ठेक्कापट्टामा छ भाइको सिण्डिकेट कहिलेसम्म ?
काठमाडौं । सत्ता ठेकेदारले चलाएको हो कि सत्ताले ठेकेदार नियुक्त गरेको हो किटान गर्न निकै कठिन छ । हिजो ओली प्रधानमन्त्री हुँदा पनि शक्ति र सत्तामा थिए दीपक भट्टजस्ता बिचौलियाहरु । भनिरहन परेन आज पनि उनीजस्तै ठेकेदारहरुकै रजगज छ ।
चाहे सडकको ठेक्का लिएर बर्षाै अलपत्र पार्ने प्रचण्डका घर मालिक हुन वा रसुवाका सांसद मोहन आचार्य हुन वा विक्रम पाण्डेजस्ता ठेकेदार हुन वा हुन रमेश शर्मा । अर्बाैका ठेक्का पट्टामा यी ६ भाईको सिण्डिकेट छ । प्रचण्डलाई घर भाडामा दिएवापत शारदाप्रसाद अधिकारीले सयौं सडकका ठेक्का हात पारे । उनको शैलुङ कस्ट्रक्सन पटक पटक कालोसूचीमा परेको कम्पनी तर शक्तिकेन्द्रको आड र भरोसा भए पछि जति नै पटक कालो सूचीमा परे पनि के लाग्छ र ? सडकका अधिकारीहरुका अनुसार शैलुङले डिभिजन सडक कार्यालय काठमाडौंबाट दशवटा भन्दा बढी सडकको ठेक्का हात पार्न सफल भएको थियो । ती सबै अलपत्र अवस्थामा छन् । सडक र भौतिक मन्त्रालयका कर्मचारीहरु कुन हदसम्म हत्तु छन भने पेस्की लैजाने,पछि सम्पर्कबिहीन भइदिने । नगरकोट सडक बनाउँछु भनेर ६ पटक सम्म म्याद थपे काम हुँदैन, कलंकी–नागढुंगा सडकको उही ताल छ । चाहे नुवाकोट जाने बाटोको हालत होस,ढोलाहिटी–सुनाकोठी चापागाउँ सडकको सबैतिर बेहाल छ । यस्का अलवा रसायनिक मलमा समेत उनको उस्तै खालको बदमासी गरिरहेका छन् । उनको एउटा मात्र कम्पनी होइन, शैलुङ कन्स्ट्रक्सन, शैलुङ इन्टरप्राइजेज, शैलुङ इन्भेष्टमेन्ट ग्रुप र शैलुङ पावर कम्पनी । उनै अधिकारीको कम्पनीले भनेको समयमा मल ल्याउन नसकेपछि धरौटी रकम ९ करोड ३१ लाख ३२ हजार रुपैयाँ रकम जफत गर्दै कालोसूचिमा राख्ने निर्णय गर्यो । यी र यस्तै कामचोर ठेकेदारकै दबदबा छ ।
ठूला ठेक्कामा होल्ड जमाउँदै राज्यको अर्बाै करमा तर मार्दै आएका तरमाराहरु सामू राज्यका निकायसमेत निरिह बन्दै आएको देखिन्छ । जस्तो सार्वजनिक खरिद नियमावलीलाई नै हेरौं । पछिल्लो तीन बर्षमा मात्र झण्डै १० औं पटक ठेकेदारहरुकै स्वार्थ अनुसार संशोधन भइसकेको छ । त्यस्तै ठेकेदार र सडक विभागका हाकिमहरुको दोस्ती डरलाग्दो देखिन्छ । बर्षाैसम्म ठेक्का लिएर काम सम्पन्न गर्न नसक्ने तिनै बदमासहरुलाई ठेक्का तोड्ने र स्पष्टीकरण सोधिरहेको सडक विभागले उनै प्रचण्डको घरपेटी ठेकेदारको नाममा कलंकी–नागढुंगा, चाबहिल–जोरपाटी, ढोलाहिटी–सुनाकोठी–चापागाउँ र नख्खु खोला–भैँसेपाटी–बुङमती सडकको ठेक्का म्याद थप्न चलखेल गरिरहेको समचाार सूत्रहरुले जनाएका छन् ।