मकवानपुरका दुवै निर्वाचन क्षेत्रको मतगणना हेटौँडास्थित भुटनदेवी माविमा

बागमती। आज हुने प्रतिनिधिसभा सदस्य निर्वाचनन्तर्गत मकवानपुरका दुवै क्षेत्रको मतगणना हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा गरिने भएको छ।
Advertisement 1
बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद ढकालले दुवै निर्वाचन क्षेत्रको मतगणनास्थल भुटनदेवी माविमा तोकिएको र व्यवस्थापनको सम्पूर्ण कार्य सम्पन्न भएको जानकारी दिए। उनका अनुसार निर्वाचन क्षेत्र नम्बर १ को मतगणना भुटनदेवी माविको उत्तर तर्फको ब्लक (ए) मा र क्षेत्र नम्बर २ को मतगणना विद्यालयको (बी) ब्लकमा गरिनेछ। मतगणनालाई व्यवस्थित र पारदर्शी बनाउनका लागि मतगणनास्थलको सुरक्षा र अन्य व्यवस्थापनको कार्य सम्पन्न भएको छ।
निर्वाचनका लागि मकवानपुरका सबै मतदानस्थलको व्यवस्थापन सकिएको छ। यहाँका ८ वटा मतदान केन्द्रको मतपेटिका सङ्कलनका लागि छिमेकी जिल्लाको सडक प्रयोग गर्नुपर्ने भएको छ। मकवानपुरको बकैयाँ गाउँपालिकाका ३ वटा र राक्सिराङ गाउँपालिकाका पाँचवटा केन्द्रको मतपेटिका छिमेकी जिल्ला हुँदै ल्याउनुपर्ने बाध्यता रहेको प्रमुख ढकालले बताए।
Advertisement 2
मतपेटिका सङ्कलनका लागि अन्तरजिल्लाको सडक प्रयोग गर्नुपर्ने भएकाले सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राखी सम्बन्धित जिल्लाका सुरक्षा निकायसँग समन्वय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए।
प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरका १६७ मतदानस्थलमध्ये १९ वटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ। जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी जिल्लाको विभिन्न ६ स्थानीय तहमा रहेका १९ वटा मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखेको हो। जिल्लाको ६० वटा मतदानस्थललाई संवेदनशील र ८८ वटालाई सामान्य सूचीमा राखिएको उनको भनाइ छ।
Advertisement 3
अतिसंवेदनशील सूचीमा रहेका १९ मतदानस्थलमा २६ वटा मतदान केन्द्र छन्। उनका अनुसार बकैयाँ गाउँपालिको पाँचवटा, राक्सिराङ गाउँपालिकाका छवटा, बागमती गाउँपालिकाको ५ वटा, भीमफेदी गाउँपालिकाको १, मनहरी गाउँपालिकाको १ र कैलाश गाउँपालिकाको १ गरी १९ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा छन्।
मकवानपुरमा मतदाता सङ्ख्या बढ्ेपछि यस वर्ष सातवटा मतदान केन्द्र थप गरिएका छन्। २ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा क्षेत्र नम्बर १ मा ६२ वटा मतदानस्थल र १७८ मतदान केन्द्र छन् भने क्षेत्र नम्बर २ मा १०५ मतदानस्थल र १९६ मतदान केन्द्र तोकिएका छन्। क्षेत्र नम्बर १ मा १ लाख ५८ हजार ४३५ मतदाता छन् भने क्षेत्र नम्बर २ मा १ लाख ५६ हजार ८९९ मतदाता रहेका प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ।














