क्याटलग सपिङ्ग : उत्पादक वा अधिकृत बिक्रेताद्वारा निर्धारित दरमा खरिद गर्ने सरल विधि
१.परिचय : सार्वजनिक खरिद ऐन तथा नियमावलीमा भएका प्रावधानहरुलाई अझै वढी प्रष्ट गर्नुपर्ने आवश्यकता भएकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ को उपदफा (१) खण्ड (क) को देहाय (८) र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ख मा उत्पादक वा अधिकृत बिक्रेताद्वारा निर्धारित दरमा (क्याटलग सपिङ्ग) खरिद गर्र्नेे विधि कायम गरेको छ । यसलाई स्पष्ट पार्दै ऐनमा नै यसको व्याख्या गरदिएको छ जसअनुसार उत्पादक वा अधिकृत बिक्रेताद्वारा निर्धारित दरमा (क्याटलग सपिङ्ग) खरिद गर्र्नेे विधि भन्नाले कुनै मालसामान निर्माण गर्ने कम्पनीले उत्पादनको विशेषता, गुणस्तर र सुविधाका आधारमा तय गरेको बिक्रि मुल्य सम्बन्धित कम्पनीको वेभसाइट वा कागजात (ब्रोसर) मा सार्वजनिक गरेपछि समानस्तरको मालसामान उत्पादन गर्ने कम्पनीले तोकेको मुल्यमा प्रतिस्पर्धा गराई गरीने खरिद बिधी सम्झनुपर्ने भनी उल्लेख गरेको छ ।
यसका लागी सार्वजनिक खरिद अनुगमन कार्यालयबाट उत्पादक वा अधिकृत बिक्रेताद्वारा निर्धारित दरमा (क्याटलग सपिङ्ग) खरिद गर्र्नेे कार्यविधि तयार गरी लागु गरसिकेको अवस्था रहेको छ । क्याटलग सपिङ्ग विधिवाट प्रकृतिका हेभी इक्विपमेन्ट, सवारी साधन, औजार, मेशिनरी, उपकरण, एक्सरे वा एमआरआई जस्ता स्वास्थ्य सेवाको लागि आवश्यक पर्ने उपचारजन्य यन्त्र वा यस्तै अन्य यान्त्रिक मालसामानहरु खरिद गर्न सकिने व्यवस्था छ ।
कार्यविधिमा उपरोक्त मालसामानहरुको सिमा पनि कायम गरेको छ जस्तो सवारी साधनको हकमा मूल्य अभिवृद्धि कर सहित बढीमा रु. ६०,०००००।–(अक्षरुपी साठी लाख) सम्म, हेभी इक्विपमेन्टको हकमा मुल्य अभिवृद्धि कर सहित बढीमा रु. ६०,०००००।–(अक्षरुपी साठी लाख) सम्म, एक्सरे वा एम आर आई जस्ता स्वास्थ्य सेवाको लागि आवश्यक पर्ने उपचारजन्य यन्त्र को हकमा मुल्य अभिवृद्धि कर सहित बढीमा रु. ४०,००,०००।– (चालिस लाख) सम्म, औजार, मेशिनरी, उपकरण, वा यस्तै अन्य यान्त्रिक मालसामानहरुको हकमा मुल्य अभिवृद्धि कर सहित बढीमा रु. २५,००,०००।– (पच्चिस लाख) सम्म मात्र यस विधिवाट खरिद गर्न सकिनेछ साथै एक आर्थिक वर्षमा एकै पटक वा पटक पटक गरी तोकिएको सीमाभन्दा बढी रकमको खरिद यस विधीबाट खरिद गर्न सकिने छैन ।
यस्तै गरी उत्पादक वा अधिकृत बिक्रेताद्वारा निर्धारित दरमा (क्याटलग सपिङ्ग) खरिद गर्ने कार्यविधिले मालसामानहरुको पभिाषासमेत राखेर यसलाई स्पष्ट पारेको छ सो अनुसार हेभिइक्युप्मेण्ट भन्नाले निमार्ण कार्य, कलकारखाना तथा अन्य प्रयोजनको लागी प्रयोग हुने ठूला प्रकृतिको इन्जिनियरिङ, यान्त्रिक उपकरणहरु वा अन्य यस्तै प्रकृतिका स्काभेटर, रोलर, बुलडोजर, ठूला खालका पावर सप्लाइ जस्ता सामानहरु भन्ने बुझ्नु पर्दछ यसैगरी औजार, मेशिनरी, उपकरण भन्नाले सार्वजनिक निकायहरुले आफ्नो कार्य सम्पादनको लागी प्रयोग गर्ने औजार यान्त्रिक सामानहरु वा यस्तै प्रकृतिका प्रिटिङ मेसिन, ठूला खालका जेनेरेटर, ल्याबमा प्रयोग हुने उपकरहरु, कृषि र वनमा प्रयोग हुने यान्त्रिक सामानहरु जस्ता सामानहरु भन्ने बुझ्नु पर्दछ । क्याटलग सपिङ्ग विधिवाट हुने खरिदमा सहभागिताको लागि कुनै मालसामान निर्माण गर्ने कम्पनी वा उत्पादक तथा मालसामान उत्पादक कम्पनी वा मालसामान निर्माण कम्पनीले तोकेको अधिकृत/आधिकारीक विक्रेता योग्य हुनसक्ने गरी व्यवस्था गरीएको छ ।
२. खरिद प्रक्रिया :
क. लागत अनुमान तयारी र स्वीकृति :
क्याटलग सपिङ्ग विधिवाट खरिद गर्न खोजिएको मालसामानको स्पेशिफिकेशन, योजना, नक्शा, डिजाइन वा अन्य आवश्यक विवरण तथा लागत अनुमान तयार गरी सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ५क र नियम १४ को अधिनमा रही स्वीकृत गराउनु पर्नेछ । स्पेसिफिकेशन र लागत अनुमान स्वीकृत भएपछि उत्पादक कम्पनी वा त्यसको अधिकृत/आधिकारिक विक्रेतावाट प्रस्ताव माग गर्ने प्रयोजनका लागि खरिद सम्बन्धी कागजात÷प्रस्ताव तयार गरी सार्वजनिक निकायको प्रमुखले स्वीकृत गर्नुपर्नेछ ।
ख. मौजुदा सूची तयार गर्ने :
मालसामान उत्पादन गर्ने कम्पनी वा त्यसको अधिकृत÷आधिकारीक विक्रेताहरुको सूची तयार गर्ने प्रयोजनको लागि सार्वजनिक निकायले सार्वजनिक ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम मौजुदा सूूची मा समावेश गर्ने वा दैनिक पत्रिकामा सार्वजनिक सूचना प्रकाशन गरी वा आफ्नो वेभसाईट (Website) मा सूचना प्रकाशन गरी वा सूचना पाटीमा सूचना टाँस गरी वा अन्य उपयुक्त माध्यमवाट विवरण संकलन गरी सूची तयार गर्न सकिनेछ, यसरी तयार भएको सूची सार्वजनिक निकाय प्रमुखले स्वीकृत गर्नुपर्नेछ ।
ग. प्रस्ताव माग गर्ने विधि :
सार्वजनिक निकायले क्याटलग सपिङ्ग विधिवाट खरिद गर्दा मौजुदा सुचीमा सूचिकृत सवै प्रतिस्पर्धी कम्पनी वा अधिकृत/आधिकारीक विक्रेताहरुवाट सार्वजनिक निकायले शिलवन्दी प्रस्ताव माग गर्नु पर्नेछ, सो का लागी सुचीकृत भएका सम्वन्धित उत्पादक कम्पनी वा अधिकृत विक्रेतासँग प्रस्ताव माग गर्दा कम्तीमा सात दिन देखि पन्ध्र दिनसम्मको समयावधि दिई राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरी वा लिखित सूचना दिई माग गर्न सकिनेछ, लिखित सूचना दिई प्रस्ताव माग गरेको अवस्थामा प्रस्तावदाताले लिखित सूचना प्राप्त गरेको भर्पाइ कार्यालयमा सुरक्षित राख्नुपर्नेछ ।
घ. प्रस्ताव दर्ता गर्ने विधी :
मालसामान उत्पादक कम्पनी वा त्यसको अधिकृत /आधिकारीक विक्रेताले प्रस्ताव दर्ता गर्ने लिखित सूचना प्राप्त गरेपछि वा राष्ट्रिय दैनिकमा सूचना आह्वान भएपछि यस्तो सूचनामा तोकिएको म्याद भित्र त्यस्तो मालसामान विक्रि गर्न चाहने उत्पादक कम्पनी वा त्यसको अधिकृत विक्रेताले उत्पादनको आधिकारिक स्पेसिफिकेशन, गुणस्तर,मूल्य र सुविधा सहितको विवरण (क्याटलग वा व्रोसर) संलग्न राखी त्यस्तो सार्वजनिक निकायमा सिलवन्दी सहितको प्रस्ताव दर्ता गराउनु पर्नेछ । यसरी प्राप्त भएको प्रस्ताव सार्वजनिक निकायले छुट्टै रजिष्टर खडा गरी मिति र समय समेत जनाई दर्ता गर्नु पर्नेछ एबम् दर्ता भएको प्रस्तावको भर्पाइ सम्वन्धित प्रस्तावदाता/निवेदकलाई पनि दिनु पर्नेछ ।
ङ. प्रस्ताव खोल्ने विधि :
प्रस्ताव खोल्दा प्राप्त प्रस्तावहरु दर्ता गर्ने समय समाप्त भए लगत्तै सोही दिन प्रस्तावमा उल्लेख भए अनुसार खोल्नुपर्नेछ , प्रस्ताव खोल्ने समयमा मालसामान उत्पादक कम्पनी वा त्यसको अधिकृत/धिकारीक बिक्रेता स्वयंले वा निजको आधिकारिक प्रतिनिधिले भाग लिन सक्नेछ , प्रस्ताव खोलेको मुचुल्का समेत तयार गरी सहीछाप समेत गराई राख्नुपर्नेछ , प्रस्ताव खोल्दा उत्पादक कम्पनी वा त्यसको अधिकृत/आधिकारीक विक्रेता वा निजको आधिकारीक प्रतिनिधि उपस्थित नभएमा पनि प्रस्ताव खोल्न वाधा हुने छैन ।
च. आर्थिक प्रस्ताव माग गर्ने प्रयोजनका लागि सूची तथा खरिद सम्बन्धी कागजात तयार गर्ने :
कार्यालयमा दर्ता भएका उत्पादक कम्पनी वा त्यसको अधिकृत ÷आधिकारीक विक्रेताले पेश गरेको स्पेसिफिकेशन, गुणस्तर, मूल्य र सुविधा सहितको विवरण (क्याटलग वा व्रोसर) हेरी समान स्पेशिफिकेशन र गुणस्तर भएका उत्पादनहरुको उत्पादक कम्पनी वा त्यसको अधिकृत/आधिकारीक विक्रेताको मूल्याँकन गरी सूची तयार गर्नुपर्नेछ ,तयार गरिएको सूची स्वीकृतिको लागि कार्यालय प्रमुख समक्ष पेश गर्नुपर्नेछ । सूचीकृत भएका उत्पादक कम्पनी वा त्यसको अधिकृत ÷आधिकारीक विक्रेतासँग आर्थिक प्रस्ताव माग गर्नका लागि खरिद सम्बन्धी कागजात तयार गरी कार्यालय प्रमुखद्धारा स्वीकृत गराउनुपर्नेछ ।
ज. सिलबन्दी आर्थिक प्रस्ताव माग गर्ने :
आर्थिक प्रस्तावको कागजात तयार भएपछिसूचीमा रहेका उत्पादक वा अधिकृत/आधिकारीक विक्रेतावाट कम्तीमा तीन दिन र वढिमा पाँच दिनको समय अवधि दिई लिखित रुपमा सिलबन्दी आर्थिक प्रस्ताव माग गर्नु पर्नेछ । यस्तो प्रस्तावमा खरिद गरिने मालसामानको परिमाण खोली उत्पादक वा अधिकृत/आधिकारीक विक्रेतावाट तोकिएको मुल्य र सुविधा मध्ये मुल्यमा छुट वा सुविधामा थप हुन सक्ने विवरण माग गर्नु पर्नेछ ।
झ. आर्थिक प्रस्ताव दर्ता तथा खोल्ने विधि :
उत्पादक वा अधिकृत/आधिकारीक विक्रेताले सिलवन्दी आर्थिक प्रस्ताव सम्वन्धित कार्यालयमा निर्धारित समय भित्र दर्ता गराउनु पर्नेछ । आर्थिक प्रस्ताव देहाय अनुसार खोल्नुपर्नेछ :
दर्ता गर्ने समय समाप्त भए लगत्तै सोही दिन प्रस्तावमा उल्लेख भए अनुसार खोल्नुपर्नेछ ।
प्रस्ताव खोल्ने समयमा मालसामान उत्पादक कम्पनी वा त्यसको अधिकृत बिक्रेता स्वयंले वा निजको आधिकारिक प्रतिनिधिले भाग लिन सक्नेछ ।
प्रस्ताव खोलेको मुचुल्का समेत तयार गरी सहीछाप समेत गराई राख्नुपर्नेछ ।
प्रस्ताव खोल्दा उत्पादक कम्पनी वा त्यसको अधिकृत/आधिकारीक विक्रेता वा निजको आधिकारीक प्रतिनिधि उपस्थित नभएमा पनि प्रस्ताव खोल्न वाधा हुने छैन ।
ञ. आर्थिक प्रस्तावको मुल्याङ्कन :
उत्पादक वा अधिकृत÷आधिकारीक विक्रेतावाट आर्थिक प्रस्ताव प्राप्त भएपछि सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ख. को उपनियम (५) बमोजिम व्यवस्थाको अधिनमा रही सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ मा उल्लेखित प्रावधान अनुसार मूल्यमा पाइने छुट र सुविधामा हुने थप समेतको आधारमा मुल्याङ्कन गरी न्युनतम मुल्याङ्कित सारभुत रुपमा प्रभावग्राही प्रस्तावदाताको छनौट गर्नु पर्नेछ ।
ट. सम्झौताको सूचना दिनु पर्ने :
न्युनतम मुल्याङ्कित सारभूत प्रभावग्राही प्रस्तावदाता छनौट भईसकेपछी प्रस्ताव स्विकृत भएको तीन दिन भित्र सार्वजनिक निकायले सम्वन्धित प्रस्तावदातालाई खरिद सम्झौता गर्न आउन सुचना दिनु पर्नेछ । प्रस्तावदाताले सो सूचना पाएको मितिले तीन दिन भित्र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ११० बमोजिमको कार्य सम्पादन जमानत पेश गरी खरिद सम्झौता गर्नु पर्नेछ ।
३. ध्यान दिनुपर्ने महत्वपुर्ण बिषयहरु :
क. मालसामान उत्पादन गर्ने कम्पनी वा सो को अधिकृत विक्रेताले अवलम्वन गर्नु पर्ने प्रक्रिया :
मालसामान उत्पादक/निर्माण कम्पनी वा त्यसको अधिकृत/आधिकारीक विक्रेताले खरिद कार्यमा सहभागी हुन देहाय अनुसारको प्रकृया अवलम्वन गर्नुपर्नेछ :
मालसामान उत्पादन गर्ने कम्पनीले उत्पादनको विशेषता, गुणस्तर र सुविधाका आधारमा तय गरेको थोक विक्री मूल्य र सुविधा सम्वन्धित कम्पनीको वेभसाईट वा कागजात (ब्रोसर) मा अनिवार्य रुपमा सार्वजनिक गरिएको हुनुपर्नेछ,
सार्वजनिक निकायबाट सार्वजनिक सूचना वा लिखित सूचना प्राप्त गरेपछि सूचना वा खरिद कागजातमा तोकिएको समय अवधि भित्र निवेदन/प्रस्ताव दर्ता गराउनु पर्नेछ । यसरी प्रस्ताव प्राप्त भएपछि सोको आधारमा सुची तयार गरी आर्थिक प्रस्ताव माग गरेको अवस्थामा प्रस्तावमा तोकिएको समय अवधि भित्र आर्थिक प्रस्ताव पेश गर्नु पर्नेछ ।
सार्वजनिक निकायले आर्थिक प्रस्ताव मुल्याङ्कन पश्चात न्यूनतम मूल्याङ्कित सारभूतरुपमा प्रभावग्राही प्रस्तावदातालाई खरिद सम्झौता गर्न बोलाएको अवस्थामा तोकिएको समय अवधिभित्र सम्झौता गर्नु पर्नेछ ।
ख. प्रतिस्पर्धाको आधार :
सार्वजनिक निकायले प्रतिस्पर्धा प्रयोजनका लागि निम्न आधार लिनु पर्नेछ :–
कुनै मालसामान निर्माण वा उत्पादन गर्ने कम्पनीले उत्पादनको विशेषता, गुणस्तर र सुविधाका आधारमा तय गरेको विक्री मूल्य सम्बन्धित कम्पनीको वेभसाइट वा कागजात (ब्रोसर) मा सार्वजनिक गरेपछि समानस्तरको मालसामान उत्पादन गर्ने कम्पनीले तोकेको थोक मूल्यमा प्रतिस्पर्धा गराउनुपर्नेछ,
उत्पादक वा त्यसको अधिकृत/आधिकारीक विक्रेतावाट तोकिएको मूल्य र सुविधा मध्ये मूल्यमा छुट वा सुविधामा थप हुन सक्ने विवरण सहितको आर्थिक प्रस्ताव प्राप्त गरेपछि मूल्यमा पाइने छुट र सुविधामा हुने थप समेतको आधारमा सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ मा उल्लेख भए बमोजिम मूल्याङ्कन गरी न्यूनतम मूल्याङ्कित सारभूतरुपमा प्रभावग्राही प्रस्तावदाता छनोट गर्नुपर्नेछ ।
ग. लागु नहुने :
क्याटलग सपिङ्ग विधि प्रयोग गरी खरिद गर्न प्रस्ताव पेश गर्ने प्रयोजनको लागि वोलपत्र जमानत (Bid Security) राख्नु पर्ने छैन एबम् यस विधिवाट खरिद गर्ने कार्यविधि वहुबर्षिय सम्झौता गर्नु पर्ने खरिद कारवाहीमा प्रयोग गर्न सकिने छैन।
अन्तमा,
सार्वजनिक खरिद अनुगमन कार्यालयबाट उत्पादक वा अधिकृत बिक्रेताद्वारा निर्धारित दरमा (क्याटलग सपिङ्ग) खरिद गर्र्नेे कार्यविधि तयार गरी बि.सं. २०७४ सालम लागु गरी सकेको अवस्था रहेको छ । क्याटलग सपिङ्ग विधिवाट प्रकृतिका हेभी इक्विपमेन्ट, सवारी साधन, औजार, मेशिनरी, उपकरण, एक्सरे वा एमआरआई जस्ता स्वास्थ्य सेवाको लागि आवश्यक पर्ने उपचारजन्य यन्त्र वा यस्तै अन्य यान्त्रिक मालसामानहरु खरिद गर्न सकिने व्यवस्था छ । यो विधि तोकिएको समिाभित्र रही माथी उल्लेखित मालसामान खरिद गर्ने सरल र सबैभन्दा छोटो अवधिमा सम्पन्न गर्न सकिने खरिद विधि भएकाले केही ध्यान पुर्याउनु पर्ने बिषयहरु अर्थात पुर्वशर्तभित्र रही खरिद कार्य गर्न सकेमा उपयुक्त विधि बन्नेमा बिश्वस्त हुन सकिन्छ ।
प्रकाशित :२०८१ श्रावण २७, आईतवार १७:१४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%