यी ११ कर्मचारी,जो २४ बर्षदेखि कार्यालय आएनन्
विभागीय मन्त्रालयलाई कुनै जानकारी नदिई विगत २४ बर्षंदेखि हराएका कर्मचारी उपर कृषि तथा पशुपक्षी मन्त्रालयले एक्सन लिने भएको छ ।
Advertisement 1
मन्त्रालयले एक सूचना जारी गर्दै ५३ सालदेखि हराएका र मन्त्रालयको सम्पर्कमा नआएका कर्मचारीहरुलाई कारवाही गर्ने जनाएको हो ।
मन्त्रालयले २४ वर्षसम्म कार्यालयमा हाजिर नभएका कर्मचारीहरुको मन्त्रालयले पहिलोपटक खोजी गरेको हो । यसरी गायब हुने कर्मचारीहरुको संख्या एक दर्जन रहेको छ ।
मन्त्रालयको सूचना अनुसार, २०५३ कात्तिक १४ देखि अन्जन कुमार चालिसे सम्पर्क विहिन छन् । उनी सहायक पशु चिकित्सक को रुपमा कार्यरत थिए । यस्तै ०५५ असोज २५ मा बेलवारी पशु क्वारेन्टाइन चेकपोष्टका सहायक पशु चिकित्सक तुल्सीराम थापा पनि गायब छन् ।
Advertisement 2
यस्तै २०५६ पुस ७ गते सहायक पशु चिकित्सक तोयानाथ बरालको सरुवा गर्ने निर्णय भयो । सरुवा निर्णय भएपछि उनी सम्पर्क विहिन छन् ।
०५५ पुस १६ मा सरुवा निर्णयपछि कृषि विकास कार्यालय मुस्ताङका सहायक पशु चिकित्सक घ्या ल्याल्पो पुनेल पनि सम्पर्कमा नआएको मन्त्रालयले सूचनामा उल्लेख गरेको छ । यस्तै ०६९ जेठ ५ देखि दुई पशु चिकित्सक रिमादेवी श्रेष्ठ र बिनु श्रेष्ठ कार्यालयको सम्पर्कमा छैनन् ।
०६७ साल पुस ७ गतेदेखि बिदा बसेका राष्ट्रिय खोरेत तथा महामारी रोग प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक खडक सिंह विष्ट कार्यालय फर्किएका छैनन् । ०७४ जेठ ११ देखि अध्ययन बिदा बसेका झापा पशु सेवा कार्यालयका पशु विकास अधिकृत यादव शर्मा बजगाईं अहिलेसम्म नफर्किएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले ती कर्मचारीलाई ३० दिनभित्र मनासिव कारणसहित सफाई पेश गर्ने मौका दिएको छ ।