आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

चितवन। नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले चितवनसहित छिमेकी जिल्लाहरुमा अस्पताल र उपचार केन्द्रको सञ्जाल विस्तार गर्दै लगेको छ। हाल मुख्य अस्पतालसहित २५ ठाउँबाट उपचार सेवा दिएको छ भने थप दुई ठाउँमा विस्तारको तयारी गरेको छ।

Advertisement 1

अस्पतालले चितवनसहित ८ जिल्लामा रहेका यी अस्पताल र उपचार केन्द्रबाहेक शिविर सञ्चालन गरेर थप उपचार सेवा दिँदै आएको छ। मुख्य अस्पताल भरतपुरको बाइपास सडकमा छ। भरतपुरको उकालोमा सिटी क्लिनिक, पर्साको ठोरी र कावासोतीमा सेकेन्डरी आँखा अस्पताल, नवलपरासीको मध्यविन्दु र सर्लाहीको ईश्वरपुरमा सर्जिकल सेन्टर रहेका छन्।

यसैगरी, चितवनको खैरहनी, माडी, चनौली, रत्ननगर, कुरिनटार, राप्ती र कालिका, धादिङको सल्यानटार र बेनिघाट, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट, बौद्धिकाली, भेडाबारी, अरुणखोला र देवचुलीमा आँखा उपचार केन्द्र रहेका छन्।

Advertisement 2

यसैगरी, महोत्तरीको रामगोपालपुर, सर्लाहीको कविलासी, बाराको सिम्रनगढ र तनहुँको आँबुखैरहनी र भानुमा उपचार केन्द्र रहेका छन्।

आगामी असोज महिनामा सर्लाहीको हरिपुर्वा र नवलपरासीको बुलिङटारमा केन्द्र सञ्चालन गर्ने तयारी गरिएको नेपाल नेत्रज्योति सङ्घका सभापति जयराम श्रेष्ठले बताए।

Advertisement 3

अस्पतालले गत आर्थिक वर्षमा अस्पताल र केन्द्रमार्फत २ लाख ९२ हजार ६७१ जनालाई बहिरङ्ग सेवा दिएको छ। शिविरका तर्फबाट ४२ हजार २७० जनालाई सेवा दिएको छ।
कुल लाभान्वित सङ्ख्या तीन लाख ३४ हजार ९४१ रहेको उनले जानकारी दिए। चितवनसहित छिमेकी जिल्लाका २६ लाख समुदायलाई सेवा दिन सक्ने क्षमता अस्पतालको छ।

गत आर्थिक वर्षमा ११ हजार ६९३ जनाको आँखाको शल्यक्रिया गरिएको छ। दाताहरुको सहयोगमा सेवा विस्तार गर्न सकिएको श्रेष्ठ बताउँछन्। स्थानीय तहले अस्पताल र सेवा केन्द्र सञ्चालनमा भवनसहित आर्थिक लगायतका सहयोग गर्दै आएका छन्। यसका अतिरिक्त नेपाल सरकारको सङ्घ र प्रदेशले पनि सहयोग गर्दै आएका छन्।

पाकिस्तान र भारतीय दूतावास, लायन्स क्लब, सेवा फाउन्डेसन, क्योरब्लाइन्डनेस, रुइट फाउन्डेसन, बैङ्क वित्तीय संस्थाहरुलगायत सामाजिक व्यक्तित्वहरुको सहयोगकै कारण अस्पतालले गुणस्तरसँगै सेवा विस्तार गर्न सकेको उनको भनाइ छ।

अस्पतालका वरिष्ठ अस्पताल प्रशासक दयाशङ्कर चौधरीले उच्चगुणस्तरीय, पहुँचयोग्य र समयमै आँखा उपचार सेवा प्रदान गरेर नेपालमा देखिएको दृष्टिविहीनतालाई कम गर्न आफूहरु लागिपरेको बताउनुभयो। अस्पतालमा ११ नेत्र विशेषज्ञसहित १६७ जना कर्मचारी कार्यरत छन्। अस्पतालले आँखा उपचारसँगै आँखा स्वास्थ्य शिक्षा, तालिम, अनुसन्धान तथा सामुदायिक पहुँच कार्यक्रममा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनी बताउँछन्।

प्रकाशित :२०८३ भाद्र २९, सोमबार १२:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry