भारतबाट बेलायत जाँदै गरेको २४२ यात्रु सवार विमान दुर्घटना, कुन देशका कति जना सवार?

काठमाडौं। भारतको पश्चिमी सहर अहमदाबादमा बिहीबार लन्डन जाने यात्रु विमान दुर्घटना भएको छ। विमानमा दुई सय ४२ यात्रु सवार रहेको उड्डयन अधिकारीहरूले बताएका छन्।
एयरलाइन्सले यसलाई ‘दुःखद दुर्घटना’ भनेको छ। लन्डन ग्याटविकका लागि उडेको एयर इन्डियाको फ्लाइट १७१, बोइङ ७८७–८ ड्रिमलाइनर उडानको केही समयपछि दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन्।
भारतका उड्डयनमन्त्रीले अहमदाबादमा भएको दुर्घटनाबाट आफू ‘स्तब्ध र विक्षिप्त’ भएको बताए। एएफपीका पत्रकारले विमानस्थनमा कालो धुवाँको बाक्लो मुस्लो देखे।
भारतको नागरिक उड्डयन प्राधिकरणले जहाजमा दुई पाइलट र १० चालक दलका सदस्यसहित २४२ जना सवार रहेका जानकारी दिएको छ। विमानमा एक सय ६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगाली र १ क्यानाडाका रहेका एयर इन्डियाले जनाएको छ।
एयर इन्डियाको विमानले मेडे कल जारी गरेको र ‘उडानपछि तुरुन्तै दुर्घटनाग्रस्त भएको’ नागरिक उड्डयन महानिर्देशनालयले बताएको छ। विमानस्थलको परिधि बाहिर विमान दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
भारतको गुजरात राज्यको मुख्य सहर अहमदाबादमा करिब ८० लाख मानिस बस्छन् र व्यस्त विमानस्थल घना खचाखच भरिएका आवासीय क्षेत्रहरूले घेरिएको छ।
उड्डयनमन्त्री राम मोहन नायडू किन्जारापुले ‘सबै उड्डयन र आपत्कालीन प्रतिक्रिया एजेन्सीहरूलाई द्रुत र समन्वित कारबाही गर्न’ निर्देशन दिएका छन्। उद्धार टोली परिचालन गरिएको तथा घटनास्थलमा चिकित्सा सहायता र राहत सहयोग पु¥याउन सबै प्रयास भइरहेको बताएका छन्। ‘अहमदाबादबाट लन्डन ग्याटविकका लागि उडेको एयर इन्डियाको फ्लाइट १७१ आज एउटा दुःखद दुर्घटनामा परेको गहिरो दुःखका साथ म पुष्टि गर्दछु,’ एयर इन्डियाका अध्यक्ष नटराजन चन्द्रशेखरनले भने, ‘हाम्रो विचार र गहिरो समवेदना यस विनाशकारी घटनाबाट प्रभावित सबैका परिवार र प्रियजनहरूसँग छ।’एउटा आपत्कालीन केन्द्र सक्रिय गरिएको र जानकारी खोज्ने परिवारहरूका लागि सहायता टोली गठन गरिएको उनले बताएका छन्।
भारतले घातक हवाई दुर्घटनाहरूको श्रृखलाको सामना गरेको छ। यसमा सन् १९९६ को दुर्घटना पनि समावेश छ। त्यसबेला दुई जेट नयाँदिल्लीमाथि हावामा ठोक्किएर करिब तीन सय ५० जनाको ज्यान गएको थियो।
सन् २०१० मा दक्षिण पश्चिम भारतको मंलोर विमानस्थलमा एयर इन्डिया एक्सप्रेसको जेट दुर्घटना भएर आगो लागेको थियो। उक्त दुर्घटनामा एक सय ६६ यात्रु र चालक दलका सदस्यमध्ये एक सय ५८ जनाको मृत्यु भएको थियो।
सन् १९८५ जुनमा मन्ट्रियलबाट लन्डन उडेको एयर इन्डिया बोइङ ७४७ आयरल्यान्डको समुद्रमा दुर्घटनाग्रस्त भएको थियो। विमानमा तीन सय २९ जना यात्रु सवारको मृत्यु भएको थियो।
प्रकाशित :२०८२ जेष्ठ ३०, बिहीबार १६:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry