‘मनि ट्रान्सफर’मा हतियार देखाएर लुटपाट, चाडबाडलाई भयरहित बनाउने चितवन प्रहरीको छाँटकाँट
गत आइतबार दिउँसो चितवनको भरतपुर–४ मा एउटा मनि ट्रान्सफरमा डकैती भयो । फनपार्क नजिकै पूर्णशंकर गौतमको घरमा सञ्चालित नारायणी मनि ट्रान्सफरकी महिला कर्मचारीलाई धारिलो हतियार देखाई ज्यान मार्ने धम्की दिँदै डरत्रासमा पारेर दुईलाख चार हजार दुईसय ५० रुपैयाँ लुटपाट गरिएको थियो । घटनाबारे जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुवास भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले डाँकालाई भोलिपल्टै पक्राउ गर्न सफल भएको छ । सुवास अपराध अनुसन्धानमा उत्कृष्ट प्रहरी कर्मचारीको रुपमा संगठनबाट सम्मानित/पुरस्कृत हुँदै आएका निरीक्षक हुन् ।
Advertisement 1
उक्त मनि ट्रान्सफरमा हतियार देखाई लुटपाट गर्ने अटो चालक रहेछन् । पूर्वीनवलपरासी घर भई भरतपुर–१६ मा डेरी गरी बस्ने ४२ वर्षीय मिनमान सुनार । उनलाई भरतपुर–१०, चौबीसकोठीबाट बा.प्र. ०३–००१ ह १२६३ नं. को अटो र लुटेको केही रकमसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । सुनारले अपराध स्वीकारिसकेको प्रउ अधिकारीले जनाए । उनको डेराबाट लुटपाटमा प्रयोग गरिएको हतियार दाउ र थप नगद फेला परेको जनाउँदै डाँका चोरी कसुरमा उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । सुनारले डकैती गर्दा लगाएको कपडा टाढा खेतको घोलमा लुकाएको भेटिएको छ ।
Advertisement 2
चाडबाडको मौकामा चोरी, लुटपाटका घटना बढी नै हुन्छन् । होसियार रहन आम जनसमुदायलाई चितवन प्रहरीको आग्रह छ । यस्तै ठगी, जुवातास, मापसे, झैझगडा, सवारी दुर्घटना, आतिशबाजी, उपभोग्य वस्तुको कृत्रिम अभाव, कालोबजारी, अवैध वस्तुको ओसारपसार, सवारी साधनहरुमा चर्काे भाडा असुली, गुण्डागर्दी जस्ता आपराधिक क्रियाकलाप पनि यो बेला ज्यादै हुने गरेको विगतको तथ्यांकलाई मध्यनजर गर्दै यस्ता अवाञ्छित घटना रोकथाम तथा नियन्त्रणका लागि चाडपर्व विशेष सुरक्षा योजना बनाएर जिल्लामा व्यापक प्रहरी परिचालन गरिएको एसपी अधिकारीले बताएका छन् ।
नेपालीहरुको महान चाडका साथै चुनाव पनि आउँदैछ । यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालय चितवनद्वारा हिजो आयोजित पत्रकार भेटघाट कार्यक्रममा एसपी अधिकारीले भने, ‘कसरी हुन्छ चाडबाड र निर्वाचनलाई भयरहित बनाउन सकारात्मक सूचना सम्पे्रषणका लागि आमन्त्रण गरेका हौं ।’
Advertisement 3
अपराध रोकथाम तथा नियन्त्रणका लागि जिल्लाभर सातसय प्रहरी परिचालन हुने एसपी अधिकारीले बताए । प्रहरीले सञ्चारमाध्यम र सामाजिक सञ्जालका साथै घरदैलो नै गरेर सचेतनामूलक प्रचारप्रसार अभियान चलाउने, ठाउँ–ठाउँमा यात्रु सहायता कक्ष स्थापना गर्ने, क्वीक रेस्पोन्स टिम, अस्पताल रेस्क्यु टिम, मोवाईलगस्ती, पैदल गस्ती, पिकेट ड्युटी, सादा पोशाकमा प्रहरी, लामो दूरीका सवारीसाधनमा बर्दी र हतियार सहितका प्रहरी परिचालन गर्ने, सुनचाँदीको कारोबार हुने स्थान र बैंक तथा वित्तीय संस्थाहरुमा कडा निगरानी राख्ने, बजार अनुगमन र नाकाहरुमा पनि चेकजाँचलाई तीव्रता दिने, यसक्रममा तालिमप्राप्त कुकुर समेत परिचालन गरिने एसपी अधिकारीले बताएका छन् ।
हालैमात्र मानवबेचविखका लागि ओसारपसार गरिरहेको अवस्थामा एकजना पुरुषलाई पक्राउ गर्न पनि चितवन प्रहरी सफल भएको छ । ‘भारतको बाटो हुँदै कुवेत पठाइदिन्छु, कसैलाई नभन्नू’ भनी एउटी युवतीलाई ललाइफकाई लैजाँदै गर्दा बर्दिया घर भई काठमाडौं बस्ने ४८ वर्षीय खेमप्रसाद भट्टराईलाई भदौ २७ गते नै नारायणगढ पुल्चोकबाट नियन्त्रणमा लिएर मानव बेचबिखन तथा ओसारपसार कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, चितवन प्रहरीले हराएका मोबाइलहरु पनि फेला पारी मंगलबार सम्बिन्धत धनीलाई बुझाएको छ । १४ हजारदेखि एकलाख भन्दा बढी मूल्यका आईफोन, सामसुङ, रेडमी, ओप्पो, भीभो, पोको लगायतका २६ थान मोबाइल प्रहरीले विभिन्न मितिमा, विभिन्न जिल्लामा चलाइरहेको अवस्थामा फेला पारेर सम्बन्धित धनीलाई बुझाइदिएको हो ।
पत्रकार भेटघाटका अवसरमा एसपी अधिकारीले जिल्लामा नयाँ आएका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितलाई पत्रकारहरुसँग चिनापर्ची पनि गराइदिए, जो जिल्ला प्रहरी कार्यालय चितवनको अहिलेका प्रवक्ता÷सूचना अधिकारीसमेत हुन् ।
– अजय गोर्खाली