ओबामाद्वारा ट्रम्पको क्लिपको आलोचना

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल खाताबाट आफू र मिशेल ओबामालाई बाँदरको रूपमा चित्रण गरिएको भिडियो सार्वजनिक भएपछि अमेरिकी राजनीतिक संवादमा शिष्टाचार र लज्जाको अभाव बढ्दै गएको भन्दै कडा टिप्पणी गरेका छन्।
Advertisement 1
वामपन्थी टिप्पणीकार ब्रायन टायलर कोहेनसँगको विस्तृत पोडकास्ट अन्तर्वार्तामा उनले राजनीतिक बहस ‘पहिले कहिल्यै नदेखिएको क्रूरतामा’ झरेको उल्लेख गर्दै अधिकांश अमेरिकी नागरिकले यस्तो व्यवहारलाई गम्भीर रूपमा चिन्ताजनक ठान्ने बताए। उनले कसैको नाम नलिई सामाजिक सञ्जाल र टेलिभिजनमा देखिने ‘जोकर शैलीको प्रस्तुति’ ले सार्वजनिक पदप्रति आवश्यक सम्मान हराउँदै गएको सङ्केत गरेको बताए।
फेब्रुअरी ५ मा ट्रम्पको ट्रुथ सोसल खाताबाट सेयर गरिएको एक मिनेटको भिडियोमा सन् २०२० को चुनावबारे षड्यन्त्रपूर्ण दाबी दोहो¥याइएको थियो। भिडियोको अन्त्यतिर जो बाइडेन र ओबामा दम्पतीको अनुहार बाँदरको शरीरमा देखाइएको अंश समावेश थियो, जसले व्यापक आलोचना निम्त्यायो। ह्वाइट हाउसले प्रारम्भमा ‘नक्कली आक्रोश’ अस्वीकार गरे पनि पछि उक्त पोस्ट स्टाफको त्रुटिका कारण भएको भन्दै हटाइएको जनाएको थियो। ट्रम्पले भिडियोका दाबीहरूको पक्षमा उभिएको बताए पनि आपत्तिजनक दृश्य आफूले नदेखेको दाबी गरे।
Advertisement 2
अन्तर्वार्ताका क्रममा ओबामाले यस्ता सन्देशले आगामी मध्यावधि चुनावमा रिपब्लिकनहरूलाई नै नोक्सान पुग्न सक्ने आकलन गरे र अन्ततः जवाफ अमेरिकी जनताबाटै आउने बताए।
उनले ट्रम्प प्रशासनद्वारा मिनेसोटामा सञ्चालन गरिएको आप्रवासन दमन अभियानको पनि आलोचना गरे। आइसिई अधिकारीहरू समेत संलग्न हजारौँ सङ्घीय एजेन्टले अपराधीविरुद्ध लक्षित अपरेसन भन्दै व्यापक छापा र गिरफ्तारी सञ्चालन गरेका थिए। ओबामाले केही घटनामा भएको घातक गोलीकाण्डसहित एजेन्टहरूको व्यवहारलाई ‘अधिनायकवादी मुलुकहरूमा देखिने शैलीसँग मिल्दोजुल्दो’ भन्दै चिन्ता व्यक्त गरे र यसलाई ‘दुष्ट व्यवहार’ को संज्ञा दिए।
Advertisement 3
मिनेसोटामा उक्त अभियानपछि ठूलो विरोध प्रदर्शन र देशव्यापी आक्रोश देखिएको छ। यसैबीच सांसदहरूबीच आप्रवासन कारबाहीको निरीक्षण गर्ने निकायलाई थप बजेट दिने विषयमा जारी विवादले गृह मन्त्रालय आंशिक सरकारी शटडाउनमा परेको छ। डेमोक्रेट सांसदहरूले आइसिईको कार्यशैलीमा ठोस परिवर्तन नगरेसम्म नयाँ कोष स्वीकृत नगर्ने अडान लिएका छन्।
ओबामाले भने समुदायस्तरमा शान्तिपूर्ण र सङ्गठित प्रतिरोध देखिनु नै आशाको आधार भएको उल्लेख गर्दै नागरिकहरू सत्य र शान्तिपूर्ण विरोधमार्फत आफूहरूले विश्वास गर्ने मूल्यहरूको पक्षमा उभिएको बताए। उनले सामान्य नागरिकको यस्तो निरन्तर सक्रियताले लोकतन्त्रलाई सुदृढ बनाउने विश्वास व्यक्त गरे।














