असल शासनका लागि सकारात्मक संगठनात्मक संस्कृति र प्रभाव

संगठनात्मक कार्यसंस्कृति संस्थामा कार्यरत व्यक्तिहरूको साझा मूल्य, विश्वास, मान्यताहरू, आचरण र कार्य शैलीहरूको समुच्चय हो। यसले संस्थाको आन्तरिक वातावरण, कर्मचारीहरूको आपसी सम्बन्ध र कार्य गर्ने तरिकामा ठूलो प्रभाव पार्दछ। संगठनात्मक कार्यसंस्कृति संस्थाको लक्ष्य र उद्देश्य प्राप्त गर्नका लागि मार्गनिर्देशन गर्ने एक महत्वपूर्ण तत्व हो।
Advertisement 1
संगठन बहुसंस्कृतिको संगम हो। संगठनात्मक संस्कृतिमा नै संगठनको प्रभावकारिता र सक्षमता निर्भर गर्दछ। संगठनात्मक समस्याहरूको व्यवस्थापन समाधान गर्ने तत्व संगठनात्मक संस्कृति हो। संगठनात्मक संस्कृति एउटा अमूल्य सम्पति हो। संगठनात्मक संस्कृति मार्फ नै संगठनमा गतिशिलता ल्याई सुशासन कायम गर्न सकिन्छ। लामो समय व्यतित गरेका सबै प्रकारका संगठनहरुमा आफ्नै पहिचान झल्कने किसिमको संगठनात्मक संस्कृति विकास हुँदै गएको हुन्छ। संगठनात्मक संस्कृति र संरचना सधै स्थिर हुँदैन। यो समय र वातावरणअनुरूप परिवर्तन हुँदै जान्छ।संस्कार तथा संस्कृतिले व्यक्ति, परिवार, समूह, संगठन, समाज, राष्ट्र सबैमा प्रभाव पारेको हुन्छ। व्यवस्थापनका सिद्धान्तहरुले पद्धति र प्रक्रियालाई बढि जोड दिने गरेको पाइएता पनि पछिल्लो समयमा संगठनात्मक संस्कृति र त्यसले संस्थाको कार्यसम्पादन र प्रतिष्ठामा पार्ने प्रभावलाई बढी महत्वका साथ हेर्ने गरेको पाईन्छ।संगठनात्मक कार्यसंस्कृति संस्थामा काम गर्ने व्यक्तिहरूलाई मार्गदर्शन गर्न, संचारलाई प्रवर्द्धन गर्न मद्दत गर्छ। यसले कर्मचारीहरूको प्रेरणा र उत्पादकत्वमा पनि ठूलो भूमिका खेल्छ। एक सकारात्मक कार्यसंस्कृतिले कर्मचारीहरूलाई जिम्मेवार, उत्साही र दक्ष बनाउँछ, जसले संस्थाको समग्र प्रगति र सफलता सुनिश्चित गर्दछ।
सकारात्मक कार्यसंस्कृतिमा सहयोग, इमानदारी, पारदर्शिता, र सम्मानको वातावरण हुने गर्दछ। यसले कर्मचारीहरूलाई व्यक्तिगत र व्यावसायिक विकासको अवसर दिन्छ, जसबाट तिनीहरूको कार्यसन्तुष्टि र समर्पण बढ्छ। अर्को तर्फ, नकरात्मक कार्यसंस्कृति संघर्ष, असन्तोष र कर्मचारीहरूको पलायन र तनावको कारण बन्न सक्छ। संगठनात्मक कार्यसंस्कृतिका केही महत्त्वपूर्ण पहलहरूमा नेतृत्व शैली, निर्णय प्रक्रिया, आन्तरिक संचार प्रणाली, मानवीय संसाधन नीतिहरू र कार्यस्थलको वातावरण समावेश हुन्छन्। एक राम्रो कार्यसंस्कृतिमा कर्मचारीहरूको विचार र प्रस्तावको कदर गरिन्छ र संस्थाले उनीहरूको कल्याण र विकासको लागि प्रोत्साहन दिन्छ।संगठनात्मक कार्यसंस्कृति संस्थाको प्रभावशाली सञ्चालन र दीर्घकालीन सफलता सुनिश्चित गर्न अत्यन्त महत्वपूर्ण भूमिका खेल्दछ।
Advertisement 2
संस्कृति मानवीय जीवन पद्धति हो जसले व्यक्तिको सोच, आचरण, परम्परा, मूल्य र विश्वासलाई आकार दिन्छ। यसमा भाषिका, कला, धर्म, सामाजिक व्यवहार, खाना पकाउने तरिका, पोशाक र जीवन शैलीका विभिन्न पक्षहरू समावेश छन्। संस्कृति समाजको मौलिक आधार हो जसले व्यक्तिहरूसँग सम्बन्ध स्थापित गर्छ र सामाजिक एकता बनाइराख्छ। यसले मानिसलाई सामाजिक जिम्मेवारी र नैतिक मूल्य सिकाउँछ, जसबाट समाजमा सहयोग र सहिष्णुता बढ्छ। संस्कृति समाजका प्रत्येक सदस्यको जीवनको विविधतामा समृद्धि ल्याउने माध्यम हो, जसले जीवनलाई अर्थपूर्ण र समृद्ध बनाउँछ। संस्कृति समयसँग बदलिँदछ, तर यसको महत्त्व सधैं कायम रहन्छ।यो लामो समयदेखि चल्दै आएको चलन, रितिरिवाज, मानसिक विकास, परम्परा हो। व्यक्ति वा समुदाय वा समाजमा प्रचलित विचार, व्यवहार, मूल्यमान्यता, विश्वास, आस्था, सोचाइ, चालचलन, चाँडबाँड, खानपान, पूजाआजा, कलासंगीत, भाषासाहित्य, रहनसहनलाई संस्कृति भनिन्छ।संस्कृति एकअर्कामा बाँडिन्छ, समुदायमा अवलम्बन गरिन्छ।संस्कृति एकीकृत अर्थात् एकअर्कामा अन्तरनिर्भर र अन्तरसहयोगी हुने गर्दछ। संस्कृति गतिशील हुन्छ। संस्कृति लामो समयदेखि चलिआएको धारणा, व्यवहार, प्रकृति, विश्वास, मूल्यमान्यता हो। यो व्यक्ति वा समूहलाई एक अर्काबाट फरक दर्शाउने गरी विकसित भएको स्थिति हो।संगठनात्मक संस्कृति संगठनात्मक व्यवहारमा प्रदर्शित हुनाले यसले कर्मचारीको व्यवहारलाई मार्गनिर्देशन गर्दछ।
संगठनका व्यक्तिहरूले साझा रूपमा अवलम्बन गरेका व्यवहार, प्रवृत्ति, मूल्यमान्यता,धारणा, आस्था विश्वासलाई संगठनको संस्कृति भनिन्छ। व्यक्तिको पहिचान उसको व्यक्तित्व हो भने संगठनको पहिचान संगठनात्मक संस्कृति हो। संगठनात्मक संस्कृति कर्मचारीले बुझेको, विश्वास गरेको र अपनाएको साझा पद्धति हो।संगठनात्मक संस्कृतिले नागरिक र सेवाग्राहीको समाजमा संगठनलाई चिनाउँछ। कर्मचारीलाई संगठनको हितानुकूल बोल्ने, काम गर्ने र जिम्मेवारी लिने बनाउँछ। संगठनका कर्मचारीहरूलाई ज्ञानार्जन, क्षमता विकास र सोको कार्यसम्पादनमा उपयोग गर्न सघाउँछ, उत्प्रेरण दिन्छ। परिणामतः उनीहरू संगठनमा टिकिरहन्छन्। संगठनात्मक संस्कृतिले पूरा संगठनलाई लक्ष्य हासिल गर्नका लागि संगठनमा भएको सम्पूर्ण जनशक्तिलाई टिममा रूपान्तरण गर्दछ भने कर्मचारीको कार्यसम्पादन स्तर बढाइ संगठनलाई परिणाम प्राप्त गर्न क्रियाशील पनि बनाउँछ। यो एउटा यस्तो क्रियाशिल तत्व हो, जूनसुक्ष्म तवरबाट एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जान्छ।यसले संगठनको मान्यता, मूल्य, प्रथा, अभ्यास, मनोवृत्ति र अनुभवहरू समावेश गर्दछ। यस संस्कृतिको उद्देश्य समूहका सदस्यहरू एकअर्का र बाहिरी संसारसँग कसरी सम्बन्ध राख्ने अपेक्षा गरिन्छ भनेर निर्दिष्ट गर्नु हो।
Advertisement 3
कुनैपनि व्यक्ति, समूह तथा संगठनले कस्तो सोच लिन्छ रु सोहि सोच अनुसार उसले व्यवहार देखाउँछ। त्यहि व्यवहार पटक पटक गरिरहँदा बानीमा परिणत हुन्छ। सधैं प्रयोगमा उसको त्यो बानी अन्तमा संस्कारमा रुपान्तरण बन्न पुग्दछ। त्यही संस्कार एकबाट अर्को व्यक्ति परिवार, पुस्ता, वर्ग, समुहमा सर्दै जान्छ। त्यसैले संस्कार र संस्कृति कस्तो बनाउने भन्दा पनि सोच कस्तो लिने भन्ने महत्वपूर्ण विषय हो।संगठनात्मक संस्कृति आन्तरिक र बाह्य तत्वहरुद्वारा विकास भएको हुन्छ। आन्तरिक तत्वको रुपमा सामान्यतया संगठनात्मक संस्कृति अन्तर्गत संगठनका सदस्यले बोल्ने भाषा, सोच, व्यवहार, कार्यस्थान, कर्मचारीहरुबीचको सम्बन्ध र समन्वय, विद्यमान सूचना प्रणाली र यसको उपयोग, कार्यालयलाई प्रदान गर्ने समय, सरोकारवालाहरुप्रति गरिने व्यवहार, चाप्लूसी र चाकडी, जस्ता पक्षहरु समावेश भएका हुन्छन् त्यसैगरी बाह्रय तत्वको रुपमा संगठनात्मक सँस्कृतिलाई प्रभाव पार्ने पक्षहरुमा संगठनको संरचना, नियन्त्रण प्रक्रिया, रितिरिवाज, हावापानी, संगठनको इतिहास, कानूनी हैसियत, राजनीतिक अवस्था, आर्थिक अवस्था आदि रहेका हुन्छन्।संगठनको उच्च तहमा आसिन कर्मचारीहरु उक्त संगठनको महत्वपूर्ण सम्पतिको रुपमा रहेका हुन्छन्। निजहरुले सम्हालेको पद, जिम्मेवारी तथा तहले निजले संगठनकालागि खेल्न सक्ने भूमिकाको स्तर निक्र्यौल गर्न सकिन्छ। व्यक्तिहरुमा वौदिक तिक्षणता, व्यवस्थापकिय कार्यकुशलता, काम सम्बन्धि विषयको ज्ञान, सिर्जनशिलता, व्यवस्थापकिय कार्यकुशलता, सिक्ने उत्सुकता, सकारात्मक सोच, स्व–निर्णय गर्ने क्षमता तथा चाप्लुसहरुको व्यवहारलाई अध्ययन गरी सत्यतथ्य जान्ने क्षमता हुनु अत्यन्त आवश्यक हुन्छ।
रबर्ट क्विन र किम क्यामरुनले चार प्रकारका संगठनात्मक संस्कृतिहरूको चर्चा गरेका छन्स् कुलगत, तदर्थतन्त्र, बजारी र पदसोपान संस्कृतिहरू। यी संस्कृतिहरू संगठनको संरचना र कार्यशैलीलाई परिभाषित गर्छन्।
ज्ञ। कुलगत संस्कृतिः यो संस्कृति सँगै काम गर्ने, सिकाउने र समन्वय गर्ने वातावरणमा आधारित छ। यसमा संगठनको प्रत्येक सदस्य बीच सहकार्य र परस्पर समर्थन प्रोत्साहित गरिन्छ।
द्द। तदर्थतन्त्र संस्कृतिः यो संस्कृति गतिशील, उद्यमी र जोखिम लिनेलगायत नयाँ सिर्जनाको सँगसँगै प्रोत्साहन गर्दछ। यसले नयाँ विचार र योजनाहरूको अन्वेषणमा मद्दत पुर्याउँछ।
घ। बजारी संस्कृतिः यो संस्कृति प्रतिस्पर्धा र परिणाममुखी हुन्छ। यसमा संगठनको ध्यान बजार र ग्राहकको माग पूरा गर्न र प्रतिस्पर्धामा अगाडि बढ्नमा केन्द्रित हुन्छ।
द्ध। पदसोपान संस्कृतिः यो संस्कृति स्थिरता, अनुशासन र प्रक्रियाहरूको पालना गर्नेमा आधारित हुन्छ। यसमा संगठनको प्रभावकारिता र सञ्चालन प्रक्रिया विशेष ध्यान दिन्छ।
संगठनात्मक संस्कृतिको प्रभाव संगठनका आन्तरिक र बाह्य परिवेशसँग मिल्दो हुन्छ। कुलगत र तदर्थतन्त्र संस्कृतिहरू बढी लचकदार र अनुकूल हुने गर्दछन् भने बजारी र पदसोपान संस्कृतिहरू स्थिर र प्रक्रिया(केन्द्रित हुन्छन्। यी संस्कृतिहरूमा सुधार आवश्यक छ ताकि संगठन उत्पादनशील र प्रभावकारी बन्न सकोस्। आधुनिक संगठनहरूको संस्कृति परिणाममुखी, जनमुखी र प्रतिस्पर्धात्मक स्वभावको हुन्छ। संगठनात्मक संस्कृति परिवर्तनका लागि नेतृत्वको भूमिका महत्वपूर्ण छ, र यसमा नेतृत्वको इच्छाशक्ति र रणनीतिक दृष्टिकोणको आवश्यकता पर्छ।
प्रशासनिक संगठनहरुमा काम गर्न रुचाउने, काम गर्न हाकिमको निर्देशन पर्खने, हाकिमसँग राय बझाउन नचाअने, पदानुक्रमलाई आदर गर्ने, आलोचना सुन्न नचाहने र समन्वय गर्न नरुचाउने, काम भए पनि नभए पनि व्यस्त भएको देखाउन चाहने, आफूले निर्णय गर्दा अरूलाई सहभागी गराउन नचाहने, बहुसांस्कृतिक परम्परालाई सम्मान गर्ने, अधिकार प्रत्यायोजन नगर्ने, उत्तरदायित्व र जिम्मेवारी पन्छाउने,सेवाग्राही नागरिक वा ग्राहकसँग अन्तरक्रिया गर्न नरुचाउन, नयाँ शैली विधि प्रयोगलाई साथ नदिने अर्थात् यथास्थितिमा काम गर्न मन पराउने,टीमवर्क गर्न नरुचाउने, सूचना सेयर गर्न नचाहने, बन्द प्रणालीमा काम गर्न सहज मान्ने, समय पालना गर्न उदासीन हुने, भइरहेको कार्यविधिमा काम गर्न रुचाउने, नियम पालना र प्रक्रिया पूरा गर्न चाहने, ढिलो गरी निर्णय लिने, निर्णय गर्दा जोखिम उठाउन नचाहने, नीति निर्माण प्रक्रियामा सहभागी हुन पाउँदा रमाउने अर्थात् राजनीतिज्ञसँग नगिच हुन रुचाउने, परिणाममुखीभन्दा प्रक्रियामुखी, नागरिकमुखीभन्दा हाकिममुखी, नयाँ कार्यशैली वा नवीन प्रविधिको प्रयोग गरेर कार्य सम्पन्न गर्न अगाडि नसर्ने, केन्द्रीकरणमुखी, पारदर्शी बन्न हिच्किचाउने, फायल घुमाइघुमाइ पनि प्रक्रिया पु¥याउने र जनताका पीरमर्कालाई आफ्नो जस्तो मान्न नसक्ने असंवेदनशील लगायतका सांस्कृतिक चरित्रहरु रहेका छन।
संगठनले कर्मचारीलाई खुसी बनाएको खण्डमा मात्रै सेवाग्राहीलाई खुसी बनाउन सकिन्छ भन्ने विश्वासलाई बलियो बनाउनु अत्यन्त महत्वपूर्ण छ। यसले संगठनको समग्र प्रदर्शन र प्रभावकारिता सुधार गर्न मद्दत पुर्याउँछ। कर्मचारीहरूको खुशी र सन्तुष्टिको मुख्य आधार भनेको उनीहरूको क्षमता र परिवर्तनको तयारी हो। निरन्तर प्रशिक्षण र प्रोत्साहनका माध्यमबाट कर्मचारीलाई सक्षम र लचिलो बनाउनु आवश्यक छ, ताकि उनीहरूले संगठनका नयाँ चुनौतीहरूको सामना गर्न सकून्।सार्वजनिक प्रशासनको मुख्य जिम्मेवारी भनेको अधिकार र स्रोतसाधनको उपयुक्त प्रयोगमा पारदर्शिता र उत्तरदायित्व कायम गर्नु हो। निजामती सेवाले जनताको हितमा उत्कृष्ट कार्य गर्नका लागि सकारात्मक र उत्कृष्ट संस्कृतिको विकास गर्न आवश्यक छ। संगठनात्मक संस्कृतिलाई जिम्मेवारी, उत्तरदायित्व र नतिजा प्राप्ति संग जोडेर, यसलाई संस्थाको ब्रान्ड मूल्यसँग जोड्नुपर्दछ।
अन्त्मा, संगठनात्मक संस्कृतिमा परिवर्तनका लागि कर्मचारीहरूको सोच र व्यवहारलाई बदल्नु आवश्यक छ। यसको लागि प्रभावकारी नेतृत्व र योजनाबद्ध परिवर्तन रणनीतिहरूको आवश्यकता पर्छ। सार्वजनिक संगठनहरूले नयाँ जिम्मेवारी र चुनौतीहरूलाई सामना गर्नका लागि आफ्नी संस्कृति गतिशील र अनुकूलनशील बनाउनुपर्छ, जसले संगठनलाई समय र परिस्थितिको अनुसार अनुकूलन गर्न मद्दत पुर्याउँछ। यसरी, सकारात्मक र उत्तरदायित्वपूर्ण संस्कृति निर्माण गर्दा संगठन सार्वजनिक सेवामा उत्कृष्टता र प्रभावकारिता प्राप्त गर्न सक्षम हुन्छ।
(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन्।)