जेन–जीका अभिलाषा र नेता ,राजनेताको भूमिका

नेतालाई अंग्रेजीमा Leader भनिन्छ भने राजनेतालाई States Man भनिन्छ। Leader लाई यसरी परिभाषित गरिएको छ– A leader is a person who guides, influences, and motivates others toward achieving a common goal or vision. अर्थात नेता भन्नाले साझा उद्देश्य प्राप्तिका लागि समूहमा आवद्ध सदस्यहरूलाई अभिप्रेरित गर्ने, निर्देशन गर्ने, प्रभाव पार्ने ब्यक्तिलाई नेता भनिदो रहेछ। स्वभावैले यस्तो ब्यक्तिले कुनै बिचार समूह, कुनै स्थान विशेषलाई मात्र निर्देशन वा अगुवाई गर्ने क्षमता राख्छ। कुनै पनि राज्यमा यस्ता नेताहरू धेरै भन्दा धेरै हुन सक्छन्।

Advertisement 1

त्यसै गरी States Man बारे बुझौ–A statesman is a wise, experienced, and respected political leader who works for the long–term good of the country rather than personal or party interests. अर्थात एउटा राजनेता जो दलगत वा व्यक्तिगत स्वार्थ भन्दा सदैव माथि उठेर देशको कल्याण बारे दीर्घकालीन सोच राखेर अगाडि बढ्ने एक बौद्धिक र अनुभवि राजनीतिक ब्यक्ति हो।

नेपालको राजनीतिक ईतिहांस हेर्दा हाम्रो देशमा पनि राजनेता नजन्मिएका पनि हैनन् तर तिनिहरूले बनाएको जगमा देश बनाउने जिम्मा पाएका नेताले राजनेताको मर्मलाई बुझेनन् वा बुझ्न चाहेनन् भन्ने देखिन्छ। फेरि राजनेता भनेको सधै भरी जन्मिदैनन् र जुन बेला यस्ता राजनेताको उदय हुन्छ, पछि आउने नेताले राजनेताको दृष्टकोणलाई बुझेर काम गर्न सके देशले शान्ति र विकास पाउन सक्छ, अन्यथा नेपालकै अवस्था हुन्छ।

Advertisement 2

नेपालका नेता भनाउदाहरूले देश भन्दा पार्टी ठूलो र जनता भन्दा आफ्ना कार्यकर्ता, आफू र आफ्ना आसेपासेलाई महत्व दिएका कारण देशमा भ्रष्टाचार र कुशासनले प्रश्रय पाएको हो। यिनीहरूले आफूहरूले देश र जनताको पक्षमा काम गर्न सकेको भए यिनीहरूको विरोध हुने थिएन। यिनीहरूको भूमिकालाई मन नपराएरै हो जनताले यस बीचमा भएका निर्वाचनमा यिनको बिकल्प खोजे तर यसबाट प्राप्त सन्देशलाई पनि यिनीहरूले वास्ता गरेनन्। हुदा हुदा यिनीहरूले आफ्नो राजनीतिक दर्शनलाई समेत सिरानीमा हालेर मस्त निदाए। जति गर्दा पनि यिनीहरूको ब्यबहारमा सुधार नदेखिए पछि जनताहरूले सामाजिक सन्जाल मार्फत सुझाव दिने, बिरोध गर्ने गर्न थाले तर उल्टै साईवर कानून ल्याएर ती आवाजलाई दवाउन खोजियो । यति हुदा पनि यिनीहरू उपर विरोध जनाउन नरोकिए पछि न रहे बांस न बजे बांसुरी भने जस्तै सामाजिक सन्जालै बन्द गरे पछिको परिणाम के भएको छ त्यो जग जाहेर छ।

राजनेता नभएर मुलुकले दुःख पाउछ तर त्यो दुःखमा झनै पींडा त्यतिखेर थपिन्छ जब विरलै जन्मने राजनेताको विरासत नेताले थाम्न सक्दैनन्। नेपालको सम्बन्धमा भएको त्यही हो।

Advertisement 3

फेरि हामी जस्तो भूराजनीतिक तवरबाट महत्वपूर्ण स्थानमा अवस्थित मुलुकका हकमा के पनि भन्ने गरिन्छ भने यसरी विरलै जन्मने राजनेतालाई लामो समय सम्म टिक्न दिईदैन रे! कहिलेकांही हो जस्तो पनि लाग्छ । हाम्रो जस्तो संवेदनशील मुलुकको शासनमा स्थीरता आयो भने हाम्रो देशलाई खेल मैदान बनाउन मिल्दैन भनेर यस्ता राष्ट्रले सदैव अस्थीरता चाहन्छन् रे। यसरी राजनेतालाई असफल बनाउन सके उनीहरूका गोटीले शासन गर्न पाए भने उनीहरूको स्वार्थ पूरा हुन्छ भन्ने गरिन्छ। हाम्रा नेताको चालामाला र गतिविधि हेर्दा कतै यिनीहरू अरूबाट प्रयोग त भै रहेका छैनन् भन्ने लाग्छ। जनताको अगाडि ठूला ठूला कुरा गर्ने, भन्न पाउदा बिस्तारवाद मुर्दावाद पनि भन्ने, कहिले सुरूंग युद्ध गर्छु भनेर खाल्डा पनि खनिहाल्ने तर सत्ताका लागि उनीहरू संगै लम्पसार पर्ने, कम्फर्टेवल सरकार पनि बनाईदिने प्रवृत्ति घाम जत्तिकै छर्लंग छ।

आजभोली हाम्रो देशको राजनीति एउटा वडा अध्यक्ष सम्म हुने योग्यता नपुगेका नेताले चलाउन खोज्दा हाम्रो देश यो हालतमा पुगेको छ। यसैको विरोध स्वरूप हाल यूवायूवतीहरू जेन जी पुस्ताको नाममा अगाडि आएका छन्।

हो,देश बिग्रनुका पछाडि देशको सत्तामा बस्ने नेताहरू जिम्मेवार हुन्छन्। यी नेताहरूले राजनीतिलाई कमाउने माध्यम नबनाएको भए देशमा यस्तो भ्रष्टाचार पनि हुने थिएन,राजनीतिमा ईमान्दार कार्यकर्ताको सट्टा तस्कर र बिचौलियालाई समावेश नगरेको भए भ्रष्टाचार बढ्ने थिएन, राज्यका अंगहरूलाई राजनीतिकरण नगरिदिएको भए यी असफल हुदा पनि राष्ट्र आफ्नो गतिमा हिड्ने थियो, जनताले सहज रूपमा डेलिभरी पाएको भए सरकारको बिकल्प पनि खोजिने थिएन तर देशलाई यसरी चुस्ने काम भयो कि नयां आउने जो सुकैलाई पनि शून्यबाट आरम्भ गर्नु पर्ने स्थिति बन्यो। यसैले देश यो भन्दा तल जानु हुदैन र जान दिन पनि हुदैन। यसको निम्ति नागरिक समाजको अगुवाईमा देशलाई ट्र्याकमा लैजानुको बिकल्प छैन।

हाम्रा राजनीतिक दल भित्र ईमान्दार र कर्तब्यनिष्ठ कार्यकर्ताहरू छैनन् भन्ने हैन तर यी ईमान्दार कार्यकर्तालाई उनै पुराना नेताले ब्लक गरेर अगाडि बढ्न दिएका छैनन् तर पनि ती दल भित्रका यूवाले आ–आफ्ना दाल भित्र आन्तरिक संघर्ष भने जारी राखेका छन्। यसै बीचमा लामो समय देखि सत्तामा हालीमुहाली गरिरहेका तीन दलका शीर्ष नेताले आफ्नो विकल्प नरहेको कुरा पूनः दोहोर्याएका छन्। मुलुकमा यत्रो धनजनको क्षति हुदा समेत आफ्नो कमजोरी सकार्न यी पुराना दलका नेता तयार छैनन्। यस्तो अबस्थामा यी नै अलोकप्रीय नेतालाई दलको शीर्ष स्थानमा राखेर प्रस्तावित चुनावमा जान यी दलमा रहेका यूवाहरू तयार छैनन्। किनभने यी पुराना नेतालाई पार्टी मै राखेर चुनावमा जादा मतदाताले यी दललाई मत दिदैनन् भन्ने कुरा ती दलका यूवा कार्यकर्तालाई राम्ररी थाहा छ। यस परिस्थिमा यी पार्टीहरू चुनावमा जाने सम्भावना कम छ। यसरी राजनीतिक दल विनाको चुनावले मान्यता नपाउन पनि सक्छ। यस्तो अवस्थामा चुनाव भन्दा अगाडि नै यी आउट डेटेड नेतालाई हटाउन सो दल भित्रका यूवाहरू जुन तवरले लागी परेका छन् त्यसलाई अझै स–शक्तता र निरन्तरता बनाउनु जरूरी छ।
यी पुराना नेतालाई हटाएर बन्ने दलहरूले सुशानका कार्यक्रम सहित चुनावमा सहभागिता जनाउनु पर्छ। यहां यो पनि ढुक्क बनाईनु पर्छ कि पार्टी भित्रका यूवाहरूले अवसर पाएमा पुराना नेताहरूले गरेका गल्तिहरू नयां नेताले दोहोर्याउने छैनन् भनेर यस्तो परिस्थितिमा मात्र जेन जीको माग पूरा हुन सम्भव छ।

प्रकाशित :२०८२ कार्तिक ९, आईतवार १७:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry