श्रावण शुक्ल प्रतिपदाः गुँला पर्व सुरु

काठमाडौं। नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म १ महिना मनाउने गुँला पर्व आजदेखि सुरु भएको छ।
Advertisement 1
काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानमा यो पर्व विशेष रुपमा मनाइन्छ। मानव जीवनलाई तुल्याउन नियमलाई पालना गरेर धर्म, कर्मका गर्ने उद्देश्यले यो पर्व मनाइने गरिदैआएको छ। नेपाल संवत्अनुसार दशौँ महिनालाई गुँला भनिन्छ।
गुँको अर्थ गुण गर्ने, राम्रो एवं गुनिलो काम, अरुको उपकार गर्ने कामलाई जनाउँछ। उक्त पर्वका अवसरमा जुन नियमले जीवनलाई राम्रो गर्छ, त्यसलाई पालना गरिन्छ। उक्त पर्व र यस महिनाका सन्दर्भमा अग्लो खाटमा नसुत्ने, मनोरञ्जन नगर्ने र समयमै भोजन गरिन्छ भने क्षमताअनुसार भित्री मनदेखि दान गर्ने प्रचलन छ।
Advertisement 2
यस महिनाभर स्वयम्भू महाचैत्यमा विशेष मेला लाग्ने भएकाले आज बिहानैदेखि भक्तजन स्वयम्भूनाथ मन्दिर पुगेका छन्। राजधानी सहरका विभिन्न भागबाट गुँला बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजनको प्रत्येक वर्ष यो महिनामा घुइँचो हुन्छ। वर्षभर निधन भएका व्यक्तिको नामबाट श्रृङ्गभेदीअर्थात् भैँसीको सिङबाट बनेको बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजन धेरै हुन्छन्।
काठमाडौँ महानगरपालिका–७ चाबहिलका स्थानीय रमेश डङ्गोल धिमे बाजा, बाँसुरी, पछिमा (ढोलक जस्तै बाजा) बजाएर मन्दिर घुमी गुँला पर्व मनाउने गरिएको सुनाउनुहुन्छ। चाबहिलमा चन्द्रविनायक पर्खालभित्रबाट घुम्ने गरिन्छ।
Advertisement 3
झरीले रोगव्याधिलगायतको आक्रमण गर्ने भएकाले मन्दिर घुमी प्रार्थना गर्दा शरीर स्वस्थ हुने गरेको उनको अनुभव छ। यो पर्वका अवसरमा मनाइने केपु बाजाको पूजा आराधना गर्ने परम्परा भने पछिल्लो समय जनशक्ति अभावले लोप हुन थालेको छ।
चाबहिल क्षेत्रमा घरघरमा गरिने यो परम्परालाई हाल यहाँको नाट्येश्वरमा बाजा पूजा गरी निरन्तरता दिइएको छ। चाबहिलबाट पनि विगत वर्षदेखि नै महिनाभरमा १ दिन भए पनि फुर्सद मिलाएर विभिन्न थरी बाजा बजाउँदै स्वयम्भू घुम्न जाने गरिँदै आएको उनले सुनाए।








