को हुन् मुख्यसचिव नियुक्त भएका अर्याल?
काठमाडौं। नेपाल सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।
Advertisement 1
आउँदो आइतबार (भदौ १६ गते)देखि लागू हुने गरी उनलाई मुख्यसचिवमा नियुक्त गरिएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। मुख्यसचिव अर्यालले ३ वर्ष उक्त पदमा रहेर नेपालको प्रशासन हाँक्ने छन्।
स्याङ्जाको किसान परिवारमा जन्मेका अर्याल निजामति सेवामा अब्बल प्रशासकका रुपमा परिचित छन्। विद्यालय शिक्षा स्याङ्जाबाटै लिएका उनले पोखराको पृथ्वीनारायाण क्याम्पस (पीएन) क्याम्पसबाट कानुन विषय लिएर पढेका हुन्। २०४६ सालमा नायब सुब्बाका रुपमा सरकारी सेवा प्रवेश गरेका उनी २०५१ सालमा शखा अधिकृत र २०५८ सालमा उपसचिव बने।
Advertisement 2
२०६७ सालमा सहसचिव बनेका उनीसँग काठमाडौं, मकवानपुर र तनहुँको प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरेको अनुभव छ। साथै गृह मन्त्रालयमा कर्मचारी प्रशासन महाशाखा प्रमुख र कोलकातास्थित नेपाली महावाणिज्य दूत भएर काम गरेको अनुभव पनि उनीसँग छ।
२०७६ मा सचिव बनेका उनी गृहमन्त्री रवि लामिछानेको कार्यकालमा गृह मन्त्रालयमा आएका हुन्। गृह मन्त्रालयबाटै केपी ओली नेतृत्वको सरकारले उनलाई आइतबारदेखि लागू हुनेगरी बिहीबार मुख्यसचिवमा नियुक्त गरेको हो।