विद्युतीय चुलो प्रवद्र्धनमा जोड

काठमाडौं। आजको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सरकारलाई विद्युतीय चुलो प्रवद्र्धनमा जोड दिनुपर्ने धारणा व्यक्त गरेका छन्।
सांसदले खाना पकाउने ग्यासको विकल्पमा विद्युतीय चुलो प्रवद्र्धनमा जोड दिन सरकारको ध्यानाकर्षण गराएका हन्। प्रतिनिधिसभा बैठकको आजको आकस्मिक समयमा बोल्दै सांसद श्रीराम न्यौपानेले विद्युतीय चुलो प्रवद्र्धनमा जोड दिनुपर्ने विचार व्यक्त गरे। “वातावरण प्रदूषण नियन्त्रण गर्न र ग्यास आयात प्रतिस्थापन गर्न विद्युतीय चुलोमा जानुपर्छ”, उनले भने।
बैठकमा उनले मनसुनजन्य विपद्का कारण सडकखण्ड अवरुद्ध हुँदा सर्वसाधारणको जनजीवन कष्टकर हुँदै गइरहेको भन्दै सरकारको ध्यानाकर्षणसमेत गराए।
बैठकमा सांसद धनबहादुर बुढाले डोल्पामा पहिरोका कारण सडक अवरुद्ध हुँदा खाद्यान्न तथा विकास निर्माणका सामग्री ढुवानीमा समस्या भएको बताए। उनले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनः स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरे।
सांसद प्रेमबहादुर बयकले सडक दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या बढिरहेको भन्दै सडक सुरक्षासम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिए। सांसद प्रकाश पाठकले झापामा जङ्गली हात्तीका कारण स्थानीयवासी समस्यामा परेको बताउँदै बस्तीमा प्रवेश गर्ने हात्तीको व्यवस्थापनका लागि प्रभावकारी उपाय अवलम्बन गर्न सरकारसँग माग गरे। उनले सरकारले परिणाममुखी काम गर्नुपर्नेमा जोड दिए।
सांसद पूर्णप्रसाद लिम्बूले सङ्खुवासभाको भोटखोला गाउँपालिकामा अविरल वर्षाका कारण विद्युत् सेवा प्रभावित भई स्थानीयवासी सौर्य ऊर्जामा निर्भर हुनुपरेको विषयमा सरकारको ध्यानाकर्षण गराए।
सभामुख डोलप्रसाद अर्यालले सदनमा उठेका विषयमा प्रधानमन्त्रीलाई जवाफ दिन सोमबारको बैठकमा रूलिङ गरेपछि आजदेखि विपक्षी सांसदहरूले बैठकको आरम्भमा स्थानबाट उठेर प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिबारे विरोध गर्ने क्रम अन्त्य गरेका छन्।
प्रकाशित :२०८३ भाद्र २, मंगलवार १३:४६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%







