डिएसपी गंगा थापाको दंबग स्टाइल !

कुनै बेला जिल्ला प्रहरी कार्यालय लमजुङ प्रहरी कार्यालय भन्दापनि जुवाडेको अखडा जस्तो थियो । लमजुङका नामुद जुवाडे मात्रै हैनन छिमेकी जिल्लाबाट पनि जुवाडे निम्त्याउने काम हुन्थ्यो । प्रहरी प्रमुख कार्यालयमैं चौका दाउ हान्थे कुनै प्रहरी प्रमुख त आफूले जुवामा हारेपछि गस्तीमा रहेको मोबाइल वान् बोलाएर संगै खेलेका जुवाडे सहित रकम कब्जा गर्ने । जुवाडे मात्रै हैन मापसेमा समेत मुछिएर यस अघिको हाकिमहरुले प्रहरी कार्यालय दुर्गन्धित बनाए । २०४४ पौष देखि प्रहरी नायब उपरीक्षकको दरबन्दी रहेको लमजुङले खासै गतिलो डिएसपी पाएन भन्दापनि हुन्छ । राजकुमार रानादेखि माओबादी युद्ध र ०६२/ ६३ को जनआन्दोलन सकिए लगत्तै प्रमोदकुमार खरेल आए । त्यसपछिका हाकिम माधवप्रसाद जोशी हुन् वा पूर्णचन्द्र जोशी, या राजेन्द्र श्रेष्ठ देखि गणेशकुमार राईहरु परिवर्तन भए । २०५८ जेष्ठ तिर आएका धिरु बस्नेतले प्रहरी भित्र र जनतासंगको सम्बन्ध अनि प्रहरी कर्तव्य प्रति इमान्दारीता के देखाएका थिए प्रहरीका ठेकेदारहरुले पाँच महिना राम्रोसंग टिकिखान दिएनन् ।
यस पछि हाकिम बन्न आइपुगेका पिताम्बर अधिकारी पनि चोखा रहेनन् । ०६२/ ६३ को जनआन्दोलन पछि राज्यले नयाँ कोर्स लिएपनि जिल्ला प्रहरी कार्यालय लमजुङमा कुनै परिवर्तन हुन सकेन । प्रहरी प्रमुखको पगरी गुथेका हाकिमहरुले डिएसपीले कार्यालयलाई जुवाघर जस्तै बनाएको गुनासो स्थानीयहरुले पोख्दै आएका थिए । यतिसम्मकी नागरिक समाज उद्योग वाणिज्य संघका पदाधिकारी समेत त्यही झुम्मिन्थे । तिनताका मोफसलका केही संचारकर्मी पनि निरीह प्रायः थिए ।
बेथेतीको कुनैं हद थिएन । अपराध नियन्त्रण र शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरी प्रशासनको रंगीला शैली ०७४ मा पदमबहादुर विष्टसम्म आइपुग्दासम्म रह्यो ।
जिल्लामा धमिलिएको प्रहरीको छविलाई केही हदसम्म भएपनि ०७४ मा आएका यादव ढकालले सुधार्ने प्रयास गरे । शुरुआती दिन प्रजिअ र उनको सम्बन्ध ठीकै । बीचमा तालमेल नमिल्दा भने जस्तो प्रगति प्रहरीले गर्न सकेन । रवीन्द्रमान गुरुङको एकवर्ष कार्यकालमा न लौरी भाँचियो न सर्प नै मर्यो । जनसम्पर्कका कारण खासै विवादित पनि बन्नु परेन । लहलहैमा बित्यो । ०७७ जेष्ठ २१ गंगा बहादुर थापाको ईन्ट्री भयो । एक जुगमा एक समय आउँछ भनेझै प्रहरीको काम कर्तव्यमा काबिल थापाले प्रहरी प्रशासनलाई चुसतदुरुस्त राख्न कर्तव्यपरायण बनाउन आफ्नो तागतलाई आजका दिनसम्म निभ्न दिएका छैनन् ।
पद र अधिकार हुँदैमा केही हुँदो रैनछ । त्यसको सदुपयोगले संस्था, संगठनलाई कस्तो बनाउने भन्ने कुरो व्यक्तिमा निर्भर गर्दो रहेछ र त आज जिप्रका लमजुङ साँच्चैको प्रहरी कार्यालय जस्तो छ। थापाको आगमनसँगै मुद्दाका पुराना ढड्ढा पल्टिन थाले र त बीसौं वर्ष छुपारुस्तम ज्यान मुद्दाका अपराधि प्रहरी फन्दामा परे ।
२०३२ कार्तिक २५ गते स्याङ्जा जिल्लाको पुतलीबजार नपा -४ रामकोषमा जन्मेका थापाले स्थानीय रामकोष निमाविका कक्षा सातसम्म पढेपछि ज्योति अङ्ग्रेजी आवासिय माविबाट स्कूल लेबल सकाए । पृथ्वीनारायण बहुमुखी क्याम्पस पोखराबाट आइकम बिबिएस र पोलिटिकल साइन्समा मास्टर डिग्री गरेका थापा ०५२ मंसिरमा प्रहरी जवानमा भर्ती भए ।
खुला प्रतिस्पर्धा बाटै २०५५ मा प्रहरी सहायक निरीक्षक (असई) भएका थापाले २०६२ फागुनमा प्रहरी निरीक्षकमा नाम निकालेपछि २०७४ भदौमा डिएसपी अर्थात् प्रहरी नायव उपरीक्षक बने । प्रहरीमा हुनु पर्ने गुण छ । काम गर्नुपर्छ भन्ने मान्यता छ । र त उनको कार्यकालमा घटेका कुनै अपराधीले उन्मुक्ति पाउन पाएन । चर्चित दुराडाँडा हत्याकाण्ड होस् वा ७ वर्ष बालकको हत्या गरिएको दुधपोखरी काण्ड, या किन नहोस् मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको गाउँ गिलुङमा भाउजु हत्याकाण्डका कुनै अपराधीले उन्मुक्ति पाएनन् । अवैध काठ र जडीबुटी तस्करको जालो तोडियो । ठूलो परिणाममा छिपाएर राखिएको प्रतिबंधित जडिबुटी र चाँपका काठ बरामत गरियो । जिल्ला नाका काटेर प्रहरीलाई छलियो भरेर भागेका अपराधीहरू पनि चितवन, धादिङ र काठमाण्डौ कै कयौ ठाउँबाट पक्रन सफल भए ।
 संगैसगै जस्तो आएका थिए  प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा । रामेछाप, सोलुमा राम्रो छाप छोड्न सफल युबा जोसका प्रजिअ शर्मा र डिएसपी थापाको केमेस्ट्री यस्तो जम्यो की उहाँहरू कै सक्रियतामा नामुद जुवाडे लाखौं रकम सहित प्रकाउ परे । डिएसपी र सिडिओ को लवज मिल्दा थुप्रै सुधारात्मक कार्य गर्न सकिने उदाहरण यी दुई भाइ ले प्रस्तुत गरे।  आज सरुवा भएर मोरङ्ग पुगेपनि थापाको कामको सधैं प्रशंसा गर्छन् प्रजिअ कृष्ण शर्मा ।
पाँचबर्ष नेशनल पुलिस एकेडेमीमा प्रशिक्षकको रूपमा काम गरेको थापा त्यसै तीनतीनपटक मिसन पुगेका हैनन । पूर्वी टिमोर, सुडान र दक्षिण सुडान गरी झण्डै बयालीस महिना युएनसंग काम गरेका थापा दक्षिण सुडानमा त अपराध विश्लेषण अफिसर भएर काम गरे । इमान्दारिता पूर्वक काम गरेकाले त पन्ध्र पटक त नगदै पुरस्कारले सम्मान गरियो । जिल्लामा उनले गरेको कामको विशेष मूल्यांकन गरी प्रदेश सरकारले पचास हजार नगद पुरस्कार प्रदान गर्यो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ खुलेरै प्रशंसा गर्छन् गंगा एक कर्तव्यनिष्ठ, इमान्दार अफिसर हो भनेर ।
हुन् पनि थापाले सानो होस् वा ठूलो अपराधि कसैलाई  रंगका आधारमा काखापाखा गरेनन् ।
जुनदिन खाकीवर्दी र सपथ खाए त्यसलाई शिरोधार्य गरी तलमाथि हुन् दिएका छैनन् आजसम्म । सही नेतृत्व भयो भने मातहतका अरुपनि गतिलै हुँदा रहेछन् । थापाको कोर टीममा रहेका प्रहरी निरीक्षक जनक रेग्मी, छद्म भेषका सुराकी सहायक निरीक्षक रञ्जन क्षेत्री मुद्दाका जवान दीपक गिरी, लामो समय देखि डिएसपीको एडिसी बस्दै आएका होम गुरुङ डिएसपी को योजना का पिलरै मानिन्छन् ।
 थापाको नाम जस्तै गंगा छ मनपनि । मातहतका कर्मचारी उनलाई असल अभिभावक ठान्छन् । नायब निरीक्षक बाबुराम ढकाल हुन् या इलाका प्रहरी कार्यालय भोर्लेटारका इन्स्पेक्टर बोधराज रेग्मी या जिल्ला प्रशासन कार्यालय लमजुङका लेखाप्रमुख रमेश विश्वकर्मा नै किन नहुन गंगा जस्तो प्रहरी हाकिम विरलै हुने ठान्दछन् । आफै पनि काम कर्तव्य प्रति इमान्दार र लगनशील रमेश यत्तिको दक्ष प्रहरी अफिसर हुने हो भने धेरै कुरा सुधार्न सकिने बताउँछन् । भर्खरै जस्तो आउनु भएका प्रजिअ होम प्रसाद लुइँलेट (सह-सचिब) पाका, अनुभवले खारिएका डिएसपीका कारण आफूलाई काम गर्न सहज भएको बताउनुहुन्छ ।
हुनपनि आज को यो विषम परिस्थितिमा पनि डिएसपी थापाले कहिले विश्राम लिएनन् । बिहान ८ बजेदेखि ६-७ बजेसम्म कार्यालय, आफै अनुगमन, घटनास्थल सशरीर उपस्थित हुन्छन् । कार्यालयमा सुधार गरेका छन् । उनकै सक्रियतामा महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र स्थापना गरेका छन् । प्रतिक्षालय निर्माण गरिएको छ । र त गंगा साँच्चै गंगा जस्तै भएको नेकपा एमाले जिल्ला अध्यक्ष तथा गण्डकी प्रदेशका माननीय धनञ्जय दवाडीको निष्कर्ष छ । बेसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल हुन् वा राइनास नगरपालिकाका प्रमुख  सिंह बहादुर थापा, कोही थापाको कार्य कौशल प्रति खोट लगाउने ठाउँ देख्दैनन् ।

अञ्जानकुमार 

प्रकाशित :२०७८ जेष्ठ ३०, आईतवार ०६:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry