घरघरमा नबिल बैंक

सन्तोष भुसाल
काठमाडौं। गत जेठमा नबिल बैंकले एसिया–प्रशान्त क्षेत्रका लागि ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ प्रदान ग र्यो। बैंकिङ क्षेत्रमा नवप्रवर्तन, डिजिटल चुस्तता र नेतृत्व क्षमताका आधारमा दिइने यो पुरस्कार अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा प्रतिष्ठित मानिने गरेको छ। विश्वप्रसिद्ध फाइनान्सियल टाइम्स समूहअन्तर्गतको द बैंकर्सले प्रदान गर्ने यो अवार्ड नबिल बैंकले अपनाएको प्रविधिमैत्री सोच, दृष्टिकोण र ग्राहकको अनुभवमा ल्याएको डिजिटल क्रान्तिमा गरेको कामको मूल्यांकनका आधारमा प्रदान गरिएको हो।
Advertisement 1
नबिल बैंकका तत्कालिन कामु प्रमुख कार्यकारी अधिकृत तथा हालका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले यो अवार्डले बैंकको सेवालाई अझ प्रविधिमैत्री तथा ग्राहकमैत्री बनाउन प्रोत्साहन मिलेको बताएका थिए। बैंकले पछिल्लो समय डिजिटल सेवालाई प्राथमिकतामा राख्दै दिगोपनामा पनि जोड दिएको छ। कागजी प्रक्रियालाई हटाउँदै, डिजिटल माध्यममार्फत सहज, छरितो र पारदर्शी सेवा दिने बैंकको प्रयासलाई उक्त अवार्ड प्रदान गरिएको हो। नबिल बैंक लिमिटेड नेपालको एक अग्रणी वाणिज्य बैंक मानिन्छ। जसले नेपालको बैंकिङ क्षेत्रमा महत्वपूर्ण योगदान दिएको छ। नेपालमा पहिलो विदेशी संयुक्त लगानीमा स्थापित बैंकको रूपमा नबिल बैंकले आफ्नो छुट्टै पहिचान बनाइसकेको छ।

Advertisement 2
सन् १९८४ को जुलाई १२ मा स्थापना भएको नबिल बैंक आधुनिक बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले स्थापित पहिलो निजी बैंक मानिन्छ। बैंकका देशभर २६६ भन्दा बढी शाखाहरू रहेका छन् भने ३१७ वटा एटीएमहरू मार्फत सेवा प्रदान गरिरहेको छ। विश्वभर १७० भन्दा बढी सम्बद्ध बैंकहरूसँग सम्पर्क कायम राख्न बैंक सफल भएको छ। नबिल बैंकले विभिन्न प्रकारका वित्तीय सेवाहरू प्रदान गर्दै आएको छ। खाता सञ्चालन, ऋण सुविधा, रेमिट्यान्स, क्रेडिट कार्ड, डिजिटल बैंकिङ, र लगानी बैंकिङ समावेश रहेका छन्। यसको डिजिटल बैंकिङ प्लेटफर्म, ’एनबैंक’ (nBank), ले ग्राहकहरूलाई घरमै बसेर बैंकिङ सेवाहरू प्राप्त गर्ने सुविधा प्रदान गरेको बैंकको दाबी छ।
नबिल बैंकले व्यक्तिगत र व्यावसायिक ग्राहकहरूका लागि विभिन्न प्रकारका बचत खाता, मुद्दती खाता, र ऋण सुविधाहरू उपलब्ध गराउँदै आएको छ। रेमिट्यान्स सेवामार्फत विदेशमा रहेका नेपालीहरूले सजिलै पैसा पठाउन सक्छन्, जसले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको छ। बैंकले नेपालको बैंकिङ क्षेत्रमा मात्र नभई समग्र अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। साना तथा मझौला उद्यमीहरूलाई वित्तीय सहयोग प्रदान गरी रोजगारी सिर्जना र आर्थिक विकासमा सहयोग गरेको कुरा सर्वविदितै छ।
Advertisement 3

बैंकले केवल देशको अर्थतन्त्रमा नभइ सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्य गर्दै आएको छ। ’नबिल सस्टेनेबल बैंकिङ’ कार्यक्रम यसको अर्को उदाहरण हो। बैंकले दिगो विकास र वातावरण संरक्षणमा जोड दिँदै आएको छ। यो कार्यक्रम पनि सञ्चालनमा आएको वर्षौँ भइसकेको छ। बैंकको विशाल सञ्जाल, डिजिटल बैंकिङ, अन्तर्राष्ट्रिय सम्पर्क, ग्राहकमैत्री सेवा र सामाजिक उत्तरदायित्व बहन बैंकको विशेषताहरू रहेका छन्।













