कानुनी शासनका लागि न्यायपालिका संवेदनशीलः प्रधान न्यायाधीश श्रेष्ठ

काठमाडौं । प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले कानुनी शासनको परिपालनका लागि न्यायपालिका संवेदनशील र गम्भीर रहेको बताएका छन् । पूर्व न्यायाधीश फोरम नेपालको आठौँ साधारण सभा तथा ‘कानुनी शासनको वर्तमान अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रमलाई शनिबार काठमाडौँमा सम्बोधन गर्दै उनले न्यायपालिकाले आफ्नो संवैधानिक दायित्व, जिम्मेवारी इमानदार र प्रभावकारी ढङ्गले निर्वाह गर्दै आइरहेको बताए ।

Advertisement 1

उनले भने, ‘न्यायपालिकाले आफ्नो संवैधानिक दायित्व र जिम्मेवारी इमानदारी र प्रभावकारी ढङ्गले निर्वाह गर्दै आइरहेको छ । अन्य निकाय समेत त्यत्तिकै जिम्मेवार बन्नुपर्दछ । कानुनी शासनको परिपालन गर्ने संस्थाको विकास हुनुपर्दछ । अदालतले एउटै विषयमा पटक पटक आदेश गर्नुपर्ने अवस्था सुखद होइन ।’

प्रधान न्यायाधीश श्रेष्ठले कानुन बमोजिम गर्नुपर्ने दायित्व सार्वजनिक पदाधिकारी व्यक्तिगत रुपमा जिम्मेवार ढङ्गले लाग्नुपर्ने पद्धतिको खोजी गर्नुपर्ने दृष्टिकोण र विचारहरू समेत अभिव्यक्त हुने थालेको बताए । कानुनको शासन, आदर्श र मूल्य मान्यतालाई संविधानमा समाहित गरी सोही अनुरुपको संवैधानिक व्यवस्था भइसकेपछि त्यसको कार्यान्वयनबाट कोही पनि विमुख हुन नमिल्ने उनको भनाइ थियो ।

Advertisement 2

उनले भने, ‘कानुनको शासन, आदर्श र मूल्य मान्यतालाई संविधानमा समाहित गरी सोही अनुरुपको संवैधानिक व्यवस्था भइसकेपछि त्यसको कार्यान्वयनबाट कोही पनि विमुख हुन मिल्दैन । कानुनको शासन मूलतः अनुभूति गर्ने विषय हो । कानुनको शास्त्र स्थापित मापदण्ड वा सूचकले मापन गर्ने विषय हो । अहिले विधिको शासन मुलुकको कानुनी व्यवस्था तथा विभिन्न क्षेत्रको स्तर मापन गर्ने कुरामा अन्तर सम्बन्धित छ ।’

सन् २०२३ मा जारी भएको ‘रुल अफ ल इन्डेक्स’ले विश्वमा एक सय ४२ वटा मुलुकहरूमा विधिको साशन सम्बन्धी विभिन्न आठ वटा सूचकको आधारमा गरेको मूल्याङ्कनमा नेपाल विश्वको ७१ औँ र दक्षिण एसियाका ६ वटा मुलुकमध्ये पहिलो स्थानमा रहेको बताउँदै उनले न्यायपालिकाको स्तरोन्नति गर्न राज्यका सबै निकाय गम्भीर र क्रियाशील हुन आवश्यक रहेको औँल्याए ।

प्रकाशित :२०८१ जेष्ठ ५, शनिबार १३:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry