जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल सेवा तयारी

जनकपुरधाम। जनकपुरधामदेखि भारतको अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनका विषयमा नेपाल र भारतबीच छलफल भएको छ।
Advertisement 1
नेपाल र भारतका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच यस विषयमा बिहीबार पहिलो चरणको छलफल भएको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए।
उनका अनुसार, भारतको जयनगरस्थित रेल्वे स्टेशनको विश्रामगृहमा भएको बैठकमा रेल सेवा सञ्चालन गर्न आवश्यक पूर्वतयारीका विषयमा छलफल भएको थियो।
Advertisement 2
उनीहरुबीच रेल लिङ्क, सिग्नलिङ प्रणाली, अध्यागमन, भन्सार चेकपोस्ट, यात्रु सुविधा र सुरक्षा व्यवस्थापनलगायत विषयमा छलफल भएको थियो।
नेपालतर्फ नेपाली सुरक्षा निकाय तथा भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु र रेल सुरक्षाको जिम्मेवारी लिने विषयमा उनीहरुबीच सैद्धान्तिक सहमति भएको छ।
Advertisement 3
बैठकमा नेपाल र भारतका रेल्वे सेवा, सुरक्षा, भन्सार तथा अध्यागमनका अधिकारीको सहभागिता रहेको प्रवन्ध सञ्चालक पराजुलीले जानकारी दिए। बैठकपछि दुवै देशका अधिकारीलेजयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षण गरेका थिए।
जनकपुरधाम र अयोध्याबीच रेल सेवा सञ्चालनमा आएपछि दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप प्रगाढ हुने तथा धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
नेपालकी विभूति सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको नगरी अयोध्यालाई प्रत्यक्ष रेल सेवामार्फत जोडिएपछि रामायण सर्किटअन्तर्गत तीर्थयात्री तथा धार्मिक पर्यटकको आवागमन थप सहज हुने विश्वास गरिएको छ।
रेल सेवा सञ्चालनपछि नेपाल र भारतका धार्मिक तथा सांस्कृतिक गन्तव्यबीचको पर्यटन प्रवद्र्धनसँगै स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउन समेत सहयोग पुग्नेछ। हाल नेपालको बिजलपुराबाट जनकपुरधाम हुँदै भारतको जयनगरसम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ।








