करारका कर्मचारीलाई खुसीको खबर :- सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने प्रक्रिया सुरु
देशैभरका करार सेवामा कार्यरत कर्मचारीका लागि खुसीको खबर छ । अब छिट्टै यो सेवाका कार्यरत कर्मचारीहरु सामाजिक सुरक्षा कोषमा आवद्ध हुने भएका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करार सेवामा कार्यरत कर्मचारीहरूको विवरण पठाउन सबै जिल्ला समन्वय समिति र स्थानीय तहलाई पत्राचार गरेको छ ।
यो प्रक्रिया शुरु भएसँगै विभिन्न कार्यालयमा कार्यरत अस्थायी, ज्यालादारी एवं करारमा कार्यरत कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने बाटो खुलेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्धारा गठित कार्यदलको निर्णयअनुसार विवरण उपलब्ध गराउन पत्राचार भइआएकोले विवरण माग गरेको मन्त्रालयले जनाएको छ ।
कार्यदलको सोही निर्णय अनुरुप सरकारले सरकारी निकायमा करार सेवामा कार्यरत कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने प्रक्रिया अघि बढाएको छ ।
सोही प्रायोजनार्थ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकभरमा नै तीन वटै तहमा सरकारी निकायमा करार सेवामा कार्यरत कर्मचारीको विवरण पठाउन ७७ वटै जिल्ला समन्वय समिति र ७५३ वटै स्थानीय तहलाई परिपत्र गरिएको हो ।
Advertisement 1
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुष ९ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सार्वजनिक निकायअन्तर्गत विभिन्न कार्यालयमा कार्यरत अस्थायी, ज्यालादारी एवं करारमा कार्यरत कर्मचारीको विवरण पठाउन परिपत्र गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार जिल्ला समन्वय समिति र स्थानीय तहलाई परिपत्र गरेको जनाइएको छ ।
यस आर्थिक बर्षको बजेट बक्तव्यको बुँदा नम्बर २८६ मा सार्वजनिक निकायअन्तर्गत विभिन्न कार्यालयमा कार्यरत अस्थायी, ज्यालादारी एवम् करारमा कार्यरत कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने उल्लेख छ । अहिले झण्डै ३२ हजार अस्थायी, करार तथा ज्यालादारी कर्मचारी कार्यरत रहेको आँकडा छ । तीमध्ये अधिकांश कर्मचारी ड्राइभर, कार्यालय सहयोगी तथा कुचिकार र केही कम्प्युटर अपरेटरको रुपमा कार्यरत छन् ।