क्यानडा नेपालको भरपर्दो मित्र होः राजदूत पौड्याल

काठमाडौं। क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले पौड्याल क्यानडा नेपालको भरपर्दो मित्र भएको बताएका छन्।

Advertisement 1

अटवा–क्यानडा नेपाल फोरम फर रिसर्चको आयोजनामा क्यानडामा आयोजित ‘चौथो अटवा रिसर्च कन्फरेन्स’मा राजदूत पौड्यालले क्यानडाले विभिन्न बहुपक्षीय संस्थामार्फत नेपाललाई बर्सेनि ४ करोड डलर बराबरको सहयोग उपलब्ध गराई रहेको जानकारी दिए।

उनले नेपालले बर्सेनि क्यानडाबाट झन्डै रु ७ अर्ब बराबरको सरसामान आयात गरिरहेको र रु १ अर्ब बराबरको निर्यात गरिरहेको समेत उल्लेख गरे। “क्यानडामा नेपालबाट हुने निर्यात बढाउन सकिन्छ, यसमा नेपाली ‘डायस्पोरा’ले थप भूमिका निर्वाह गर्नुपर्छ”, राजदूत पौड्यालले भने।

Advertisement 2

राजदूत पौड्यालले क्यानडामा नेपाली डायस्पोराको सङ्ख्या बढ्दै जाँदा नेपालमा क्यानडाको राजदूतावास स्थापना गर्न क्यानडा सरकारलाई अनुरोध गरिएको बताए।

अर्थशास्त्री डा राम आचार्यले सन् २०१९ देखि सम्मेलन सुरु गरिएको उल्लेख गर्दै कोभिड महामारीका कारण केही समय रोकिएको बताए।

Advertisement 3

त्यस अवसरमा न्यु ब्रन्सविक विश्वविद्यालयका पूर्वप्राध्यापक बासु शर्माले ‘नेपालमा सङ्घीयताका चुनौतीहरू’ विषयक कार्यपत्र प्रस्तुत गर्दै एकता र विविधताबीच सन्तुलन ल्याउन नेपालले सङ्घीय प्रणाली अपनाएको धारणा राखे।

२ दिने सम्मेलनले अटवा विश्वविद्यालयमा प्राध्यापनरत डा भानुभक्त आचार्यको अध्यक्षतामा क्यानडा नेपाल फोरम फर रिसर्च (क्यानेफोर) को नयाँ कार्यसमिति पनि चयन गरेको छ।

कार्यसमितिको उपाध्यक्षमा डा दिनेश गजुरेल, बोर्ड निर्देशकमा डा शिवहरि गौतम, डा अनुप बस्नेत, डा होमनाथ घर्ती र इन्जिनियर सुवास पौडेल निर्वाचित भएका छन्। कार्यसमितिको सचिवमा कुसुम शर्मा, कोषाध्यक्षमा अम्बिका पौडेल र प्रविधि अधिकृतमा सौगात श्रेष्ठ निर्वाचित भए। दीपेन्द्र कुँवर विद्यार्थी सम्पर्क अधिकृतमा मनोनयन भएका छन्।

प्रकाशित :२०८२ भाद्र २, सोमबार १६:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry