‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’

कर्णाली। कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकास र समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक भएको बताएका छन्।

Advertisement 1

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘प्रदेश स्थापना तथा सहिद दिवस २०८३ को मूल समारोह कार्यक्रम’ मा उनले सबैको साझा सोच, प्रयासले मात्र यस प्रदेशको समृद्धि सम्भव छ भने। उनले कर्णालीको उन्नतिका निम्ति प्रदेश सरकारले सुशासन, जवाफदेहिता र पारदर्शितामा ध्यान दिनुपर्ने सुझाए।

प्रमुख जोशीले भने, “भ्रष्टाचाररहित र शून्य सहनशीलताको प्रदेश निर्माणका लागि सरकारले आफ्नो सक्षमता देखाउनुपर्दछ। कर्णाली प्रदेशको विकास, समृद्धि र उन्नतिको लागि सबै दल जिम्मेवार हुनुपर्ने हुनुपर्छ।” मनसुनजन्य विपद् अँझै बाँकी भएको बताउँदै उनले सर्वपक्षीय संयन्त्र बनाएर जाजरकोटका पीडितहरूको घरदैलोमा पुगेर सरकार भएको अनुभूति दिलाउनुपर्नेमा जोड दिए।

Advertisement 2

प्रचुर संभावना भएको कर्णालीलाई गरिबीको आँखाबाट हेरिनु ठूलो कमजोरी भएको जिकिर गर्दै उनले दैलेखको ग्यासले मुलुककै समृद्धि र विकासमा सहयोग पुग्ने दीर्घकालीन महत्त्वको आयोजना २ वर्षदेखि काम बन्द हुनु दुःखद् विषय भएको टिप्पणी गरे।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले कर्णालीका जनताको त्याग, समर्पण र बलिदानबाट स्थापित प्रदेशको विकासले सिङ्गो मुलुकको रूपान्तरणमा सघाउने बताए। कर्णाली प्रदेश स्थापनामा आफ्नो जीवन उत्सर्ग गर्ने सहिदप्रति सम्मान अर्पण गर्दै उनले मुलुक सङघीयतामा जाँदै गर्दा कर्णालीले आफ्नै बलबर्कतमा आफ्नो पहिचान र अस्तित्व कायमा गरेको तर्क गरे।

Advertisement 3

सभामुख नन्दा गुरुङले नेपालको संविधान, सङ्घीयता, समावेशिताले कर्णालीजस्ता उत्पीडित एवं उपेक्षित भूगोल, क्षेत्रलाई न्याय गरेको बताइन्। मूलतः कर्णालीका जनताले जीवन बलिदान दिएर जन्माएको प्रदेशको विकास र यहाँका नागरिकको जीवनस्तर उन्नतिका लागि सङ्घ सरकारले विशेष भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।

निवर्तमान मुख्यमन्त्री यामलाल कँडेलले मुलुकको सबैभन्दा ठूलो भूगोल ओगटेको कर्णालीको विकास र समृद्धि विना मुलुकको समृद्धि असम्भव भएको बताए। यहाँको विकासका लागि प्रदेश सरकार, दल तथा सरोकारवाला सबै निकाय, क्षेत्र र सङ्घ सरकारको समन्वय तथा सहकार्य आवश्यक भएको बताउँदै उनले कर्णालीको स्रोत, साधनको भरपुर उपयोग गर्ने सामथ्र्य सरकारले राख्नुपर्ने औँल्याए।

समारोहमा प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले स्वागत गर्दै सहिदले देखाएको मार्गलाई पछ्याएर सरकार अगाडि बढ्ने बताए। आर्थिक मामिलालमन्त्री टेकराज पछाई, जलस्रोतमन्त्री कलबहादुर हमाल, प्रदेशसभा सदस्य, न्यायधीश, प्रदेश सरकारका प्रमुख सचिव, सुरक्षा निकायका प्रमुख, सहिद परिवार, कर्मचारी, पत्रकार सञ्चारकर्मी, कलाकर्मीहरूको सहभागिता रहेको थियो।

प्रकाशित :२०८३ भाद्र ४, बिहीबार १५:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry