कात्तिक २५ देखि मंसिर ९ सम्म राष्ट्रिय जनगणना,जनगणनामा चार अर्ब खर्च

सरकारले कात्तिक २५ गतेदेखि राष्ट्रिय जनगणना सुरु गर्ने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले कात्तिक सुरु हुने जनगणना मङ्सिर ९ गतेसम्म चल्ने बताएको छ । प्रत्येक १० वर्षमा हुँदै आएको जनगणना यसअघि जेठ २५ देखि असार ८ गतेसम्ममा सक्ने लक्ष्य लिइएको थियो । तर, कोभिड–१९ महामारीका कारण पूर्वनिर्धारित कार्यक्रम स्थगन गरिएको थियो ।
राष्ट्रिय जनगणना २०७८ को १२ औं श्रृंखलाको लागि कुल चार अर्ब रुपैयाँ खर्च हुने महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए ।
Advertisement 1
जसमध्ये, सर्वसाधारण जनताको घरदैलो गर्ने जनगणकहरूको पारिश्रमिक र तलब सुविधामा मात्र एक अर्ब ८० करोड रुपैयाँ खर्च हुने महानिर्देशक श्रेष्ठले जानकारी दिए । जनगणना गर्न विभागले कुल ३९ हजार गणक परिचालन गर्दैछ । यस्तै, देशैभर आठ हजार ५०० जना सुपरीवेक्षक परिचालन गरिने गरिने समेत विभागले जनाएको छ । सुपरिवेक्षकको भर्ना नियुक्ति गत भाद्र २० गतेदेखि शुरू भइसकेको छ भने ३९ हजार जनगणकहरूलाई यही कात्तिक १३ देखि २६ गतेसम्म नियुक्ति दिइने तथ्याङ्क विभागले जनाएको छ ।