गाउँपालिका अध्यक्षविरुद्ध ९१ लाख भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको मर्चवारी गाउँपालिकाका तत्कालीन अध्यक्ष केशवनन्द बनियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार बनियाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको हो ।
Advertisement 1
दाहालका अनुसार २०७४ असार १४ गते स्थानीय निर्वाचनबाट गाउँपालिका अध्यक्षमा निर्वाचित बनियाले पदको दुरुपयोग गरेको देखिएको छ। बानियाँले २०७४ असार २१ गतेदेखि २०७८ फागुन ३० गतेसम्म पदको दुरुपयोग गरेको आरोप पत्रमा उल्लेख। सो अवधिमा पारिश्रमिक, बैठक भत्ता, ट्याक्टर र हार्वेस्टर बिक्री, कृषि आय, बीमा लगायतबाट प्राप्त आय ८४ लाख दश हजार ४५१ रुपियाँ देखिएको छ।
तर, निजको खर्च भने एक करोड ७५ लाख ९६ हजार ९९४ अर्थात् आयभन्दा व्यय रकम बढी देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० बमोजिम आरोपित बनियामाथि गैरकानुनी रूपमा ९१ लाख ८६ हजार ५४३ रुपियाँ आर्जन भएको पुष्टि हुन आएको आयोगले जनाएको छ।
Advertisement 2
त्यस्तै बनियाले सोही अवधिमा छोराहरूलाई अध्ययन खर्च, घर निर्माण खर्च, छोराको नाममा बिभिन्न जग्गा खरिद, बीमाबापत बुझाएको प्रिमियम रकम, छोराको नाममा मोटरसाइकल र ट्र्याक्टर खरिद खर्च, कर्जाबापत तिरेको साँवाब्याज रकम, राईस मिलको आयबापत तिरेको आयकर र उनी र उनको परिवारको नाममा बिभिन्न बैंकहरूमा रहेको खातामा भएको मौज्दात रकमसमेत गरी जम्मा १ करोड ७५ लाख ९६ हजार ९९४ रुपैया ३६ पैसा खर्च तथा लगानी गरेको अख्तियारले जनाएको छ ।