धानखेतमा चामल फलाउँछु !

धेरै अघिको कुरा हो । एउटा देशमा एउटा राजा थिए । राजा बडो प्रतापी छन् भन्ने आम धारणा थियो । एक दिनको कुरा हो । बिहान सबेरै राजसभाको बैठक बसिरहेको थियो । राजालाई अत्यन्तै गम्भीर देखेर सभाका अध्यक्षले बिन्ती गरे – मैले महाराज गम्भीर हुनुको कारण जान्दछु । राजा झनै गम्भीर भए । उनले मनमनै सोचे – यो फटाहाले त थाहा पाएछ ए ! यो मोरालाई केही न केही दिइरहनु पर्छ , नत्र बित्यास पार्छ । राजा आफ्नी नयाँ प्रेयसीलाई सम्झेर मानसिक छटपटीमा थिए । उनी कहिले बैठक सकिएला र रनिवासतिर जाउँला भनेर विह्वल । गम्भीर हुनुको कारण यही प्रेमरोग थियो ।

Advertisement 1

सभामुखले भने – महाराज विह्वल हुनुको कारण प्रजालाई कसरी सुखी र समृद्ध बनाम भन्ने नै हो । राजाले भने – कसरी जान्यौ ? सभामुख – महाराजको अनुहारमा मैले प्रजाहरु देखिरहेको छु ।राजा दङ्ग परे।राजाको बेला बखत परिहास गर्ने आदत थियो । उनको परिहासलाई “सिरियस” मान्दै उनका नजिकका मानिसहरु अत्यन्तै पुलकित हुन्थे । एक दिन राजाले बिचार गरे – यी मूर्खहरु जे भने पनि पत्याउछन । अब अलि कडा दिनु पर्‍यो । राजाले आफ्नो साप्ताहिक भाषणमा भने – मेरो पच्चीस पुस्ता अघिका पूर्वजको पालामा हाम्रो राज्यका सबै खेतमा धान होइन चामल फल्थ्यो । राजाले सोचे – अब मूर्खहरुको तमासा हेरेरे मजा आउने भयो ।‌त्यो भाषणको तीन दिनपछि देशका सबैभन्दा ठूला प्राज्ञको लामो लेख प्रकाशित भयो ।

उक्त लेखमा राजाका पुर्खा कस्ता थिए , कति प्रतापी , वीर र प्रजावत्सल थिए सारा वृतान्त थियो । लेखमा चामलको गुणस्तर , वासना उडेर जाने दूरी , त्यसबारेको तत्कालीन साहित्य आदि कुरा समेत उल्लेख थियो । प्राज्ञको प्रतिभाको चारै दिशामा मुरी मुरी प्रशंसा भयो ।‌राजाले सोचे – मैले त हावामा भनेको हो । साँच्चै पो हो कि क्या हो ? मेरा पुर्खाको पालामा चामलै फल्दो रहेछ कि क्या हो ? ‌राजाले यसो बिचार गरे – अब झनै कडा दिनुपर्‍यो । ‌

Advertisement 2

साप्ताहिक भाषणमा राजाले घोषणा गरे – अब हाम्रो मुलुकमा चामल फलाउने योजना छ । दुईवर्षभित्रमा धानखेतमा चामल फलाउँछु ।‌आश्चर्य ! वैज्ञानिकहरुले लेख लेखे – चामल फलाउन असम्भव छैन । हाम्रा राजाले बडो सोचबिचार गरेर गरेको युगान्तकारी घोषणा हो यो । जसले यो घोषणाको मर्म बुझ्न सक्दैनन , ती मूर्ख हुन् । कुनै “मूर्ख” निस्केन । सबै गदगद भए । ‌कुनै कुनै व्यक्तिले आपसमा मिल्ने साथी या पारिवारिक जमघटमा “चामल फलाउन त खै के सम्भव होला र” भन्ने रहेछन् । कसरी हो त्यसको “रिपोर्ट” राजाका कारिन्दाकहाँ पुगिहाल्थ्यो । ‌चामल फल्दैन भन्नेलाई राजाका कारिन्दाले बोलाएर भन्दथे – ल अब चामल फल्दैन भन्ने प्रमाण बता ! ‌”

चामल फल्दैन भन्नू नै प्रमाण होइन र ?” भनेर प्रतिवाद गर्ने दुई चार जनाको ठूलो फजिती भएपछि कसैले पनि प्रतिवाद गरेन ।‌राजाले सोचे – बडो सजिलो पो रहेछ ए गाँठे ! अब त साह्रै कडा दिनु पर्ने भयो ।‌राजाले साप्ताहिक भाषणमा भने – अब यो देशमा कसैले काम गर्नु पर्ने छैन । सारा काम स्वर्गका अप्सरा आएर गर्नेछन् । अब सुखका दिन आए आए । संसारभरिका मानिस हाम्रो सुख देखेर चकित हुने दिन आयो ! ‌तर अनौठा भयो ! मुलुकवासीले बसिबसी खान पाउनेबारे लामा लामा लेख लेखिए , व्याख्यान भए ।

Advertisement 3

लेखमा परीहरु कसरी आउनेछन् , कसरी फटाफट काम गर्नेछन् र कसरी भोगाकांक्षी प्रजाहरुका इच्छा समेत पूरा गर्नेछन् भन्ने विवरण उल्लेख भए । ती अत्यन्त प्रज्ञाले ओतप्रोत लेखहरुको मुक्त कण्ठले प्रशंसा गरिएका समीक्षात्मक लेखहरु झनै गहन थिए ।‌एकदिन राजा गम्भीर भए । राजाले सोचे – मैले परिहास ठानेर भनेका कुराहरु त वास्तवमा सत्य पो रहेछन् ।

राजा आफूले सही कुरा गरेर पनि सही हो भन्ने चाल पाउन नसक्ने आफ्नो मूर्खतामा एक्लै हाँसे । मैले त्यत्तिकै बिना प्रमाण भनेका कुराहरुको कति कति प्रमाण , आहा! ‌विद्वानहरु आफै जागरुक नहुने रहेछन् । राजाले सानो “हिन्ट्स्” दिनु पर्ने रहेछ । ‌‌अरु पछि ।

प्रकाशित :२०७७ कार्तिक १७, सोमबार १४:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry