झापाका सुधार केन्द्रमा ८०० भन्दा बढी युवा

झापा। लागुऔषधको दुव्र्यसनमा फसेका ८ सय ४५ युवा झापाका विभिन्न सुधार (पुनःस्थापना) केन्द्रमा रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

Advertisement 1

जिल्लामा रहेका २७ वटा पुनःस्थापना केन्द्रमा अहिले ८ सय ४५ जना लागुऔषधको दुव्र्यसनमा फसेका युवा छन्। ती युवालाई अभिभावक आफैँले र प्रहरीले दुव्र्यसनबाट मुक्त गराउन पुनःस्थापना केन्द्रमा राखेका हुन्।

भारतसँगको खुला सीमानाका कारण पछिल्लो समय जिल्लामा लागुऔषध दुव्र्यसनको समस्या भयावह रूपमा देखिएको छ। दिनहुँ प्रहरीले सीमानाका, ठूला बजार र ग्रामीण बस्तीबाट युवालाई लागुपदार्थसहित नियन्त्रणमा लिने गरेको छ।

Advertisement 2

सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँका अनुसार मेचीनगर र विर्तामोडमा ६ वटाका दरले पुनःस्थापना केन्द्र सञ्चालनमा छन् भने शिवसताक्षीमा ४, दमकमा ३, कनकाईमा ३, अर्जुनधारामा २, कमलमा २ र बुद्धशान्तिमा १ पुनःस्थापना केन्द्र रहेका छन्।

विर्तामोडका पुनःस्थापना केन्द्रमा सबैभन्दा बढी दुई सय २३ जना युवा उपचाररत् छन्। मेचीनगरमा एक सय ७८, शिवसताक्षीमा एक सय पाँच, दमकमा ८९, कनकाईमा ८२, कमलमा ७३, अर्जुनधारामा ५५ र बुद्धशान्तिमा ४० जनाले लागुऔषध दुव्र्यसनको मुक्तिका लागि उपचार गराइरहेका छन्।

Advertisement 3

मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित नवयात्रा पुनःस्थापना केन्द्रका सञ्चालक भीमप्रसाद लुइँटेलले केन्द्रमा हाल ३३ जनाको उपचार भइरहेको बताए। समाजले बिग्रियो भनेर बेवास्ता गरेको र परिवारको विश्वास गुमाइसकेको अवस्थामा दुव्र्यसनमा लागेको युवालाई सुधारेर स्वस्थ बनाइ परिवार र समाजमा पुनःस्थापना गर्ने कार्य सहज भने नहुने उनले धारणा राखे।

“राज्यले गर्नुपर्ने काम हामीले गरिरहेका छौँ”, विगत १३ वर्षदेखि पुनःस्थापना अभियानमा सक्रिय लुइँटेलले भने, “सीमावर्ती क्षेत्रमा यो समस्या विकराल भइसकेको छ। राज्यले यो विषयमा गम्भीर हुन ढिला भइरहेको छ।”

पुनःस्थापना केन्द्रहरूले ३ महिने र ६ महिने कोर्स पूरा गर्नेगरी दुव्र्यसनमा लागेका युवाहरूको आवासीय सशुल्क उपचारको व्यवस्था गर्दै आएका छन्। केन्द्रमा आवासीय उपचार गराउन आउने युवालाई दुव्र्यसन छुटाउन दिनहुँ परामर्श कक्षामा सहभागी गराउने, नियमित स्वास्थ्य परीक्षण गराउने र हरेक दिन योग तथा ध्यानसमेत गराउँदै आइएको नवयात्रा पुनःस्थापना केन्द्रका सञ्चालक लुइँटेलले बताए।

प्रकाशित :२०८२ भाद्र ४, बुधबार १२:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry