कुलमानसँग विद्युत् नियमन आयोगले माग्यो स्पष्टीकरण
काठमाडौं। विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणसँग स्पष्टीकरण माग गरेको छ। प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले आयोगको सुझाव विपरित उद्योगीहरुको विद्युत् लाइन काटेपछि आयोगले स्पष्टीकरण माग गरेको हो।
Advertisement 1
खासगरी यसअघि आयोगले विद्युत् लाइन नकाटीकनै उद्योगीबाट बक्यौता उठाउनू भनेर दिएको सुझाव कार्यान्वयका सम्बन्धमा जानकारी माग गरिएको आयोगका अध्यक्ष रामप्रसाद धितालले जानकारी दिए। ‘पहिला नै आयोगले पठाएको पत्रको कार्यान्वयनको अवस्था के कस्तो भनेर जानकारी माग गरिएको हो,’ अध्यक्ष धितालले भने।
यसअघि डेडिकेटेड तथा ट्रंक लाइन विद्युत्को बक्यौता वर्षौंसम्म नउठेपछि यस विषयमा विवाद सिर्जना भएको छ। विवाद लामो समयसम्म नसल्टिएपछि यस विषयमा सरकारले पनि चासो राखेको छ। विद्युत् लाइन काटिएका उद्योगीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र उद्योग मन्त्री दामोदर भण्डारीलाई ज्ञापन पत्र बुझाउँदै समस्याको समाधान गरिदिन माग गरेका थिए।
Advertisement 2
उक्त ज्ञापन पत्र ऊर्जा मन्त्रालय हुँदै विद्युत् नियमन आयोगमा पुगेपछि आयोगले सोमबार किन लाइन काटिएको हो? भन्ने विवरण प्राधिकरणसँग मागेको हो।
आयोग प्रवक्ता मोनदेवी श्रेष्ठले ऊर्जा मन्त्रालयबाट आएको पत्रका आधारमा प्राधिकरणसँग विवरण माग गरिएको जानकारी दिइन्। ‘यसअघि हामीले पनि प्राधिकरणले लाइन नकाटीकनै बक्यौता उठाउनुपर्ने भनेर पत्र पठाएका थियौं,’ प्रवक्ता श्रेष्ठले भनिन्, ‘अहिले मन्त्रालयबाट पत्र आएपछि यसअघि हामीले पठाएको पत्र कार्यान्वयनको सम्बन्धमा समेत केही विवरण माग गरेका हौं।’