आमा समय फर्काउन त

तिम्रो बहादुर छोराले
जीवन आहुती दियो रे भनेको सुन्दा
आकाश चौडा भए जस्तो लाग्यो
धरती मुस्कुराए जस्तो लाग्यो
तिम्रो बहादुर छोरो
तिमीले गुमाउँदा
तिम्रो रित्तो काख भरी
सायदै तिम्रो बात्सल्य छचल्कि रह्यो
आमा, तिम्रो रुवाई हृदयविदारक नबनाउ
बलिन्द्र धारा आँसु बगाएर
आँसु लाई उर्जामा बदलि देउ
आँसुले मुक्ति मिल्दैन त ।

Advertisement 1

यस बेला समय प्रताडित बनाइएको छ
अनायसै समय गुमेर गयो
गुमेको समय फर्काउने जिम्मा
तिम्रो छोराले
हामीलाई नासो छोडेर गएको छ
समय फर्काउन त आमा
तरबारका धारहरुमा पाइतालाले टेक्नु पर्छ
निर्जन रातहरु संग पौठेजोरी खेल्नु पर्छ
नढाँटि भनुँ आमा
फेरि पनि बहादुर छोराहरुले जीवन आहुती दिनु पर्छ ।

तिनीहरु त व्वाँसा जस्तै छन
सधै खुन पिएर बाँच्ने
व्वाँसाहरु निष्ठुर हुन्छन
तिम्रो आँसुले
तिनीहरुलाई कहिल्यै पगाल्न सकिदैन
तिम्रो बिलौनाले
तिनीहरुलाई कहिल्यै गलाउन सकिदैन ।

Advertisement 2

आमा
तिनीहरुको सवारी
हेलीप्याडमा भै रहेछ
तिम्रो बहादुर छोराको लाश किन्न
नकच्चराहरु लाशको दाम तोक्छन
आमा पीडाले छट्पटाउँदै
तिनीहरुलाई घृणाले थुक्छिन ।

दाम तिरेर मान्छे किन्न पाए
दाम तोक महोदय
म पनि किन्नेछु तिमीहरुलाई
र राख्ने छु शोकेसमा
वर्षौ सम्म सजाएर ।

Advertisement 3

आमा, मान्छे किन बेच गर्न सकिन्छ र ?
तिनीहरु त राक्षस जस्ता छन
मान्छेहरुको किन बेच गर्दै
काँचो मासु चपाइ बस्छन
तिनीहरु क्रुर छन
तिम्रो हाँसो खोसेर
तिमीलाई चितामा होम्ने
दुष्प्रयत्न गर्छन
तिमी दावानल बन
तिनिहरुलाई भष्म पार्ने गरी ।

अझै तिमी रोइरहेकी छ्यौ भनेको सुन्दा
गला अवरुद्ध हुन्छ
तिम्रो बहादुर छोरो
तिम्रो काखबाट गुमेको सुन्दा
मृत्यु नजिकै चिच्याइरहे जस्तो लाग्छ
आमा
मैले कठोरतापूर्वक भन्नै पर्छ
तिम्रो सपुतको मृत्यु ऐतिहासिक क्षण बन्यो होला
मृत्यु स्वभाविक छैन
मृत्यु अस्वभाविक भए पनि
कहिले /कहिले
बाँच्नको लागि मृत्यु रोज्नै पर्ने हुन्छ
समय फर्काउन त आमा
इतिहास रगतले पोतिनु पर्छ
इतिहास रगतले लेखिनु पर्छ
अध्याँरा रातहरु भाँच्चिएर
रक्तिम बिहानी उदाउनु पर्छ ।

(सन्दर्भ: मनोज जोशीको हत्या प्रकरण )

प्रकाशित :२०८२ श्रावण ३०, शुक्रबार १६:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry