ १, शुक्रबार १५:३६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%









