कविता: विरासत

फूल ओइलिए पछि
माली निराश बन्छ
सूर्योदयमै ग्रहण लागे पछि
दिन निस्पट्ट बन्छ
पूर्णेका सतहरु सुरक्षित छैनन
जूनलाई ग्रहणले निले पछि ।

Advertisement 1

आँगनीमा पाठाहरु नाच्दैनन
बाहामा परेवाहरु घुर्दैनन
रुप्पीहरुको कल्याङकुलुङ छैन
गौथली चिरविराउँदैन
कोइली कराउँदैन
म निराश जस्तै छु
मलाई सन्नाटा मन पर्दैन ।

ढिकी कुट्नेहरु सिलोक हाल्छन
जाँतो पिध्नेहरु भजन गाउँछन
हली हलो जोत्छ
म आली लाउँछु
एउटा दिनले लत्याएर जान्छ
चराहरुको चिरविर नसुने झै गरी ।

Advertisement 2

म हाँसेको छैन
एका एक खुशी खोसिए पछि
मलाई होच्च्याइएको छ
म हेपिएको छु
मेरो जिजीविषा कोट्याएर
मलाई जिउँनै नजान्ने बनाइएको छ
म चाहन्छु
घृणा र दम्भ हट्नु पर्छ
मानवता नरुवाउ
मानवता विरोधि तिम्रो हर्कत
मलाई सह्य छैन
म सुन्दर भविष्यको खोजिमा छु
मलाई आततायी वर्तमान चाहिदैन ।

तिम्रो भूस्वर्ग
तिमी नै लैजाउ
मलाई झोपडी नै प्यारो छ
म पसिना बगाएर
परिवर्तन चाहान्छु
तिमी पसिना लुटेर
सामन्त्याई प्रदर्शन गर्र्छाै ।

Advertisement 3

तिम्रो मालिक अन्धो छ
सधै हरियो देख्छ
तिमीलाई जुठो पूरो चटाई
घाँसमा भुल्याउँछ
जब सम्म तिमी जदौ हजुर भन्छौ
तब सम्म उसको सत्ता जोगिने छ ।

मलाई तिम्रो सत्ता स्वीकार्य छैन
म निमुखाको आवाज हुँ
म आगो भएर बल्न सक्छु
तिमीलाई सिंहासनबाट थुतेर
सडकमा पछार्न सक्छु
जब पछारिन्छौ सडकमा तिमी
तिम्रा विरुद्ध उठने छन
तिम्रा आफ्नै कठपुतलीहरु
म विजयोत्सव मनाउँला
तिम्रो विरासत गुमे पछि ।

प्रकाशित :२०८२ पुष १७, बिहीबार ११:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry