झोलुङ्गे पुलले जोड्दैछ चन्द्रडाँगी–लालपानी

झापा। जिल्लाको शिवसताक्षी नगरपालिका–६ स्थित चन्द्रडाँगी बजार हुँदै कनकाई नदीपूर्वमा रहेको वडा नं १० र वडा नं ७ को केही भू–भाग जोड्न कनकाई नदीमाथि झोलुङ्गे पुलको निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ।
Advertisement 1
सङ्घीय सरकारको झोलुङ्गे पुल महाशाखा, ललितपुर कुपन्डोलबाट विनियोजित रु सात करोड ४१ लाखको लागतमा निर्माण सुरु गरिएको झोलुङ्गे पुल अन्तिम चरणमा पुगेको हो। पुलको लम्बाइ ६४० मिटर रहेको छ। शिवसताक्षी नगरपालिकाको भौगोलिक अवस्थिति अनुसार कनकाई नदीपूर्व पनि केही वडा रहेका छन्। कनकाई नदीपूर्व पनि वडा नं १० र वडा नं ७ को केही भू–भाग छ। हालसम्म ती वडाका बासिन्दाले आफ्नै वडाभित्र आवतजावत गर्नसमेत पूर्व–पश्चिम राजमार्गमा रहेको कनकाई पुलको प्रयोग गर्नुपर्ने बाध्यता रहिआएको छ।
स्थानीयका अनुसार वडा नं ७ का बासिन्दाले आफ्नो वडाको अर्काे भाग पुग्न करिब ७ किलोमिटर उत्तरतर्फ यात्रा गरेर कनकाई पुल पार गरी जानुपर्ने अवस्था छ। तर अब झोलुङ्गे पूल निर्माण सम्पन्न भएपछि यो बाध्यात्मक परिस्थिति अन्त्य हुने विश्वास लिइएको नगर प्रमुख मेगाहाङ थोप्रा (रोशन)को भनाइ छ।
उनका अनुसार यस पुल निर्माण सम्पन्न भएपछि चन्द्रडाँगी क्षेत्रबाट सिधैँ लालपानी, ट्याक्रलगायत माईपूर्वका बासिन्दालाई नगरपालिका कार्यालय तथा बजार क्षेत्रसम्म आउनजान सहज हुने अपेक्षा गरिएको छ। नगर प्रमुख थोप्राले नगर क्षेत्र हेर्दा सहज देखिए पनि भौगोलिक अवस्था र बीचमा बग्ने ठूलो नदीका कारण विकास निर्माणमा चुनौती रहेकाले पनि कतिपय ठुला योजनाका लागि सङ्घीय सरकारको बजेट अपेक्षा गर्नुपर्ने अवस्था रहेको बताउँछन्।
Advertisement 2
सङ्घीय सरकारको सहयोगमा यो योजना कार्यान्वयनमा आएको र नगरपालिकाले समेत पुलको निर्माणकार्य गुणस्तरीय ढङ्गले सम्पन्न होस् भन्ने उद्देश्यले अनुगमन गरिआएको उनको भनाइ छ। पुल निर्माण सम्पन्न भएपछि शिवसताक्षी नगरपालिकाका सबै वडा नगर केन्द्रसँग अझै प्रभावकारी रूपमा जोडिने विश्वास गरिएको छ।
यसले स्थानीयको दैनिक जीवन सहज बनाउनुका साथै आर्थिक गतिविधि, शिक्षा, स्वास्थ्य सेवा र प्रशासनिक पहुँचलाई समेत थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।














