मुक्ति युद्ध 

अक्सर कवि कविता लेख्छ
विद्रोहको
चेतनाको
परिवर्तन र क्रान्तिको
म कविको हितैषी हुँ
उसको कविता अन्यायले थलिएको छ
न्याय प्राप्तिको लडाइमा
उ लडिरहेछ दुश्मन संग
अथकित योद्धा जस्तो।

Advertisement 1

बन्दुक बोक्नेहरु उ संग तर्सन्छन
कलमको धार इस्पातिलो भए पछि
जब कलम कैची चलाउँछ
तब कटिनेछन बादशाहका तासका महलहरु
फुट्नेछन पानीका फोकाहरु
अनि ढल्ने छन
राज महलको पटाङ्गिनीमा
दाना खाएका कठपुतलीहरु।

म स्वार्थले जल्न खोज्छु
उ स्वाभिमानको कथा हाल्छ
म क्रान्तिबाट टाढिन खोज्छु
उ मुक्तिको गीत गाउँछ
उ मेरो मार्ग दर्शक हो
सत्मार्गमा हिडाउँने
उसले मेरो दुःख पिएको छ
नत्र म जीवनबाट भागेर मरि सक्थे।

Advertisement 2

उसको अदम्य साहस देखेर
धरती मुस्कुराउँछ
आकाश झुक्छ
उ धरती पुत्र हो
उ मुक्त आकाशको कविता लेख्छ।

उसले आँसु पिएको छ
उसले विभत्स जिन्दगी जिएको छ
उ दुःखियाको साथी हो
उसले दुःखकै कथा लेखेको छ।

Advertisement 3

उ हण्डी खाँदैन
उ तक्मा थाप्दैन
उसलाई देश घाती घोषित गर्दै
उसको टाउकाको मूल्य तोकिन्छ
हण्डी खानेहरु भ्रम पालेर बाँच्छन
उ भ्रम चिरेर बाँच्छ।

उ गाउँदैन प्रशश्ति
उ गाउँदैन भजन
प्रशश्ति गाउँनेहरु
भजन गाउँनेहरु
उसको जीवन शैलीको खिल्ली उडाउँछन
उ तिनीहरुलाई भाटको पगरी गुताउँदै
गद्धार घोषणा गर्छ।

अक्सर कवि कविता लेख्छ
न्यायको
समानता र मुक्ति युद्धको।

प्रकाशित :२०८३ जेष्ठ २१, बिहीबार १०:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry