हितैषी
साँझको आठ बजे । पुस महिनाको ठण्डी । थापाथली दरबारभन्दा पर बाटोमा दुई जना बिकटे जाडोले काट्ठिएर लगलग काँपिरहेछन् । एउटा बिकटेले कालो दौराको फेरोले नाक पुछ्दै भन्यो – ए सेते ! जङ्गे कउँर राजा भयो तैंले के पाइस ?
Advertisement 1
सेते – जो जित्या तेइ राजा ! म अभागी क्या पाऊँ ?
ज्या पाउने हो जङ्गेले पायो । म त फत्तेजङ्ग चौताराको पालाको बिकटे , सधैको बिकटे । जङ्गेको पालामा भर्ती भयाको बिकटे कप्तान भयो ।
Advertisement 2
पर बाटोमा एकजना जाँड खाएको मानिस करायो । संसाँझै निर्जन हुने बाटोमा एक्लो धनबिरे नेपालको राजा जङ्गे जङ्गेको राजा म भन्दै चिच्च्यायो । बिकटे धनबिरेको नजिकै गएर भन्यो – हल्ट !
धनबिरे – क्याको हल्ट ?
उसले काँधमा झुन्ड्याएको बाँसको ढुङ्ग्रो देखाउँदै भन्यो – खान्या हो ?
बिकटे – क्याको हो ?
धनबिरे – कोदोको ।
Advertisement 3
यत्तिकैमा एकजना घोडचढी सुबेदार गस्ती गर्दै आयो ।
सुबेदार – यसलाई लगेर हाल गोर्खेलौरीमा । बाउको ब्या देख्छ ।
धनबिरे – छो त !
सुबेदार घोडाबाट झर्यो । धनबिरेको तिघ्रामा कोर्रा हानेर भन्यो – पुग्यो कि अरु चाहियो ।
धनबिरेले बाँसको ढुङ्ग्रोमा भएको सबै रक्सी एक सासमा तन्काएर भन्यो – तीनपान्या ! खान्या हो ?
सुबेदारले फेरि कोर्रा हान्न उज्याएको मात्र के थियो धनबिरेले कोर्रा खोसेर हुर्याइदियो । धनबिरे घोडा चढेर भाग्यो ।
यो घटनाको खबर जङ्ग बहादुरकहाँ पुग्यो । चारजना कप्तान तेजिला घोडा चढेर धनबिरेलाई खोज्न निस्के ।
दश बजे ।
धनबिरेलाई बाँधेर ल्याए । जाहेरी भयो ।
जङ्ग बहादुर – सुबदारको घोडा चढेर भाग्न्या मान्छ्या चानचुन्या हैन । त्यसलाई हाम्रा हजुरमा हाजिर गरा !
धनबिरेलाई हाजिर गराए । धनबिरे के देख्छ भने महाराज तमाखु तानिरहेछन् । एकजना युवतीले नली र अर्कीले हुक्का समातेकी । महाराजको टेबुलमा एउटा कलात्मक बोतल । तीन थान गिलास । अघि कोर्रा हान्ने सुबेदारलाई बाँधेर एउटा कुनामा लडाएका । दुई कुनामा भुङ्ग्रो राखिएको । बैठक न्यानो ।
महाराज – को होस ?
धनबिरे – तेरो बाउ !
महाराज ( एक गिलास स्वाट्ट पार्दै ) – क्या भन्छ यो ?
धनबिरे – कति पान्या हो ?
महाराज – यसको पान्या हुँदैन । खान्या हो ?
धनबिरे ( मनमनै ) – मात्यापछि खुसी हुन्या बानी ।
धनबिरेले एक गिलास तानेर भन्यो – काँबाट पाइस ?
बढी बोलेको सुनेर एकजना कर्नेल सङ्गीन सोझ्याउँदै आयो ।
महाराज – यसलाइ मैले गोद्न्या हो ।
धनबिरे – गद्दी पाया रद्दी भया । छो त मात्र !
महाराज उठे ।
धनबिरे – हतकडी फुकाल्दे ।
महाराजले हतकडी फुकालिदिए । उनले धनबिरेको गर्दन समातेर पछार्न खोजे ।
धनबिरे – हात्ती समात्न्या ज्यान हो ।
जङ्ग बहादुरले यसो धनबिरेलाई हेरे ।
धनबिरे – भतुवा राजा भया तीनमाना खुदो खाया ।
जङ्ग बहादुर – मैले चिन्या । धन्या होस् !
धने – राजा भया आँखा फुट्या ! यो तेरै थ्यागो हो ।
माथबर्या थापा काजी भयापछि तैंले भन्या ।
तेरो जुवा खेल्न्या बानीले मलाई पनि डुबाइस् । फेरि हामी हात्ती समात्न गयौं । तेरो नोकरी थामियापछि हाम्रो साथ छुट्यो । कोतमा भारदार सोतर पारेर राजा भइस । म ढाक्र्याको ढ्याक्र्या । जहानलाई हैजाले खायो । छोरो राजा राजेन्द्र्याको फौजमा गयाको अलौमा मर्यो ।
जङ्ग बहादुर – मेरो दु:खको साथी होस् । बिर्ता दिन्छु । अर्की मुखेनी ल्याएर सुखले बस् । बेला बखत यता आउन्या गर् ।
धने – देशको धन काफल हो तैंले बाँड्न्या ?
हामी सङ्गै खेल्याका साथी । उसबेला काँध मिल्थ्या । अब म तेरो बराबर हुन्या हैन ।
पुराना बूढा भन्थ्या- काँध नमिल्न्या साथी नहुन्या गाँज नमिल्न्या धान नहुन्या ।
तेरा दयाले खानु के खानु । भेट्न खबर पठाउन थाल्याको सात वर्ष भया । एक दिन बोलायाको दश घडी पर्ख्यार त्यसै गयाको हुँ ।
जङ्ग बहादुर – राजकाजमा यस्तै हो ।
धने – नकरा! तेरा राजकाज सुन्याको हुँ । देख्याको र सुन्याको उस्तै ! सेनामेना लिएर हिड्न्या । चाकरको कुरा सुन्न्या । विवेक नराख्या पनि हुन्या । अहंकार गर्न्या । गुड्डी हाँक्न्या । यही हो राजकाज ?
यौटा काम राम्रो गरिस् जङ्ग्या तैंले । नयाँ मुलुक फर्काइस् ।
नाप नक्सा साँध पक्का भन्छन् ।
जग्गा पक्का गरेर मात्र फिरङ्गीसित सन्धि गरिस् । नत्र थाङ्नामा सुत्थिस् ।
जङ्ग बहादुर – रैती क्या भन्छन् त धन्या ?
धने – भुइँका मान्छ्या तला उक्ल्या औकात बिर्स्या ठाडै मुत्या ।
रैती क्या भन्छन् !
लाज मान् जङ्गे लाज ! मान्छ्यासित लाज नमान्या पनि धर्ती , आकाश , वायु , वन र हिमालसङ्ग लाज मान् ! रैतीको मुख छ र बोल्न्या ?
जङ्ग बहादुर – त्यसो हो भन्या रैती मलाई वैरी मान्छन् ?
धने – रैती क्याको वैरी । जङ्ग्याका रैती न मित्रु न वैरी !
वैरी त तेरा काख बस्दा छन् । चिन्न सक्न्या खुबी चाहिन्छ जङ्ग्या !
तैं भन्थिस त – खस्रो रोटो गाला गोलो चिल्लो रोटो पखाला खोलो ।
जङ्ग बहादुरले धनेलाई हेरिरहे । मनमनै सोचे – कोही त छ मेरो हितैसी ।