भरतपुरमा तार भूमिगतको काम ७० प्रतिशत सम्पन्न

चितवन। भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न भएको छ। नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले समग्रमा ७० प्रतिशत काम सम्पन्न भएको जनाएको हो।

Advertisement 1

आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार अहिले केवल (तार) बिच्छ्याउने कार्य र घरघरमा जडान कार्य (सर्भिस कनेक्सन)को काम बाँकी रहेको छ। अहिले शहीदचोक र पुलचोक क्षेत्रमा काम भइरहेको उनले जानकारी दिए। निर्माण कार्य तिव्र पारिएकाले सन् २०२५ को जुलाईसम्म काम सक्ने गरी कार्ययोजना निर्माण गरेर काम गरिएको छ। जमिनको सतहभन्दा माथि देखिने काम र जमिनमा नदेखिने गरी दुई चरणमा विभाजन गरेर काम गरिएको छ।

डिभाइस र फाउण्डेसन निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको उनले बताए। अन्य कामलाई तिव्र गतिमा लैजान निर्माण कम्पनीलाई आयोजनाले आग्रह गरेको छ। ‘निर्माण कम्पनीले समय थप गर्न गरेको निवेदनलाई मध्यनजर गर्दै दश महिनाको समय थप गरिएको छ,’ उनले भने। सन् २०२२ को अक्टोबरमा दुई वर्षमा काम सम्पन्न गर्ने गरी भारतीय ठेकेदार कम्पनी टाटा प्रोजेक्ट लिमिटेडले ठेक्का सकारेको थियो।

Advertisement 2

पछिल्लो सम्झौताअनुसार महानगरपालिकाभित्र चनौली लाइन जडानका लागि भरतपुर महानगरको मुख्य शहरी क्षेत्रमा भूमिगत मार्फत गर्दै लगिने उनले जानकारी दिए। ‘बसेनीदेखि भरतपुर महानगरपालिका अगाडिसम्म, आँपटारीदेखि पोखरा बसपार्कसम्मको सडक र केन्द्रीय बस ट्रमिनलदेखि गोन्द्राङ्सम्मको सडक थपिएको छ,’ उनले भने।

केन्द्रीय बस ट्रमिनलदेखि गोन्द्राङ्सम्मको सडकमा पहिला ३३ केभिए लाइन मात्रै भूमिगत गर्ने भनिए पनि अहिले थप गरी ११ केभिए र ४०० भोल्टको लाइनलाई भूमिगत गरिने उनले बताए। उनका अनुसार भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्नका लागि १ अर्ब ४० करोड रुपैयाँ लागत लाग्ने छ।

Advertisement 3

सुरुवाती समयमा १ अर्ब ३० करोड बजेट भरतपुरलाई विनियोजन गरिएको थियो। एशियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो।

प्रकाशित :२०८१ मंसिर २०, बिहीबार १५:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry